
‘धर्माे रक्षति रक्षितः’ हिन्दु धर्म ग्रन्थ महाभारत र मनुस्मृतिमा उल्लेखित श्लोकको अर्थ हो, ‘धर्मको रक्षा गरे, धर्मले रक्षा गर्छ ।’ अर्थात जसले धर्मको रक्षा गर्छ, धर्मले उसको रक्षा गर्छ ।
आजको यो आलेखमा मानिसले कुनै धर्म विशेषको रक्षा गर्ने र त्यसले सम्बन्धित धर्म रक्षकको रक्षा गर्ने कुरा गर्न गइरहेको छैन । बरु विश्व समुदायले मानव भएका नाताले गर्नु पर्ने मानविय धर्म र त्यसको रक्षा तथा त्यससँग जोडिएको मानव जातिको रक्षाको कुरा गर्न गइरहेको छु । यसो पनि भनौं मैले यहाँ धर्म रक्षाको अर्थ पुजा, पाठ, ध्यान, तप, स्नान, दान, ब्रत, बली आदिको निरन्नरतालाई भन्न खोजेको होइन । मैले त कर्तव्य, नैतिकता, सत्य र प्रकृतिक नियमको पालना र निरन्तरताको कुरा गर्न खोजेको हुँ । यसको अर्थ मैले “हामीले आफ्नो कर्तव्य पालना ग¥यौँ र सत्यको बाटो छोडेनौँ भने, त्यही सत्य र कर्तव्य हाम्रो लागि संकटको बेला ‘ढाल’ बनेर उभिन्छ ।” भन्न खोजेको हुँ ।
पृथ्वीलाई हामी माता अर्थात आमा भन्दछौं । पृथ्वीलाई माता भन्नुका पछाडि आध्यात्मिक, वैज्ञानिक र भावनात्मक कारणहरू छन् । जसरी एउटी आमा एउटा बालकको सृष्टिकर्ता र पालनकर्ता हुन्, ठ्याक्कै यही भूमिका पृथ्वीले हाम्रो जीवनमा निर्वाह गर्दछ । आमाले आफ्नो गर्भमा सन्तानलाई राखेर नौ महिनासम्म रक्षा गर्छिन् अनि पृथ्वीले हामीलाई आफ्नो काख मा आश्रय दिएको छ । हामी जन्मदेखि मृत्यसम्म यही पृथ्वीमा आश्रित छौं जसरी एउटा बालक आफ्नी आमामा आश्रित हुन्छ । अथर्ववेदले मानव र पृथ्वीबीचको सम्बन्धलाई आमा र छोराको पवित्र सम्बन्धका रूपमा व्याख्या गरेको छ ।
पृथ्वीलाई जोगाउने धर्म हामीले पूरा गर्ने हो भने मात्र पृथ्वीले हामीलाई जोगाउँछ । पृथ्वी जोगाउन हामीले वातावरणिय प्रदूषण नियन्त्रण गर्नु छ । प्लाष्टिकको प्रयोगलाई कम गर्दै लगेर सून्य बनाउनु छ । रासायनिक मल र विषादीको प्रयोगमा कमि ल्याउनु छ । जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानु छ ।
आमाले जस्तै पृथ्वीले हामीलाई बाँच्नका लागि आवश्यक अन्न, पानी, हावा लगाएत सबै कुरा उपलब्ध गराउँछ । हामी हाम्रो भोक मेटाउन पृथ्वीको छाती चिरेर अन्न उब्जाउँछौं । हाम्रो तिर्खा मेटाउन पानीका श्रोतहरु यही पृथ्वीमा उपलब्ध छन् । हामीलाई बाँच्नका लागि नभइनहुने सबै कुरा पृथ्वीमै उपलब्ध हुन्छन् । र यो सबै उपलब्ध गराएबापत जसरी आमाले आफ्ना सन्तानसँग केही माग्दिनन् त्यसरी नै पृथ्वीले पनि केही लिन्नन् ।
पृथ्वीलाई ‘सर्वंसहा’ (सबै कुरा सहने) भनिन्छ । हामीले पृथ्वीमाथि फोहोर फाल्छौँ, पहाड खन्छौँ, परमाणु परीक्षण गर्छौँ र उनकै छातीमा प्वाल पार्छौँ । हामीले पृथ्वीलाई यति धेरै पीडा र भार दिँदा पनि उसको कुनै गुनासो छैन बरु निरन्तर हाम्रा लागि समर्पित छ । आमाले आफ्ना छोराछोरीका हजारौँ गल्तीहरूलाई क्षमा दिएर माया गरिरहे जस्तै, पृथ्वीले पनि हाम्रो सबै अत्याचार सहेर हामीलाई जीवन दिइरहेको छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि, यदि पृथ्वीको वायुमण्डल र यसको निश्चित तापमान नहुने हो भने हाम्रो अस्तित्व सम्भव छैन । हामी पूर्ण रूपमा पृथ्वीको जैविक प्रणालीमा निर्भर छौँ । बच्चा आमाबिना असहाय भएजस्तै समस्त प्राणी जगत पृथ्वीबिना अस्तित्वविहीन हुन्छ ।हामीले पृथ्वीको रक्षा गर्न सक्यौं भने पृथ्वीले पनि हाम्रो रक्षा गर्नेछ । समयमा वर्षा हुनेछ । अधिक वा कम वर्षा भएर बाढी वा खडेरीको समस्या हुने छैन । सुनामीको समस्या रहने छैन । नयाँ र असाध्य रोगहरुको सामना गर्नुपर्ने छैन ।
हिन्दु सभ्याताका अुनयायीहरु भगवान विष्णुले विभिन्न अवतार लिएर पृथ्वी र मानव समुदायको रक्षा गरेको कुरामा विश्वास गर्छन् । सोही विश्वाससँग सम्बन्धित एउटा पौराणिक प्रसंग यस्तो छ । पौराणिक कालमा हिरण्याक्ष नामको एक शक्तिशाली दानव थियो । उनले आफ्नो शक्ति र अहंकारको बलमा समस्त लोकलाई दुःख दिइरहेको थियो नै उसले पृथ्वीलाई ब्रह्माण्डको गहिरो ‘गर्भोदक समुद्र’ को पिँधमा धकेलिदियो । पृथ्वी आफ्नो स्थानबाट अर्काे स्थानमा धकेलिएर समुद्रको पिँधमा पुगेपछि सृष्टिको अस्तित्व नै खतरामा
प¥यो । पृथ्वी र सम्पूर्ण चराचर जगतको रक्षाका लागि भगवान् विष्णुले एउटा बँदेल(बराह) को रूप धारण गरे । समुद्रको पिँधमा गई हिरण्याक्षलाई युद्धमा पराजित गरेर पृथ्वीलाई आफ्नो दाह्रामा राखेर पुनः सुरक्षित स्थानमा स्थापित गरे ।
पृथ्वीको रक्षाको महत्व, यसको अति दोहनका कारण चराचर जगतका लागि उत्पन्न हुने संकट र निवारणका प्रयास उल्लेख गरिएका थुप्रै पौराणिक कथाहरु हिन्दु धर्म ग्रन्थहरुमा पढ्न पाईन्छन् । अझ विहान ओछ्यानबाट उठेर जमिनमा गोडा राख्दा पृथ्वीसँग क्षमा मागेर मात्र टेक्न गरिएका सन्दर्भहरु पनि भेटिन्छन् । यि सबैको अर्थ हो, हामी मानव वा अरु प्राणी जगत सबैलाई चाहिने आवश्यक सबै बस्तु प्रदान गर्ने पृथ्वीको सुरक्षा र सम्मान हामीले गर्नुपर्छ , अति दोहन रोक्नुपर्छ ।
२०औँ शताब्दीयता पृथ्वीले सामना गरिरहेको सबैभन्दा ठुलो संकट भनेको ग्लोबल वार्मिङ (विश्वव्यापी बढ्दो तापक्रम) हो । तथ्याङ्कका अनुसारःपृथ्वीको तापक्रम वार्षिक करिब ०.०२ डिग्रीका दरले वृद्धि भइरहेको छ । यसका कारण उत्तरी ध्रुवका हिउँका चुचुराहरू पग्लिँदै गएका छन् । हिउँ पग्लिएर समुद्रको सतह बढ्दा समुन्द्र किनारका वस्तीहरु जोखिममा परेका छन् । यसैका कारण मौसमी चक्र विग्रिएर कतै बढी पानी पर्ने त कतै खडेरी पर्ने समस्या उत्पन्न भएको छ । सूर्यका हानिकारक पराबैजनी किरण रोक्ने ओजÞोन तह पातलिँदै गएको छ । सुनामी, डरलाग्दा आँधी र अस्वभाविक प्राकृतिक विपदका घटनाहरू बढ्दै गएका छन् । यि सबैको कारण पृथ्वीमा बढ्दै गएको प्रदूषण हो र पृथ्वीलाई प्रदूषित गराउने काम हामी मानव समुदायकै हो । विकासका नाममा हामीले पृथ्वीको माथि अत्याचार गरिरहेका छौं । र त्यही अत्याचारको प्रतिफल विश्व समुदायले भोगी रहेको छ । प्रकृति र पृथ्वीको वेवास्ता गर्दै प्रविधिको पछाडि दौडिरहेको हामीले आफ्नो विनाश मार्ग आफै खनिरहेका छौं भन्ने देखिँदै गएको छ ।
पृथ्वीलाई जोगाउने धर्म हामीले पूरा गर्ने हो भने मात्र पृथ्वीले हामीलाई जोगाउँछ । पृथ्वी जोगाउन हामीले वातावरणिय प्रदूषण नियन्त्रण गर्नु छ । प्लाष्टिकको प्रयोगलाई कम गर्दै लगेर सून्य बनाउनु छ । रासायनिक मल र विषादीको प्रयोगमा कमि ल्याउनु छ । जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानु छ । समग्रमा हामीले हाम्रो सभ्यता बचाइ राख्ने हो भने पृथ्वीलाई थप क्षति हुन बाट जोगाउनु पर्ने छ । यसरी हामीले पृथ्वीको रक्षा गर्न सक्यौं भने पृथ्वीले पनि हाम्रो रक्षा गर्नेछ । समयमा वर्षा हुनेछ । अधिक वा कम वर्षा भएर बाढी वा खडेरीको समस्या हुने छैन । सुनामीको समस्या रहने छैन । नयाँ र असाध्य रोगहरुको सामना गर्नुपर्ने छैन आउनु होस् आजैबाट पृथ्वी जोगाउने धर्म गर्ने तर्फ आजैबाट अग्रसर बनौं । पृथ्वीलाई आमाको संज्ञा दिने हामीे छोराको भूमिका निर्वाह गरी मानव सभ्यताको निरन्तरताको काममा अग्रसर बनौं । किनभने, हामीले पृथ्वीको रक्षा गरे, पृथ्वीले हाम्रो रक्षा गर्नेछ । धर्मो रक्षति, रक्षितः
