
वैशाख अन्तिम साता देखि नै प्रतिनिधि सभाका बंैठकहरु सहज चल्न सकिरहेका छैनन् । राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा बीचमै प्रधानमन्त्री उठेर हिँडेपछि यसलाई अस्वाभाविक काम भएको भन्दै प्रतिपक्षी दलहरुले आवाज
उठाए । प्रधानमन्त्री बालेन शाह संसदमा आएर नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिनु पर्ने तथा गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु संसदमा उठेकाले गृहमन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शाह संसदमा आएर ति प्रश्नको जवाफ दिनुपर्ने प्रतिपक्षीको माग रहेको छ ।
तर प्रधानमन्त्री संसदमा उपस्थित भएका छैनन् र जनप्रतिनिधिले उठाएको जनसरोकारका प्रश्नको जवाफ दिन आवश्यक ठानेका छैनन् । यही मेसोमा सत्ताधारी दलका नेता, सांसद, समर्थक र शुभेच्छुक संसदमा प्रश्न गर्ने र प्रधानमन्त्रीको जावाफ माग्नेहरुलाई तमासा गरेको भनिरहेका छन् अनि पागल नामाकरण गरिरहेको छन् ।
प्रश्न सोध्ने नागरिक वा प्रतिपक्षीलाई पागल ठान्ने र आफूलाई मात्र सर्वज्ञानी वा दूधले नुहाएको सम्झने यो प्रवृत्ति नयाँ भने होइन । यो सत्ता र शक्तिको मात लाग्दा देखिने एउटा पुरानो र खतरनाक मनोवैज्ञानिक तथा राजनैतिक रोग हो ।
दशक पनि भएको छैन सरकार माथि प्रश्न गर्ने र आलोचना गर्नेहरुलाई तत्कालिन नेकपा र हाल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली छुद्र गाली गर्थे । आफ्ना कार्यकर्तालाई आलोचक माथि अरिंगाल बनेर झम्टिन आदेश दिन्थे अनि कहिले बघिनी बनेर अक्रमण गर्न अह्राउँथे ।
समाजको राजनीतिक र सामाजिक संस्कार एकचोटि भत्कियो भने त्यसलाई सच्याउन दशकौँ लाग्छ । प्रश्न गर्दा पागल भनिने डरले यदि हामी चुप लाग्यौँ भने, भोलि हामी साँच्चै एउटा पाखण्डी र निरंकुश समाजको दास बन्न पुग्नेछौँ । त्यसैले, यस्ता अराजक प्रवृत्ति विरुद्ध डराएर होइन, झन् सशक्त रूपमा शिष्ट र तार्किक प्रश्नहरू सोधिरहनु नै आजको आवश्यकता हो ।
हाम्रा पौराणीक ग्रन्थहरुको अध्ययन गर्ने हो भने प्रसस्त यस्ता उदाहरण भेटिन्छन् जसमा प्रश्न गर्ने वा जवाफदेहिता खोज्नेलाई पागल करार गरिएको छ । जब–जब कुनै शक्ति वा पात्रमा अहंकार र अन्धभक्ति चरम सीमामा पुग्छ, तब उनीहरूले आफ्ना आलोचक वा प्रश्नकर्तालाई पागल, मूर्ख वा देशद्रोही देख्न थाल्छन् ।
हिरण्यकश्यपु आफूलाई सबैभन्दा शक्तिशाली र भगवान् ठान्थ्यो । जब आफ्नै छोरा प्रह्लादले उसलाई प्रश्न गरे र अर्कै सत्यको अस्तित्व स्वीकार गरे, तब हिरण्यकश्यपुले प्रह्लादलाई पागल र मतिभ्रष्ट भएको घोषणा ग¥यो । आफ्नै छोरालाई तथानाम गाली गर्ने र मार्नेसम्मको हर्कत गरियो, किनकि उसले स्थापित सत्ता र अहंकारमाथि प्रश्न उठाएको
थियो । हिरण्यकश्यपुको नियती के भयो ? हामीले पढेकै छौं । अनि आलोचनाको आलोक मन नपर्ने केपी ओलीको वर्तमान कस्तो छ, त्यो हामीले देखिरहेका छौं ।
दर्शनशास्त्री सुकरातले एथेन्सका शासक र युवाहरूलाई केवल प्रश्न सोध्ने गर्थे । तर तत्कालीन सत्ता र उनका अन्धसमर्थकहरूलाई सुकरातका प्रश्नहरू यति बिझाए कि उनीहरूले सुकरातलाई युवाहरूलाई बिगारेको र पागल÷भ्रष्ट भएको आरोप लगाएर विष पिउन बाध्य पारे ।
लोकतन्त्रको सुन्दरता नै प्रश्न र असहमतिमा लुकेको हुन्छ । फ्रान्सेली दार्शनिक भोल्टेयरको एउटा प्रसिद्ध भनाइ छ– तिमीले भनेका कुरासँग म असहमत हुन सक्छु, तर तिमीलाई बोल्ने अधिकारको रक्षाका लागि म आफ्नो ज्यान दिन सक्छु । तर रास्वपाका नेता तथा कार्यकर्ताहरु यतिबेला फरक विचार राख्नेहरुलाई घिसार्ने, गलहत्याउने भन्दै छन् । कोही गेटमा स्वागत गर्न नआएको भनेर हप्कीदप्की गर्दैछन् । कुनै दल वा नेताको समर्थनमा अन्धो भएर प्रश्नकर्तालाई पागल देख्नु हप्कीदप्की गर्नु, घिसार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बुलिङ गर्नु राजनीतिको सबैभन्दा कुरुप पाटो बनेको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रश्न उठाउनु प्रतिपक्षको धर्म र प्रश्नको जवाफ पाउनु नागरिकको अधिकार हो । देशको अभिभावक मानिने प्रधानमन्त्री आएर जनताका प्रतिनिधिले उठाएका प्रश्नको उत्तर दिनु उनको कर्तव्य हो । तर, प्रश्न उठाउने बित्तिकै राँची लैजानुपर्छ भन्दै ओर्लने समर्थकहरू देख्दा तिनको राजनीतिक चेतनाको स्तरमा प्रश्न किन नगर्ने ?
जब कसैसँग तर्क र तथ्य सकिन्छ, तब उसले गालीगलौज र चरित्रहत्याको सहारा लिन्छ । संसदको विरोधलाई पागलपन देख्ने चस्माले भोलि आफ्नै स्वतन्त्रतालाई पनि निल्नेछ भन्ने चेत यी अन्धसमर्थकहरूमा हराएको देखिन्छ ।
अहिले नयाँ भनिएका वा पुराना, जुनसुकै दलका समर्थकहरूमा पनि आफ्नो नेताको आलोचना सुन्नै नसक्ने असहिष्णुता बढेको छ । कसैले फेसबुक वा ट्विटरमा प्रश्न सोध्यो कि, हजारौँको संख्यामा फेक वा सक्कली आईडीहरू ओइरिएर रिप लेख्ने, आमा–बहिनीलाई जोडेर तथानाम गाली गर्ने प्रवृत्ति मौलाएको छ । यसको उद्देश्य प्रश्न सोध्ने मान्छेलाई यति धेरै मानसिक तनाव दिनु हो कि, ऊ डरले अर्को पटकदेखि बोल्नै छोडोस् । वा सुकरातको नियतीमा पुगोस् ।
यो संस्कार लोकतन्त्र होइन,लोकप्रियतावादको सहउत्पादन हो । जहाँ नेतालाई भगवान् र समर्थकलाई साइबर सैनिक बनाइन्छ । नेताले जे गरे पनि ठीक, र अरूले प्रश्न गरे ती चोर, भ्रष्ट वा पागल हुने भाष्य निर्माण गरिँदैछ । नयाँ भनिएका शक्तिहरूले त झन पुरानो विकृति सुधार्नुपर्नेमा, उनीहरूका समर्थकहरू झन् बढी उग्र र अमर्यादित देखिनुले बोक्रा नयाँ, गुदी पुरानो भन्ने भनाइलाई चरितार्थ गर्छ । पहिले यस्ता प्रवृत्ति राजा–महाराजा वा निर्दलिय पञ्चायत व्यवस्थामा दरबारीयाहरूमा हुन्थ्यो, जसले राजाको विरोध गर्नेलाई अराष्ट्रिय तत्व भन्थे । आज त्यही प्रवृत्ति नाम फेरेर सामाजिक सञ्जालका ट्रोल र अन्धभक्तहरूमा सरेको छ । नाम र समय फरक तर प्रवृत्ति उही÷उस्तै ।
नागरिकले बुझ्नुपर्छ कि नेताहरू फेरिइरहन्छन्, तर समाजको राजनीतिक र सामाजिक संस्कार एकचोटि भत्कियो भने त्यसलाई सच्याउन दशकौँ लाग्छ । प्रश्न गर्दा पागल भनिने डरले यदि हामी चुप लाग्यौँ भने, भोलि हामी साँच्चै एउटा पाखण्डी र निरंकुश समाजको दास बन्न पुग्नेछौँ । त्यसैले, यस्ता अराजक प्रवृत्ति विरुद्ध डराएर होइन, झन् सशक्त रूपमा शिष्ट र तार्किक प्रश्नहरू सोधिरहनु नै आजको आवश्यकता हो ।
राजनीतिमा प्रश्न गर्नेहरूलाई पागल करार गर्ने, सामाजिक सञ्जालमा सामूहिक रूपमा जाइलाग्ने र फरक मत राख्ने बित्तिकै अरिंगाल बनेर चिल्न, बघिनी बनेर झम्टिन दिइने निर्देशन वा पागल भन्ने, तमासा देख्ने, रिप लेख्ने अनि तथानाम गाली गर्ने प्रवृत्तिले अहिले हाम्रो विमर्शको स्तरलाई निकै तल्लो तहमा पु¥याएको प्रष्ट हुन्छ ।
