भागिरथी देवकोटा
कावासोती–८, नवलपुर
हालः महेन्द्रोदय मावि ऋषिङ
ओहो ! हेर्दाहेर्दै महान चाड दशैं नेपालीको घर आँगनमा आइसकेछ । दशैं आयो कि मेरो बालापन र त्यति बलाको दशैंका रमाइला क्षणहरुको सम्झना आउने
गर्दछ ।
हालको मध्यबिन्दु नगरपालिका चोरमारा नवलपुर साविक तम्सरीया गाविस अनि त्यही सेरोफेरोसँग जोडिएको मेरो बालापन र दशै पर्व । हाम्रो देश नेपालमा विभिन्न किसिमका चाडपर्वहरू मनाउने प्रचलन छ तिनै विभिन्न चाडहरु मध्ये बडा दशैंलाई एक प्रमुख चाडको रूपमा मनाईन्छ । यो पर्वमा मान्यजनहरूको हातबाट विजयको प्रतिक टीका अनि समृद्धिको प्रतिक जमराको साथमा आशीर्वाद ग्रहण गरिन्छ । दशैं आउँदै गर्दा आजभोलि मनाइने दशैं र म सानो छँदा मनाउँने दशैंका बिचमा धेरै भिन्नता आएर होला यसले मलाई मेरो बाल्यकालको झलझली स्मरण गराउँछ । जब दशैं आउँथ्यो मेरी आमाले रातो माटो र सेतो कमेरो माटोले घर पोतेको अनि गाउँका दाजुभाईहरुले एकआपसमा मिलेर पिङ बनाउनको लागि घर घरमा सहयोग उठाउँदै हिँडेको अनि म साथीहरूसँग पिङ खेल्न पाइने भइयो भन्दै फुरुङ्ग भएको सम्झना दाहोरिने गर्छ ।
आहा ! स्मरण गर्दा पनि ती बालापन कहिले नहराए हुने थियो जस्तो लाग्छ । फेरी एक पटक ति दिनमा फर्किन पाए ? अनि ती साथीभाइहरूको आत्मियता, सहयोगीपन, एकअर्का माथिको विश्वास, सम्झनाले मात्र पनि मेरा अङ्गप्रत्यङ्गमा एक खालको उमंग पैदा भएर आउँछ । दशैंकोलागि खसीको मासु खाने भनेर घरमा पालेर राखेको घोर्ले खसीले घर घरमा छुट्टै रौनक छाएको,अनि मेरी आमा, काकी र दिदीबहिनीहरू एकै ठाउँमा बसेर विभिन्न प्रकारका रोटीहरू पकाउँदै तात्तातै खान दिएको, देवी भगवतीको पूजा, आराधना अनि चण्डी पाठ गर्दै गर्नुभएको हजुरबुवा हजुरआमाको याद निकै नै आउँछ । जसले गर्दा दशैं आएको घर घरघरमा संकेत पाइन्थ्यो ।
अझ पनि स्मरमा छ एकपटकको कुरा हो बुवासँगै म मामाघर पाल्पा जिल्लाको अंगाहाखोला जान भन्दै त्यो कठिन बाटोमा गाडी चढ्न खोज्दा गाडीमा सिट नपाएर छतमा बसेर भएपनि जानुपर्छ भन्दै रमाउँदै हिँडेको, त्यस्तैगरी बाबा आमाले हामी दिदीबहिनीलाई उस्तै कपडा किनिदिएर यिनीहरु झगडा गर्न सक्छन् भनी उस्तै जामा सिलाइदिनुभएको अनि हामी त्यही जामा लगाउँदै गाउँका साथीहरुलाई कपडा देखाउन हिँडेको, बालापनको स्मरण अझै पनि ताजै छ । दशमीको दिन गाँउ सबै घरहरूमा निधारभरि टिका अनि जमरा सहित पाएको थोरै दक्षिणामा पनि यति धेरै खुसी भइन्थ्यो जति खुशी आज जागिरबाट तलब पाउँदा । त्यसको म कल्पना पनि गर्न सक्दिन । हामी चार दिदीबहिनीले उस्तै र दुई दाजुभाईलाई उस्तै कपडा लगाएर फोटो खिच्न पाउँदा अनि फोटो खिच्दा सासै नफेरीकिन ठिङ्ग उभिएर हल्लिनु हुँदैन भन्ने मान्यताले फोटो खिचिन्थ्यो, अहिले ती फोटाहरूले सम्झाएका यादहरू कहिलेकाहीँ
नियाल्न मन लाग्छ । बुबाआमाले हरेक चाड पर्वको स्मरण पछिसम्मका लागि होस् भनेर फोटो खिच्नको लागि फोटोग्राफर बोलाई खिच्न लगाउनुहुन्थ्यो । बाल्यकालको दशैँको स्मृति मेरो हृदयमा अझै पनि ताजै छ । वर्षभरिका अन्य दिनहरूमा कमै मात्र मासु खाने अवसर जुट्थ्यो। त्यतिबेला गाँउघरमा मासु पसल हुन्थेनन् । गाउँमा बिना अवसर मासु काट्थेनन् सबैको आर्थिक अवस्था पनि उस्तै थिए । सामान्य आम्दानीमा जीवन गुजारा चलाउनु पर्दथ्यो । दशैंको लागि भनेर पालेको खसी देखाउँदै यो खसी काट्न अब कति दिन छ बुवा भन्दै बुवासँग जिज्ञासाले भरिएका प्रश्नहरू प्रशस्तै गर्थेँ । जब म मासु खाउ भन्थे ? बुबा दशैँमा सिङ्गै खसी खाने हो भन्नुहुन्थ्यो । नयाँ कपडा लगाउन मनलाग्दा दशैँमा किनौला है छोरी भन्नुहुन्थ्यो। मिठा मिठा परिकारहरू दशैंमा खाने हो भन्नुहुन्थ्यो । यी सबै कुराको इच्छा र आकांक्षा पूरा हुने दिन दशैंमा पो रहेछ भनेर औंला भाँचीभाँची दशैं आउने दिनहरू मेरा आँखाले हेरिरहन्थे अनि मनले खोजिरहन्थ्यो ।
उमेर बढ्दै गयो समय फेरिँदै गयो अनि परिवर्तन सँगसँगै आवश्यकताहरू पनि फेरिँदै गए । हरेक वर्ष दशैं आउँछ तर दशैंको रङ्ग
फेरियो । बिम्ब फेरिए तर मलाई बाल्यकालकै दशैंको सम्झना आइरहन्छ । दशैं आउँदै गर्दा म सोचमग्न हुन्छु ती पहिलेका जस्तै रोटेँ पिङ कता
हराए, चंगा कता हराए यस्तै यस्तै…समय परिवर्तनशील छ । समाज बदलिदो अवस्थामा छ । जुन बालापन स्वर्णिम थियो। अहिलेको समाज परिस्थिति हेर्दा अचम्म लाग्छ । त्यसैले हर्ष होइन पीडा बोकेर ल्याउँछ । अनि मौसमले पनि साथ दिन छोडिसकेको छ । आमा बाबाबाट छोराछोरी टाढा हुनु, गाउँनै रित्तो हुनेगरी युवा पुस्ता परदेशीँदा ती पहिलेको अवस्था यादमा मात्र सिमित भयो । आज गाउँघर खण्डहर भएको छ । गाउँमा बुढा भएका बाबा आमाहरू मात्र हुनुहुन्छ । आजको समयमा चाडपर्व आउँदै गर्दा नरमाइलो महसुस हुन्छ । हाम्रा ती धरोहारहरू अनि हाम्रो घरको खम्बा हाम्रो जन्मदाता हाम्रो बुवा यस संसार छोडेर गइसक्नुभयो हामीहरुलाई एक्लै बनाएर ।
अन्त्यमा दशैं हर्ष एवं उल्लासका साथ मनाइने एक महान चाड हो। हिन्दु संस्कृति अनुसार यो चाडलाई वीरताको पूजक पनि मानिन्छ । जसबाट नराम्रा कर्म, क्रोध, लोभ, निसाक्षर, अहंकार, आलस्य,हिंसा र चोरी त्याग्ने प्रेरणा मिल्छ । विजया दशमीको दिन देवी भगवतीले दानवी शक्तिमाथि विजय हासिल गरेको उपलक्ष्यमा खुसियाली मनाउँदै नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिका र जमरा लगाई भव्य अनि सभ्यरूपमा दशैं मनाउँ । आशा पनि गर्छु यसपालिको दशैंको मुखैमा आएको महाविपत्तिको कारण जो जहाँ जसरी हुनुहुन्छ हाँसीखुसी रमाइलो गरी मनाउँ र विपत्तिको सामना गर्ने शक्ति दुर्गा माताले प्रदान गरून् ।