दमौली/जिल्ला सदरमुकाम दमौलीको अस्तव्यस्त ट्राफिक प्रणालीलाई सुधार्न र बजार क्षेत्रलाई सुरक्षित बनाउन व्यास नगरपालिकाले जेठ १० गते देखि लागू गर्ने भनेको नयाँ ट्राफिक नियम लागू नहुँदै आँशिक हटेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा जनप्रतिनिधि, प्रशासन, प्रहरी, उद्योगी र यातायात व्यवसायी सहितका सरोकारवालाहरूको संयुक्त बैठकले १५ दिने नयाँ ट्राफिक नियमको परीक्षण गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यो कदमले दमौली बजारको स्वरूप बदल्ने र नागरिकको दैनिकी सहज बनाउने अपेक्षा गरिएको थियो ।

बजारको मुख्य चापलाई नियन्त्रण गर्न नगरपालिकाले पार्किङ र रुट निर्धारणमा व्यापक फेरबदल गर्ने निर्णय भएको थियो । सफा सडकमा दुवैतर्फबाट गाडी गुड्ने भएकाले सवारी पार्किङ गर्न नपाइने व्यवस्था गरिएको थियो । विकल्पमा शाखा सडकहरू, नगरपालिकाको पार्किङ ग्राउन्ड र अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गरिएको थियो ।
सफा सडकमा पार्किङ गर्न नपाउने भन्ने निर्णयमा स्थानीय व्यापारीको चर्काे विरोध भएसँगै पार्किङ खुल्ला भएको छ । यसले स्थानीय सरकारको निर्णय प्रक्रिया र कार्यान्वयन क्षमता माथि प्रश्न उठेको छ । यो सँगै स्थानीय जनप्रतिनिधिको अदुरदर्शिता पन प्रकट भएको छ ।
लमजुङतर्फ चल्ने गाडीहरू बाघभञ्ज्याङ हुँदै सिमलटारबाट बसपार्क छिर्नुपर्ने, काठमाडौँ र मुग्लिन चल्ने गाडीहरू सिधै बसपार्क जानुपर्ने र फर्कँदा यात्रु लिन ५ मिनेट मात्र
पाउनेछन् । लामो दूरीका गाडीलाई यात्रु चढाउन र ओराल्न बढीमा २ मिनेट मात्र समय दिइने भन्ने निर्णय पनि प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । ।
पोखरा, रिसिङ, घिरिङ तथा स्थानीय क्षेत्रमा चल्ने म्याजिक, माइक्रो, ट्याक्सी र बसहरू तोकिएका चोकहरूमा १÷१ वटा मात्र क्युमा बस्न पाउने, बाँकी गाडी अनिवार्य रूपमा बसपार्क जानु पर्ने, मुख्य चोकहरूमा बढीमा २÷२ वटा मात्र अटो राख्न पाइने निर्णय पनि अलपत्र पर्ने अवस्था बनेको छ । पृथ्वी राजमार्गको सर्भिस लेनमा मोटरसाइकल र स्कुटर पार्किङमा लगाइएको प्रतिबन्ध खुकुलो भएको छ ।
पृथ्वी राजमार्गबाट ग्रिनसिटी टोल हुँदै भेटघाट चोक तथा पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षी चोक जाने तर्फ मात्र तय गरिएको भएपनि कार्यान्वयनमा आउन सकेको
छैन । यसैगरी पुरानो बैंक लाइन न्यूरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्गतथा प्रहरी कार्यालयको दक्षिण–पश्चिम चोकबाट पृथ्वी राजमार्ग दुर्गा मन्दिरतर्फ निस्कने तर्फ मात्र प्रयोग गर्ने तय भएको भएपनि प्रभाकारी कार्यान्वयन हुन सकेको छैन ।
दमौली बजारलाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन व्यास नगरपालिकाले अख्तियार गर्न खोजेको यो नीति परिक्षण कालसम्म धैर्यता गरेर आधार
कारण सहित विरोध गर्न सकेको भए नागरिक अनुशासन रहन्थ्यो । व्यास नगरपालिकाको निर्णय कार्यान्वयन नहुँदा सफा सडकका व्यापारीसंग प्रतिषोध लिएको सन्देश गयो । व्यापारी समुदायले देखाएको असंयित आक्रोसले व्यास नगरपालिका पछि हट्नु नै उपयुक्त विकल्प थियो । सुरुवाती १५ दिनको यो परीक्षण कालमा निर्णयकर्ता निकाय निर्णय कार्यान्वयनमा प्रतिबद्ध, यातायात व्यवसायी, नागरिक समाज, व्यापारी र आमसर्वसाधारण संयमित बनिदिएको भए नगरपालिकाको प्रतिषोध हो वा उचित व्यवस्थापन हो परिक्षण हुने थियो ।
