
पृष्ठभूमिः
हक नपुग्ने जग्गा बेचविखन, दानदाताब्य गर्न, धितोबन्धक राख्न हक पुगेको स्वामित्व मानिदैन । नामसारी कार्य आफैमा स्वामित्वको अन्तिम निर्धारण गर्ने प्रक्रिया होइन । स्वामित्वको अन्तिम निर्धारण नहुँदै हकवालाको सहमति नभएका लेनदेन दुषित नै हुने न्यायीक अभ्यासमा स्थापित मान्यता रहि आएको छ ।
नजिरः
कुनै जग्गा कसैको नाममा नामसारी हुनका लागि स्पष्ट कानुनी आधार हुनुपर्दछ । कानुनमा स्पष्ट व्यवस्था गरेको छ भने सोही आधारमा गरिएको काम कारवाहीले वैद्यता र मान्यता प्र्राप्त गर्न सक्ने कुरामा विवाद नहुने । तर कानुनी आधार विना गरिएको काम कारवाही स्वेच्छाचारी र कानुनको प्रतिकूल भइ बदरभागी हुने । यदि हकको आधार नै अवैध हो भने त्यसको आधारमा गरिएका सबै कार्यहरु पनि दुषित ठहरिने
(no title can arise from a defective root of title) । यस्तो छलकपटले सबै प्रक्रिया दुषित बनाउने (Fraud vitiates everything)
कानुनमा भएको व्यवस्थाः
नामसारी गर्नका लागि अहिले प्रचलनमा रहेको मुख्यतः मुलुकी देवानी संहिता र भूमि प्रशासन निर्देशिका २०८१ हो । निर्देशिकाले कुनै जग्गाको दर्तावाला व्यक्तिको मृत्यू भएमा मृतकको नजिकको हकदारले कार्यालयमा नामसारी दाखिल खारेजको लागि दरखास्त दिनुपर्ने व्यवस्था गरेको छ । मृतकको स्थायी ठेगाना भएको स्थानीय तहको हकवालाको विषयमा फोटो समेत प्रमाणित भएको नाता प्रमाणित र हकवाला किटानी सिफारिस पनि आवश्यक पर्दछ । कतिपय अवस्थामा वडा मुचुल्का पनि आवश्यक पर्दछ ।
वडामुचुल्काको आवश्यकताः
हाम्रो अभ्यासले मृतकले आफ्ना अंशियाराहरुलाई दिनुपर्ने अंशियारालाई अंश बुझाइ सकेको अवस्था रहेनछ । मृतकका एक भन्दा बढी पत्नी र ती पत्नीबाट जन्मेका सन्तान रहेछन् भने त्यो व्यहोरा खुलेको सिफारिस गर्नुपूर्व वडामुचुल्का तयार गरी सो मुचुल्काका आधारमा वडाध्यक्षले हकवाला किटान गरी सिफारिस गर्ने चलिआएको अभ्यास हो । अझ आजकल त २०७२।६।१४ पछि भने मुद्दा चल्दाचल्दैको अवस्थामा उक्त मिति पश्चात विवाह गर्ने छोरीले पनि बाबुआमाबाट अंश पाउने अदालती अभ्यास शुरु भैसकेको छ । यो अवस्थामा सबै हकवालाको व्यहोरा नखुलेको वडा मुचुल्का, नाताप्रमाणित र सिफारिसका आधारमा कुनै पत्नीलाइ मात्र हकवाला किटान गरिएको सिफारिसको आधारमा नामसारी पनि दुषित नै हुने मालापोतको अभ्यास र सर्वोच्चको व्याख्याले स्थापित मान्यता रहिआएको पाइन्छ ।
निष्कर्षः
हकवालाको परिभाषा अपुतालीको सम्पत्तिको हक नामसारी र अंशबण्डा नभएको सम्पत्तिको हकमा नामसारीमा फरक हुने तथ्यलाई वडामुचुल्कामा बस्ने मान्छेहरु, नाता प्रमाणित र हकवाला किटान गरि सिफारिस गर्ने वडाध्यक्ष जानकार हुनुपर्दछ । नामसारी भैगएको सम्पत्ति स्वामित्व निर्धारण भए सरह चलन हुँदा उपेक्षित अंशियाराको अंश हक प्रभावित हुनेतर्फ सम्वेदनशिल हुनुपर्दछ ।
