जेठ १० देखि १५ दिने परीक्षण, सफा सडकमा पार्किङ निषेध
दमौली/जिल्ला सदरमुकाम दमौली बजारको अस्तव्यस्त ट्राफिक प्रणालीलाई सुधार्न र बजार क्षेत्रको सुरक्षालाई मजबुत बनाउन व्यास नगरपालिकाले कडा कदम चाल्ने भएको छ । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा जेठ ५ गते बसेको सरोकारवालाहरूको संयुक्त बैठकले आगामी २०८३ जेठ १० गतेदेखि लागू हुने गरी १५ दिनका लागि नयाँ ट्राफिक नियमको परीक्षण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नगरपालिकाको सभाकक्षमा बसेको उक्त बैठकमा उप–प्रमुख, तनहुँका प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी प्रमुख, वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ तथा विभिन्न यातायात व्यवसायी समिति र अटो व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अबदेखि सफा सडकमा दुवैतर्फबाट गाडी गुड्ने भएकाले त्यहाँ कुनै पनि सवारी साधन पार्किङ गर्न पाइने छैन । सवारी चालकहरूले विकल्पका रूपमा शाखा सडकहरू, नगरपालिकाको पार्किङ ग्राउन्ड र अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङ गर्न सक्नेछन् ।
लमजुङको भोर्लेटार, सोतिपसल, दुईपिप्ले लगायतका क्षेत्रमा चल्ने गाडीहरू आउँदा बाघभञ्ज्याङ हुँदै सिमलटारबाट बसपार्क छिर्नेछन् । जाँदा चौतारी होटल चोकमा १/१ वटा गाडीलाई १५/१५ मिनेट मात्र बस्न
दिइनेछ ।
दमौलीबाट काठमाडौं र मुग्लिन चल्ने गाडीहरू सिधै बसपार्क जानुपर्नेछ र फर्कँदा यात्रु लिन ५ मिनेट मात्र पाउनेछन् । लामो दूरीका गाडीलाई भने यात्रु चढाउन र ओराल्न २ मिनेटको समय दिइनेछ । स्थानीय क्षेत्र र पोखरा चल्ने म्याजिक/माइक्रो/ट्याक्सीहरू अब १/१ वटा मात्र चोकमा क्यु बस्न पाउनेछन्, बाँकी गाडी बसपार्क जानुपर्नेछ । पोखरा, रिसिङ, घिरिङ र छाब्दी बाराही जाने बस, जिप तथा म्याजिकहरू दुर्गा मन्दिर पश्चिम र तोकिएका स्थानमा १/१ वटा मात्र क्यु बस्न पाउनेछन् । मुख्य चोकहरू र अनशन चौतारी चोकमा बढीमा २/२ वटा मात्र अटो राख्न पाइनेछ ।
पृथ्वी राजमार्गको सर्भिस लेनमा मोटरसाइकल र स्कुटर पार्किङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । कार्यालय र विद्यालय सञ्चालन हुने दिनहरूमा (सोमबारदेखि शुक्रबारसम्म) बिहान ८ः३० देखि १०ः१५ बजेसम्म र साँझ ३ः३० देखि ५ः१५ बजेसम्म सफा सडक, ग्रिन सिटी टोल, गणेशमान चोक र अमरापुरी सत्यवती विद्यालय लगायतका सरकारी कार्यालय क्षेत्रमा मालवाहक गाडी, ट्र्याक्टर र हेभी गाडीहरू गुड्न पाउने छैनन् ।
बजार क्षेत्रका निम्न मार्गहरूलाई एकतर्फी घोषणा गरिएको छ, जहाँ सवारी पार्किङ गर्न पाइने छैन । पृथ्वी राजमार्गबाट ग्रिनसिटी टोल हुँदै भेटघाट चोक जाने तर्फ मात्र । पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षी चोक जाने तर्फ मात्र । पुरानो बैंक लाइन न्यूरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्ग निस्कने तर्फ मात्र (४ पाङ्ग्रे गाडीका लागि) । प्रहरी कार्यालयको दक्षिण–पश्चिम चोकबाट पृथ्वी राजमार्ग दुर्गा मन्दिरतर्फ निस्कने तर्फ मात्र ।
दमौली बजारको सुरक्षाका लागि बिग्रिएका सिसिटिभी क्यामेराहरूको मर्मत गर्ने र आवश्यक ठाउँमा नयाँ थपिने निर्णय भएको छ । यसको खर्च व्यवस्थापन व्यास नगरपालिकाले गर्नेछ भने निगरानी जिल्ला प्रहरी कार्यालयबाटै हुनेछ । साथै, पैदलयात्रीको सहजताका लागि फुटपाथ (सडक पेटी) मा सामान राखेर व्यापार गर्न पूर्ण रूपमा रोक लगाइने भएको छ ।
व्यास–१ करङ्ग काठमा रहेको बसपार्कमा बत्ती, खानेपानी र शौचालयको उचित व्यवस्थापन गर्ने जिम्मा व्यास नगरपालिकाले लिएको छ । साथै बसपार्कभित्र टिकट काउन्टरका लागि नगरपालिकाले भवनको कोठा उपलब्ध गराउनेछ । ट्राफिक प्रहरीका लागि आवश्यक ’नो पार्किङ’ बोर्ड तथा सामग्री र भोर्लेटार चोकमा नयाँ ट्राफिक पोस्ट समेत नगरपालिकाकै तर्फबाट व्यवस्थापन गरिने निर्णय भएको छ ।
