Home स्वास्थ्यके हो बाथ मुटुरोग ?

के हो बाथ मुटुरोग ?

by Tanahu Awaj
611 views
सन्दर्भ विश्व मुटु राेग दिवस
 सामान्यतया बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले घाँटी दुखाइको अनुभव गरेका हुन्छन् । खानपान, प्रदूषण, मौसम परिवर्तन, सरसफाइको कमी आदि कारणले घाँटी दुख्न सक्छ । अक्सर जाडो मौसम सकिएर गर्मी मौसम सुरू हुन लाग्दा र गर्मी सकिएर जाडो मौसम सुरु हुन लाग्दा धेरैको घाँटी दुखेको देखिन्छ । यस्तो बेला अस्पतालहरूमा घाँटी दुखेका बिरामीको चाप अलि बढेको पाइन्छ । कडा किसिमको घाँटी दुखाइ हुँदा टन्सिल बढ्ने, स्वर भासिने, निल्न गाह्रो हुने हुन्छ । कतिपयलाई ज्वरो आउने पनि हुन्छ ।
घाँटी दुखेकाहरूको परीक्षण गर्दा धेरैजसोमा भाइरस वा ब्याक्टेरियाको सङ्क्रमण भएको भेटिन्छ । कतिपयलाई उपचार नगरे पनि एक हप्तामा भने कतिपयलाई उपचारको आवश्यकता पर्छ । घाँटीको दुखाइ सन्चो हुन्छ कसैले नून–पानी, तातो पानी त कसैले साधारण औषधि सेवन गरेर घाँटी दुखेको उपचार गर्छन् । यसरी घाँटी दुखेका मध्ये केहीलाई दोहोरिएर घाँटी दुख्छ । यस्तालाई केही हप्ताको अन्तरालमा शरीरका जोर्नीहरू दुख्ने समस्या आउन सक्छ । यसरी दोहोरिएर घाँटी दुख्ने समस्या भएका ५ देखि १५ वर्षसम्मका बालबालिकाको मुटुको भल्भमा असर पर्ने सम्भावना रहन्छ ।
५ वर्षभन्दा कम उमेरका बालबालिकामा जन्मिदै आमाको शरीरबाट रोग– प्रतिरोधात्मक क्षमता सरेर आएको हुन्छ भने १५ वर्षभन्दा बढी उमेरका किशोर– किशोरीको शरीरमा चाहिँ स्वतः रोग–प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले सामान्यतया बाथ–मुटुरोग गराउने ब्याक्टेरियाको सङ्क्रमणले खासै बढी खतरा हुँदैन । मुख्यतः ५ देखि १५ वर्षको उमेर नै बाथ–मुटुरोग लाग्ने संवेदनशील उमेर हो । बाथ–मुटुरोग जीवाणुको सङ्क्रमणबाट सुरू हुन्छ । सुरूमै उपचार गर्दा साधारण औषधिले निको पार्न सकिन्छ भने समयमै उपचार नगर्दा पछि लाखौं खर्च गरे पनि उपचार गर्न नसकिने स्थिति

आउन सक्छ ।
जीवाणुको सङ्क्रमण भएर घाँटी दुखेका ५ देखि १५ वर्ष उमेरका बालबालिकामध्ये ५० प्रतिशतभन्दा बढीलाई ब्याक्टेरियाबाट सङ्क्रमण भएको पाइन्छ । ब्याक्टेरियाहरू पनि धेरै किसिमका हुन्छन् । ब्याक्टेरियाले सङ्क्रमण भएका मध्ये दुई तिहाइलाई बिटाहेमोलाइटिक स्ट्रेप्टोकोकस ग्रुप ए ब्याक्टेरियाबाट सङ्क्रमण हुन्छ । यसलाई छोटकरीमा ग्यास (न्ब्क्) ब्याक्टेरिया पनि भनिन्छ । यो ब्याक्टेरियाबाट घाँटीमा सङ्क्रमण भएका मध्ये तीन प्रतिशतलाई केही हप्तापछि एकप्रकारको ज्वरो आउँछ । यस्तो बेला कतिपय मानिस उपचारका लागि अस्पताल जान्छन् । उनीहरूलाई पेनिसिलिनबाट उपचार गरेमा रोग नियन्त्रणमा आउँछ । तर कतिपयले घाँटीमा सङ्क्रमण हुँदा नून–पानी, बेसार–पानी खाने, जोर्नीहरू दुख्दा सिटामोल, ब्रुफेन खाने र अन्य जडीबुटी सेवन गरी परम्परागत तरिकाले उपचारको प्रयास गर्दछन् । परम्परागत उपचार पद्धति प्रभावकारी छैन । यो उपचारले जीवाणु मार्दैन, जीवाणु नमरेपछि रोग भित्रभित्रै फैलिँदै जान्छ तर थाहा हुँदैन । यसले मुटुलाई बिगार्न थालेपछि मात्र थाहा हुन्छ ।
स्ट्रेप्टोकोकस ग्रुप ए ब्याक्टेरियाको सङ्क्रमण हुँदा सही उपचार नगर्ने मध्ये करिब तीन प्रतिशतलाई दुई–तीन हप्तापछि एक किसिमको ज्वरो आउँछ । यो ज्वरो आउँदा जोर्नीहरू दुख्ने हुन्छ । यसलाई बाथ ज्वरो (न्युम्याटिक फिवर) भनिन्छ । यसरी बाथ ज्वरो आएकाहरूमध्ये ५० प्रतिशत जतिको रोग जोर्नीमै सीमित रहन्छ र निको हुन्छ । बाँकी ५० प्रतिशतको चाहिँ रोग सर्दै मुटुमा पुग्छ र मुटुलाई बिगार्छ । घाँटी छिटो–छिटो दुख्नेलाई मुटुमा छिटो असर गर्छ । मुटुमा रोगले छोएर पनि उपचार गरिएन भने ५० प्रतिशत जतिको मुटु नै फेल हुन्छ र मृत्यु हुन्छ । १० देखि १५ प्रतिशतलाई मस्तिष्कघात हुन्छ । अरू केहीलाई मुटुका विभिन्न किसिमका जटिलता उत्पन्न हुन्छन् ।
१५ वर्षभन्दा माथिकालाई यो ब्याक्टेरियाले घाँटीको सङ्क्रमण गराए पनि मुटुको रोग लाग्ने सम्भावना कमै हुन्छ । उमेर बढ्दै जाँदा रोग लाग्ने खतरा पनि कम हुँदै जान्छ । तर ५ देखि १५ वर्षको उमेर अवधिमा नै सङ्क्रमण भएर सुषुप्त अवस्थामा बसेको रोगचाहिँ पछि पनि सक्रिय भएर देखिन सक्छ । कतिपयलाई पछि बिस्तारै रोगले पेल्दै ल्याउँछ । सास फेर्न गाह्रो हुने, स्वाँ–स्वाँ हुने, मुटु हल्लिने लगायतका मुटुसम्बन्धी समस्या देखिन थाल्छन् । ५० वर्ष उमेर पुगेको मानिसको पनि भिडियो एक्सरे गरेर हेर्दा कसै–कसैमा यो रोग लागेको देखिन्छ । तर ५० वर्षमै रोग लागेको चाहिँ होइन । वास्तवमा उसलाई केटाकेटी हुँदा त्यो रोगका जीवाणुको सङ्क्रमण भएको हो । त्यो बेला रोगको सङ्क्रमण भएर पनि थाहा नपाएको हो । घाँटीमा ब्याक्टेरियाको सङ्क्रमण भएपछि पनि आधालाई लक्षण नै नदेखिने स्थिति पनि हुन्छ । रोगसम्बन्धी पुरानो विवरण लिँदा ५० प्रतिशत बाथ–मुटुरोगीहरूले उनीहरूले बाथ ज्वरोको हिस्ट्री नै दिँदैनन् । रोग भित्रभित्रै सल्केको हुन्छ तर थाहा हुँदैन । बाथ–मुटुरोग हुनलाई तीनवटा चरणहरू पार गर्नुपर्छ । सबैभन्दा पहिलो घाँटीको सङ्क्रमणको चरण । त्यसपछि जोर्नीहरू दुख्ने बाथ ज्वरोको चरण र अन्तिममा मुटु बिग्रिने अर्थात् बाथ–मुटुरोग (युम्याटिक हार्ट डिजिज) को चरण । एकै पटक तेस्रो चरणमा पुगेका रोगीहरू धेरै भेटिन्छन् । बाथ– मुटुरोगको यो डरलाग्दो पक्ष हो ।
भल्भमा कसरी क्षति पुग्छ ?
बाथ मुटुरोगको कारक ग्यास व्याक्टेरियाले घाँटीमा सङ्क्रमण गरेपछि सुरुमा घाँटी दुख्छ । तर त्यो ब्याक्टेरिया नै मुटुमा पुगेर असर गर्नेचाहीँ होइन । ब्याक्टेरिया घाँटीमा प्रवेश गरेपछि टन्सिल बढ्छ । टन्सिल भनेको प्रतिरक्षात्मक अंग हो । बाहिरबाट आएको जिवाणुलाई मार्न टन्सिल बढेको हो । ग्यास ब्याक्टेरियाको वरिपरि एक प्रकारको प्रोटिन हुन्छ । त्यो प्रोटिनको विरुद्धमा टन्सिलले एन्टिबडी ( प्रतिरक्षात्मक तत्व) बनाउँछ । धेरैजसो अवस्थामा यो एन्टिबडीले ब्याक्टेरियासंग लड्छ र जित्छ । ब्याक्टेरिया हारेपछि रोग सन्चो हुन्छ । बाथ–मुटुरोग लाग्ने जेनेटिक सम्भावना भएका बालबालिकामा यो प्रक्रियाले बेग्लै मोड लिन्छ ।
ग्यास ब्याक्टेरियाको शरीरमा भएको प्रोटिन र मुटुको भल्भमा हुने प्रोटिनको रुपरेखा, बनावट उस्तै–उस्तै हुन्छ । बनावट उस्तै हुने हुँदा ब्याक्टेरियालाई नष्ट पार्न टन्सिलले बनाएको एन्टिबडीले झुक्किएर ब्याक्टेरियाको सट्टा मुटुको भल्भमा भएको प्रोटिन (एम प्रोटिन) लाई आक्रमण गरी नष्ट पारिदिन्छ र मुटुको भल्भमा क्षति पुग्छ ।
घाँटीमा पटक–पटक संक्रमण भयो भने एन्टिबडी पनि त्यहीअनुसार धेरै मात्रामा बन्छ । जति धेरै पटक बाहिरबाट ब्याक्टेरिया आयो त्यति नै धेरै एन्टिबडी बन्ने हुन्छ र त्यसै अनुरुप मुटुको भल्भलाई पनि बढी क्षति पुग्छ । जति पटक घाँटी दुख्यो, त्यति नै पटक मुटुको भल्भमा आक्रमण हुन्छ ।
–डा. प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीको टन्सिलले विगारेको मुटु नामक पुस्तकबाट पाठकलाई उपयोगी हुने ठानेर यो लेख साभार गरिएको हो ।

Related Articles

Leave a Comment