दमौली/गणतन्त्र दिवसको अवसर पारेर दमौलीमा झण्डै एक हजार बालबालिका तथा सयभन्दा बढी बयस्क र वृद्धवृद्धाको हार्ट स्क्रिनिङ गरिएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजना तथा प्रतिष्ठान केन्द्रको प्राविधिक सहयोगमा निर्मल मावि, जलदेवी मावि तथा शिवपाञ्चायन मावि र बाराही आवासिय माविमा अध्ययनरत बालबालिकाको हार्ट स्क्रिनिङ सम्पन्न भएको प्रतिष्ठान तनहुँका सभापति कृष्णचन्द्र पाण्डेले बताए । पाण्डेका अुनसार चारवटा विद्यालयका गरी झण्डै एक हजार बालबालिकाको हार्र्ट स्क्रिनिङ गरिएको जानकारी गराउँदै सभापति पाण्डेले सयजना जति वयक तथा वृद्धवृद्धाको समेत स्क्रिनिङ र थप परिक्षण गरिएको थियो ।

उक्त अवसरमा स्क्रिनिङ गरिएका मध्ये झण्डै सय जनाको थप मुटु परिक्षण आवश्यक देखिएकाले इसिजी गरिएको थियो । थप परिक्षण गरिएका मध्ये धेरैको सामान्य अवस्था रहेकोे र केहीको भने तुरुन्त उपचार प्रक्रिया थाल्नु पर्ने तथा नियमित उपाचरमा रहनु पर्ने देखिएको परिक्षणमा सहभागी प्राविधिक टोलीले जानकारी गराएको थियो ।
थप उपचार आवश्यक भएका बालबालिका तथा अन्यलाई प्रतिष्ठानले उपचारमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदै सभापति पाण्डेले स्क्रिनिङ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने जिल्ला समन्वय समिति तनहुँ, विद्यालयहरु तथा प्रतिष्ठान केन्द्रका प्रति कृतज्ञता प्रकट गरेका छन् ।
बालबालिकामा मुटुमा प्वाल हुनु वा मुटुको रगत बग्ने नलीहरू सही तरिकाले नबन्नु जस्ता समस्या जन्मजात नै हुन सक्ने तथा स्क्रिनिङ गर्दा यस्ता समस्या बेलैमा थाहा हुने र तुरुन्त उपचार गर्न सकिने नेपाल हृदयरोग प्रतिष्ठानका पूर्व अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले बताए ।
आकस्मिक हृदयघातबाट बचाउन पनि स्क्रिनिङ उपयोगी हुने बताउँदै वरिष्ठ सर्जन प्रेमराज बैद्यले भने, कतिपय बालबालिका वा किशोर–किशोरीहरूमा मुटुको मांसपेशी असामान्य रूपमा बाक्लो हुने समस्या हुन सक्ने र यसले अचानक बेहोस हुने वा ज्यान जाने जोखिम हुन्छ । स्क्रिनिङले यो खतरालाई रोक्न मद्दत गर्छ ।
स्क्रिनिङ टोेलीमा सहभागी बाल मुटुरोग विशेषज्ञ उर्मिला शाक्यले मुटुको समस्या भएका सबै बालबालिकामा सुरुवाती लक्षणहरू नदेखिने हुँदा खासगरी बालबालिले हार्ट स्क्रिनिङ गराउनु उपयुक्त हुने बताइन् । शाक्यका अुनसार बाहिरबाट नदेखिने लक्षणलाई स्क्रिनिङले देखाउँछ र समयमै उपचार सम्भव हुन्छ ।
बालरोग विशेषज्ञ शौरभ श्रेष्ठ बालबालिकाको राम्रो शारीरिक विकासका लागि पनि स्क्रिनिङ अत्यन्त फलदायी हुने बताउँछन् । श्रेष्ठका अुनसार मुटुमा समस्या भएका बालबालिकाको शरीरले पर्याप्त अक्सिजन र पोषण नपाउने भएकाले उनीहरुको तौल र उचाई उपयुक्त ढंगले बढ्दैन त्यसैले पनि स्क्रिनिङ गरी मुटुमा समस्या देखिएमा समयमै उपचार गर्न सकिन्छ र उपयुक्त शारीरिक विकास हुन्छ ।
निर्मल मावि र बाराही आवासिय माविमा सञ्चालित स्क्रिनिङ क्याम्पमा मुटुरोग विशेषज्ञ, सर्जन, बाल मुटुरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, ऐनेस्थेशियन लगाएत १६ जनाले सेवा प्रदान गरेका थिए ।
