दमौली/व्यास नगरपालिकाको कार्य प्रगतिको बारेमा आगामी असार ३१ गते बुधबार सार्वजनिक सुनुवाइ सम्पन्न हुने भएको छ ।
नगरपालिकाका अुनसार वडा नं. १, २, ३, ४, १२, १३ र १४ का नागरिक तथा सेवाग्राहीलाई लक्षित गरी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन नेपाल पत्रकार महासंघ तनहुँ शाखले गर्नेछ । कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा नगरपालिकाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिने जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख जवाफकर्ताको रूपमा उपस्थित भई नगरवासीका जिज्ञासा, सुझाव तथा गुनासाहरूको प्रत्यक्ष जवाफ दिनेछन् । सेवाग्राहीहरूको राय, सुझाव र प्रतिक्रिया संकलन गरिने व्यवस्था गरिएको नपाले जनाएको छ ।
ब्यास नपाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास लिइएको
छ ।
कार्यक्रम व्यास नगरपालिका–१ स्थित भादगाउँ दरै भवनमा आयोजना हुनेछ । आफ्ना जिज्ञासा, गुनासो र प्रश्न लिएर उपस्थित हुन सम्बन्धित वडाका सम्पूर्ण नगरवासी, सरोकारवाला निकाय तथा सेवाग्राहीहरूलाई नगरपापलिकाले अनुरोध गरेको छ ।
