व्यास नगरपालिकाले दमौली बजारको अस्तव्यस्त ट्राफिक प्रणालीलाई सुधार्न, बजार क्षेत्रलाई सुरक्षित बनाउन र नागरिकको दैनिकी सहज बनाउने उद्देश्यले लागू गर्ने भनिएको नयाँ ट्राफिक नियम कार्यान्वयन नहुँदै हटेको छ । सरोकारवालाहरूको संयुक्त बैठकले सर्वसम्मत रूपमा १५ दिनका लागि परीक्षण गर्ने भनी गरेको निर्णय सुरुवातकै चरणमा धरमराउनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो । यसले स्थानीय सरकारको निर्णय क्षमता, कार्यान्वयनको फितलोपन र नागरिक अनुशासन हिनतालाई छताछुल्ल पारेको छ ।
दमौली बजारको मुख्य चापलाई नियन्त्रण गर्न सफा सडकमा सवारी पार्किङ निषेध गर्ने, विकल्पमा शाखा सडक तथा अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गर्ने र विभिन्न रुटहरू निर्धारण गर्ने योजना आफैँमा सकारात्मक थियो । तर, सफा सडकमा पार्किङ गर्न नपाउने निर्णय विरुद्ध स्थानीय व्यापारीहरूबाट भएको चर्को विरोध र असंयमित आक्रोशका अगाडि नगरपालिकाले घुँडा टेकेपछि र पृथ्वी राजमार्गको सर्भिस लेन र सफा सडकमा लगाइएको प्रतिबन्ध खुकुलो भएसँगै फेरि पुरानै अव्यवस्था दोहोरिदोहोरिएको छ ।
मूल प्रश्न यहाँ उठ्छः यदि सरोकारवालाहरू सबै बसेर सर्वसम्मत रूपमा निर्णय गरिएको हो भने, कार्यान्वयनको घडीमा पुग्दा त्यो प्रतिबद्धता कहाँ हरायो ? केवल १५ दिनको परीक्षण कालसम्म पनि धैर्यता राख्न नसक्नु र आफ्नो क्षणिक व्यावसायिक स्वार्थका लागि दीर्घकालीन हितको योजनालाई लत्याउनु कत्तिको न्यायसङ्गत हो ?
व्यापारी समुदायले देखाएको तीव्र आक्रोशका कारण नगरपालिका पछि हट्नुलाई कतिपयले उपयुक्त विकल्प ठाने तापनि, यसले स्थानीय सरकारको अदूरदर्शिता र कमजोर इच्छाशक्तिलाई नै उजागर गरेको छ । नियम लागू गर्दा सफा सडकका व्यापारीहरूसँग प्रतिशोध साधिएको जस्तो सन्देश जानु र त्यसको उचित प्रतिवाद वा काउन्सिलिङ गर्न नगरपालिका चुक्नुले प्रशासनको कमजोरी प्रष्ट पार्छ । यदि यो परीक्षण कालभरि निर्णयकर्ता निकाय कार्यान्वयनमा दृढ रहेको भए र यातायात व्यवसायी, व्यापारी तथा नागरिक समाज संयमित भइदिएको भए, यो व्यवस्थापन उचित थियो वा प्रतिशोधपूर्ण भन्ने कुराको वैज्ञानिक परीक्षण हुने थियो ।
सहरलाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन सरकारको कानुन मात्र पर्याप्त हुँदैन, त्यहाँका नागरिक र व्यवसायीहरूको अनुशासन र सहकार्य पनि उत्तिकै अनिवार्य हुन्छ । निर्णय गर्ने तर दबाब आउनासाथ खुट्टा कमाउने नगरपालिकाको शैली र नियमको पालना गर्नुको साटो सडकमै उत्रिएर विरोध गर्ने व्यवसायीको प्रवृत्तिले दमौलीलाई सधैँ अस्तव्यस्त बनाइराख्नेछ ।
केवल दबाबको भरमा निर्णयहरू फिर्ता लिने गर्नु साटो सरोकारवाला सबैसँग पुनः संवाद गरी आवश्यक परे थोरै लचकता अपनाउने तर नियम कार्यान्वयनमा दृढता देखाउनु आवश्यक छ । अर्कोतर्फ, स्थानीय व्यापारी र नागरिक समाजले पनि सहरको बृहत्तर हित र सुन्दरताका लागि आफ्नो व्यक्तिगत वा व्यावसायिक स्वार्थलाई केही हदसम्म त्यागेर नागरिक अनुशासनको परिचय दिनैपर्छ । अन्यथा, दमौली बजार कहिल्यै सुध्रिने छैन र मार अन्ततः त्यहीँका बासिन्दाले भोग्नुपर्नेछ ।
(अ)व्यवस्थित दमौली-सम्पादकीय
previous post
