
सार्वजनिक स्वास्थ्यको क्षेत्रमा विगत केही दशकदेखि एचआईभी÷एड्स एउटा प्रमुख चुनौतीको रूपमा रहँदै आएको छ । चिकित्सा विज्ञानले एन्टिरेट्रोभाइरल थेरापी जस्ता प्रविधिको विकास गरेर यसलाई नियन्त्रणमा राख्ने प्रयास गरे तापनि, समुदाय स्तरमा प्राथमिक सचेतनाको कमी र हेलचेक्र्याइँका कारण यो भाइरस अझै पनि जनस्वास्थ्यको ठूलो जोखिमको रूपमा छ । त्यसैले हरेक नागरिक यस भाइरसको सर्ने माध्यम, यसका प्रारम्भिक लक्षणहरू र रोकथामका व्यावहारिक उपायहरूबारे जानकार र सचेत हुनु आवश्यक भएको छ ।
एचआईभी संक्रमण कुनै दैवी प्रकोप नभई मानव व्यवहार र असावधानीको उपज हो भन्नुमा अत्युक्ति हुँदैन । यो भाइरस मुख्यतया चारवटा माध्यमबाट सर्ने गर्दछ । पहिलो र सबैभन्दा जोखिमपूर्ण माध्यम असुरक्षित यौन सम्पर्क हो । दोस्रो, संक्रमित व्यक्तिको रगत, वीर्य वा स्तनपान मार्फत यो सिधै अर्को व्यक्तिको शरीरमा प्रवेश गर्दछ । तेस्रो, चिकित्सकिय वा गैर–चिकित्सकिय कार्यमा संक्रमित सुई वा अन्य धारिला औजारहरूको साझा प्रयोग गर्दा यो तीव्र रूपमा सर्छ, जुन विशेष गरी लागूऔषध प्रयोगकर्ताहरू र असुरक्षित सैलुनहरूमा बढी देखिन्छ । चौथो, संक्रमित आमाबाट जन्मने बच्चामा गर्भ वा प्रसवको समयमा यो भाइरस सर्न सक्छ । यसले के देखाउँछ भने, व्यक्तिगत सतर्कता अपनाएमा यसको संक्रमण दरलाई घटाउँदै गएर शून्यमा झार्न सम्भव छ ।

धेरैजसो अवस्थामा एचआईभी संक्रमित व्यक्तिहरू सुरुवाती चरणमा लक्षणविहीन हुन सक्छन् वा सामान्य स्वास्थ्य समस्या ठानेर झुक्किन सक्छन् । सुरुमा सामान्य खोकी लाग्ने, ज्वरो आउने र खानामा अरुचि हुने हुन्छ, जसलाई मानिसहरूले मौसमी भाइरल ज्वरो ठान्ने गल्ती गर्छन् । बिस्तारै अत्यधिक थकाई लाग्ने, तौल कम हुँदै जाने र शरीर दुख्ने जस्ता समस्याहरू देखिन्छन् ।
विस्तारै छाला जन्य समस्याहरू, अनुहारको छाला, मुख, आँखा वा नाकमा धब्बाहरू देखिने, घाँटी खसखस हुने, छाला चिलाउने र फुस्रो हुने जस्ता लक्षणहरू प्रकट हुन्छन् । थप जटिल बन्दै जाँदा घाँटीको नली, मुख वा गुप्ताङ्गमा घाउहरू आउने र राति सुतेको बेला चिटचिट पसिना आउने हुन्छ । शरीरमा सामान्य चोटपटक लाग्दा तथा समान्य रुघाखोकी लाग्दा निको हुन लामो समय लाग्ने वा निको नहुने हुन्छ ।
यी लक्षणहरू देखिनुको अर्थ शरीरको रोग प्रतिरोधात्मक प्रणाली भाइरससँग लड्न कमजोर भइरहेको छ भन्ने बुझिन्छ । त्यसैले यस्ता लक्षणहरू देखिएमा लाज वा डर नमानी तुरुन्त परीक्षण गराउनु बुद्धिमानी हुन्छ ।
एचआईभी÷एड्सको कुनै भरपर्दो खोप वा पूर्ण उपचार नभएको अवस्थामा रोग लाग्नु अगाडि नै रोकथामका उपाय अपनाउनु अर्थात रोकथाम नै उपचार हो भन्ने सिद्धान्त शतप्रतिशत लागू हुन्छ । स्वास्थ्य विज्ञहरूले सुझाएका रोकथामका मुख्य उपायहरु यस्ता छन् ।
पहिलो हो, सुरक्षित यौन जीवन । बहु–यौन साथी बनाउने बानीको अन्त्य अर्थात एक जनासँग मात्र यौन सम्पर्क गर्न र हरेक यौन सम्पर्कमा कण्डमको सही र अनिवार्य प्रयोग नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय हो ।
दोस्रो उपाय भनेको रगत र अङ्ग लिनुपर्ने अवस्था नै आउन नदिने तर रगत र अङ्ग लिनै परे सुरक्षित रक्तसञ्चार तथा अंग प्रत्यारोपणको विधि अपनाउने । दुर्घटना वा उपचारका क्रममा रगत र अंग दान गर्दा वा लिँदा अनिवार्य रूपमा एचआईभी परीक्षण भएको सुनिश्चित गरिनुपर्छ ।
अर्काे उपाय भनेको सुई र धारिला औजारमा कडाइ हो । अस्पताल वा क्लिनिकमा सधैं डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्छ । यस्तै, दैनिक जीवनमा हजामकहाँ कपाल वा दाह्री काट्दा जहिले पनि नयाँ ब्लेड प्रयोग गर्न लगाउनु अत्यन्त जरुरी छ, किनकि थोरै असावधानीले पनि रगतको माध्यमबाट भाइरस सर्न सक्छ ।
आमाबाट बच्चामा हुने संक्रमणको रोकथाममा ध्यान दिनु र सावधानी अपनाउनु एआइभी संक्रमणबाट जोगिने अर्काे उपाय हो । यदि गर्भवती आमा संक्रमित छिन् भने चिकित्सकको कडा निगरानीमा सुरक्षित उपाय र औषधिहरू अपनाएर स्तनपान गराउने वा वैकल्पिक पोषणको व्यवस्था गरी नवजात शिशुलाई सुरक्षित राख्न सकिन्छ ।
एचआईभी/एड्स केवल एउटा स्वास्थ्य समस्या मात्र नभएर सामाजिक र आर्थिक मुद्दा पनि हो । समाजमा अझै पनि संक्रमित व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण विभेदकारी छ, जसका कारण मानिसहरू परीक्षण गर्न र उपचारको दायरामा आउन डराउँछन् ।
एचआईभी संक्रमित हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यदि समयमै यसका सुरुवाती लक्षणहरू पहिचान गरेर एआरटी सेवा लिने हो भने संक्रमित व्यक्तिले पनि सामान्य मानिस सरह लामो र गुणस्तरीय जीवन जिउन सक्छ । तसर्थ, स्थानीय निकाय, स्वास्थ्य संस्थाहरू र आम नागरिक मिलेर विद्यालय, सैलुन, र गाउँ–गाउँमा यस्ता चेतना जगाउने कार्यक्रम गर्नु आजको प्राथमिक आवश्यकता हो ।
