दमौली/बीपी विचार समाज तनहुँले ४४औँ बीपी स्मृति दिवसलाइ विचार गोष्ठी गरेर मनाएको छ । “नेपालको समसामयिक राजनीतिक सन्दर्भ र बीपीवादको सान्दर्भिकता“ विषयक एकदिने विचार गोष्ठी बोल्ने अधिकाँस वक्ताले नेपाली काँग्रेसले बीपीवाद छोेडेको कारण नेपालको राजनीति अस्थिर बनेको धारणा राखेका थिए ।
प्रमुख अतिथि बीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य हरिशरण पण्डितले जननायक बीपी कोइराला नेपालका मात्र नभई तत्कालीन विश्व समाजवादी आन्दोलनका प्रभावशाली नेतामध्ये एक भएको उल्लेख गर्नुभयो । उहाँले बीपीले नेपालको राजनीतिक इतिहासमा राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादलाई स्पष्ट वैचारिक आधार प्रदान गरेको बताउँदै आजको राजनीतिक परिस्थितिमा बीपीवादको आवश्यकता झन् बढ्दै गएको धारणा राख्नुभयो ।

गोष्ठीमा शिक्षक संघका पूर्व अध्यक्ष कमलभक्त पोखरेलले नेपाल अहिले राजनीतिक अस्थिरता, वैचारिक विचलन, सुशासनको अभाव, भ्रष्टाचार, युवापलायन, बेरोजगारी र जनविश्वासको संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा बीपीले अघि सारेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, नैतिक राजनीति, विधिको शासन र जनउत्तरदायी शासन व्यवस्थाका सिद्धान्तहरू अत्यन्तै सान्दर्भिक बनेका छन् ।” उहाँको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष प्रताप सिंह अधिकारीले प्रजातन्त्रलाई केवल निर्वाचन सम्पन्न गर्ने व्यवस्थाका रूपमा नभई नागरिक स्वतन्त्रता, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, जिम्मेवार सरकार र सामाजिक न्यायसहितको जीवनपद्धतिका रूपमा व्याख्या गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार लोकतन्त्र बलियो हुन राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र, नैतिक नेतृत्व र जनताप्रतिको उत्तरदायित्व अपरिहार्य हुन्छ ।
उहाँले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद राज्य नियन्त्रणको समाजवाद नभई उत्पादन, उद्यमशीलता र निजी क्षेत्रलाई सम्मान गर्दै राज्यले सामाजिक न्याय, समान अवसर, शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने अवधारणा भएको स्पष्ट पार्नुभयो। वर्तमान समयमा बढ्दो आर्थिक असमानता, बेरोजगारी र अवसरको असन्तुलन अन्त्य गर्न पनि बीपीको यही दृष्टिकोण उपयोगी हुने उहाँको भनाइ थियो ।
समाजका वरिष्ठ सदस्य रुद्रनिधि नैनावस्ती, इन्द्रबहादुर दरै,सोलबहादुर चितौरे क्षेत्र नं. १ का सभापति केशरबहादुर गुरुङ लगायतले नेपालको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास, सुशासन, सामाजिक उत्तरदायित्व तथा बीपीको वैचारिक योगदानका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । वक्ताहरूले राजनीतिक दलहरूले वैचारिक स्पष्टता, नैतिक आचरण र जनउत्तरदायित्वलाई प्राथमिकता दिन नसक्दा लोकतन्त्रप्रति जनविश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै बीपीको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जननायक बीपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा पुष्पार्पण गरिएको
थियो । साथै, कोइरालासहित लोकतन्त्र र राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
सभापति प्रतापसिंह अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन बीपी विचार समाजका सदस्य कृष्णप्रसाद सोतीले गर्नुभएको थियो। भने कार्यक्रममा स्वागत मन्तव्य समाजका उपसभापति क्याप्टेन रेशम बहादुर गुरुङले गर्नुभएको थियो ।
