दमौली/तनहुँ जिल्ला अदालतले पत्रकार सम्मेलन गरेर आफ्नो बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलबार अदालतले आर्थिक बर्ष २०८२/०८३ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुई बर्ष नाघेका मुद्धाको संख्या शून्य बनाउन सकेको प्रगति प्रतिवेदन पत्रकार सामु पस्केको थियो । पत्रकारहरुसंगको छलफलमा तनहुँ जिल्ला अदालतले ७३.२० प्रतिशत मुद्धा फर्छ्यौट गर्न सफल भएको जानकारी गराएको थियो ।
आमनागरिकले प्राप्त गर्ने न्यायमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रको जिम्मेवार भूमिका महत्वपूर्ण रहने चर्चा गर्दै सहकार्य र समन्वय आवश्यक पर्ने महसुस गरेर कार्यक्रम राखिएको जानकारी गराइर्एको थियो ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्याय, राजेकुमार कटुवा र शम्भुप्रसाद बराल समेत स्रेस्तेदार नन्दप्रसाद आचार्य समेतले पत्रकारको जिज्ञासामा स्पष्ट पार्नु भएको थियो ।
अदालतले यो आर्थिक बर्षमा विचाराधिन रहेका दुई हजार चार सय छपन्न मुद्दा मध्ये एक हजार सात सय अन्ठानब्बे मुद्धा फछ्र्यौट गरेको जनाएको छ । कूल मुद्धा संख्यामा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका मुद्धाको संख्या सात सय सत्चालीस थियो भने यसै आर्थिक बर्षमा दर्ता भएका मुद्धाको संख्या एक हजार नौ सय छब्बीस रहेको थियो । चालु आर्थिक बर्षका लागि जिम्मेवारी सरेर आएको मुद्धा संख्या छ सय अन्ठाउन्न मुद्धा रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो संख्या कम हो ।
