दमौली/नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पत्रकारिता पुरस्कारका लागि दुई पत्रकार छनौट गरेको छ ।
शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि एक–एक जना पत्रकार छनौट गरिएको हो । दमौली निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्णकुमार श्रेष्ठद्वारा स्थापित भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शङ्करराज नहर्कीलाई छनौट गरेको हो । शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा बुधबार बसेको शाखाको कार्यसमिति बैठकले भण्डारी र नहर्कीलाई पुरस्कारको लागि छनौट गरेको नेपाल पत्रकार महासंघ तनहूँ शाखाका सभापति धनपति अधिकारीले बताउनु भयो ।

पुरस्कृत पत्रकारहरुलाई उपयुक्त समय पारेर विशेष कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।
बैठकले हरितालिका तीजको अवसरमा आगामी भदौ २७ गते उपाध्यक्ष सम्झना रसाइलीको संयोजकत्वमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ भने शाखाको भवन मर्मतका लागि गण्डकी प्रदेश सरकारमार्फत् दश लाख रुपयाँ सहयोग भएकामा एकीकृत सेवा कार्यालय तनहुँमार्फत् समयमै गुणस्तरीय काम सम्पन्न गरेकामा कार्यालय र एन्जल कन्स्ट्रक्सनका प्रोपाइटर केदार अधिकारीलाई धन्यवाद दिने निर्णय गरेको छ ।
यस्तै चालु आर्थिक वर्षमा शाखामा इलाइव्रेरी स्थापनाका लागि गण्डकी प्रदेश सरकार प्रेस रजिष्टार कार्यालयबाट दश लाख र अतिथिगृह लगायत व्यवस्थापनका लागि व्यास नगरपालिकाबाट पाँच लाख रुपयाँ सहयोग भएकामा प्रदेश सरकार र व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने लगायतको निर्णय बुधबारको बैठकले गरेको छ ।
