
हिन्दुहरुको पवित्र ग्रन्थ महाभारतको आदिपर्वमा माण्डव्य ऋषिको कथा आउँछ । उनी कठोर तपस्यामा लीन भइरहेका बेला केही चोरहरू राजाका सैनिकबाट बच्न ऋषिको आश्रममा लुक्छन् । चोरहरुलाई पछ्याउँदै आएका सैनिकले ऋषि माण्डव्यलाई सोध्दा मौनव्रतमा रहेका कारण केही बोल्दैनन् । सैनिकहरूले ऋषिलाई नै चोरका संरक्षक ठानी समातेर राजाकहाँ पु¥याउँछन् र राजाले उनलाई मृत्युदण्ड दिन्छन् ।
माण्डव्यले यमलोक पुगेपछि यमराजसँग सोध्छन्, “के गल्ती गरेको थिएँ र मैले यति ठूलो सजाय पाएँ ?” यमराजले माण्डव्य सानो बालक छँदा एउटा कीरालाई सिन्काले घोचेको अपराधको सजाय पाएको बताउँछन् ।
पौराणिक आख्यान र महाकाव्यहरूमा नगरेको गल्तीको सजाय भोग्न विवश मानिसका कथा र सन्दर्भहरु प्रसस्त भेटिन्छन् । समुद्र मन्थन र कालकूट विषको प्रसङ्गपनि हिन्दु धर्मग्रन्थमा पाइन्छ । अमरत्व र वैभवका लागि देव र दानवहरूबीच प्रतिस्पर्धामा समुन्द्र मन्थन भयो, तर त्यस क्रममा निस्किएको कालकूट विषको राप र विनाशको मार भने संसारका निर्दोष र निरपराध प्राणीहरूले भोग्नुप¥यो ।
हामी नेपालीले भाद्र १० मा ठ्याक्कै त्यही नियती भोग्यौं, जुन नियती ऋषि माण्डव्यले भोगको थिए । अनि कालकूट विषको राप र ताप विश्व समुदायले भोग्नु परेको थियो । इतिहास र पुराणका यी कथा केवल प्राचीन आख्यान मात्र होइनन्, आज २१ औँ शताब्दीको आधुनिक युगमा पनि नेपाली समाज र विशेषगरी हिमाली क्षेत्रका बासिन्दाहरूले यस्तै अकृत अपराधको दण्ड अर्थात नगरेको अपराधको सजाय व्यहोर्न बाध्य छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण र विनाशकारी बाढी यसैको पछिल्लो र दर्दनाक जीवन्त उदाहरण हो ।
भदौ १० गतेको भोटेकोशी बाढीले सीमावर्ती तातोपानी, लिपिङ, बाह्रबिसे र आसपासका तटीय क्षेत्रमा भीषण ताण्डव मच्चायो । आँखै अगाडि हेर्दाहेर्दै नदीले दर्जनौँ घर, पक्की पुल, जलविद्युत् आयोजना र व्यापारिक संरचनाहरू बगाएर लग्यो । यो आलेख तयार पार्दासम्म हजारबढीको ज्यान गएको छ, त्यति नै संख्यामा वेपत्ता छन् भने खर्बाैं रुपैयाँको क्षति भएको छ ।
हामीले जीवनभर मिहिनेत गरेर कमाएको सम्पत्ति र ओत लाग्ने छाना केही मिनेटमै भोटेकोशीको धमिलो छालमा बिलायो । न त हामीले वातावरण विनाश गर्यौँ, न त कुनै ठूला कारखाना नै खोल्यौँ । तर, अरू कसैको गल्तीका कारण आज हामी आफ्नै थातथलोमा सुकुम्बासी बनेका छौँ ।
तथ्याङ्क अनुसार भोटेकोशी र यसका सहायक नदीहरूमा बारम्बार आउने यस्ता आकस्मिक बाढी र पहिरोले हरेक वर्ष खर्बौँ रूपैयाँको भौतिक पूर्वाधार नष्ट गर्नुका साथै सयौँ निर्दोष नागरिकको ज्यान लिने गरेको छ । भोटेकोशी केवल एउटा नदी मात्र होइन, चीनको तिब्बतबाट बगेर आउने अन्तरसीमा नदी भएकाले माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फोट वा अत्यधिक वर्षा हुनासाथ त्यसको सोझो असर नेपालका निमुखा नागरिकले भोग्नुपर्छ ।
विश्वका वैज्ञानिक अनुसन्धानका रिपोर्टहरूले प्रस्ट पारिसकेका छन् कि औद्योगिकीकरणका नाममा जीवाश्म इन्धन (कोइला, खनिज तेल) को अत्यधिक दोहन गर्ने धनी तथा शक्तिशाली राष्ट्रहरू नै कार्बन उत्सर्जनका प्रमुख जिम्मेवार हुन् । यता नेपालजस्तो हिमाली र अल्पविकसित देशको विश्वव्यापी कार्बन उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा पनि कम छ । तर बाल्यकालमा किरालाई सिन्कोले घोचेको अपराधमा मृत्युदण्डको सजाय पाउने माण्डव्य जस्तै सानो वा नगन्य कार्वन उत्सर्जन गर्ने हामी हजारौंको ज्यान जाने, हजारौं बेपत्ता हुने र खर्बाैंको क्षति हुने जस्तो कठोर सजायको भागी भएका छौं ।
हाम्रा हिमालहरूले विश्वका लागि वातावरणीय सन्तुलन कायम राख्ने काम गरिरहेका छन् । तर, ग्लोबल वार्मिङका कारण विश्वव्यापी औसतभन्दा हिमाली क्षेत्रमा तापक्रम तीव्र गतिमा बढिरहेको छ । नतिजास्वरूप, हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, नयाँ–नयाँ हिमतालहरू बनिरहेका छन् र तिनीहरू फुट्ने जोखिम बढेको छ । गल्ती धनी र औद्योगिक राष्ट्रहरूले गरे, त्यसको लाभ उनीहरूले नै उठाए, तर त्यसको प्रत्यक्ष सजाय र विनाशको मार भने भोटेकोशी किनारका निर्दोष नेपाली नागरिकहरूले आफ्नो जीवन, घरबार र सर्वस्व गुमाएर भोग्नु परिरहेको छ ।
स्वीडेनकी २३ वर्षिय युवा जलवायु अभियन्ता ग्रेटा थुनबर्गलाई सम्झनु पर्ने भएको छ । थुनबर्गले विश्वका शक्तिशाली मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको मुख्य मुद्दा हामीले पनि जोडदार रुपमा उठाउने बेला भएको छ । ग्रेटाले पटक–पटक विश्वका धनी र औद्योगिक राष्ट्रहरूलाई चेतावनी दिँदै भनेकी छन् कि जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन, यो एउटा ठूलो नैतिक र सामाजिक अन्याय हो । ग्रेटाको विचारमा, नेपालजस्ता साना र कम कार्वन उत्सर्जन गर्ने हिमाली देशहरूमा आउने यस्ता बाढी–पहिरोका विपत्तिहरूमा धनी राष्ट्रहरूले दिने सहयोग कुनै दया वा वैदेशिक सहायता हुन
सक्दैन । यो त उनीहरूले फैलाएको प्रदूषणका कारण जनधनको क्षति व्यहोर्न विवश देशहरूले पाउनुपर्ने क्षतिपूर्ति हो । हामीले अब विश्व समुदाय समक्ष दह्रो गरी भन्नु पर्ने भएको छ, हाम्रो गल्तीविना नै हामीमाथि थोपरिएको यो विनाशकारी संकटको जिम्मेवारी धनी राष्ट्रहरूले लिनैपर्छ ।
पूर्वीय दर्शनमा एउटा उखान छ “पाप एउटाको, धुरी अर्काको । भोटेकोशी बाढीले सिर्जना गरेको त्रासदी र स्थानीय बासिन्दाको पीडाले हामीलाई पुनः यही यथार्थ सम्झाएको छ । पौराणिक कालमा देव–दानवको होडबाजीमा निर्दोष प्राणीहरू कालकूट विषको शिकार भएझैँ, आज धनी देशहरूको औद्योगिक होडबाजीमा नेपालका हिमाली जनता जलवायु संकटको बलिदानी बनिरहेका छन् ।
अब हामीले आफूलाई केवल विपत्तिको मूकदर्शक वा शिकार मात्र मानेर मौन बस्नु हुँदैन । भोटेकोशीको विनाश र स्थानीयको चित्कारलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै, ग्रेटा थुनबर्गजस्ता हाम्रो पक्षमा आवाज उठाउने अभियन्ताहरूको स्वरसँग स्वर मिलाएर हामीले विश्व समुदायसामु स्पष्ट सन्देश दिनुपर्छ “नगरेको गल्तीको सजाय हामी भोग्ने छैनौँ, हामीलाई दया वा भीख होइन, जलवायु न्याय चाहिन्छ ।” यो आवाज संयुक्त
राष्ट्रको वैठकमा उठ्न सकोस् ।
