
एम ए अर्थशास्त्र
स्थानिय पालिकाले बनाउने विकास योजना जति महत्वपूर्ण हुन्छ त्यसको कार्यान्वयनको पक्ष पनि त्यतिकै्र सबल र सक्षम हुनुपर्दछ । योजना तर्जुमा गर्ने अधिकारीले तर्जुमा गर्दा नै आइपर्ने समस्याको पूर्व अनुमान गर्नुपर्दछ । योजना तर्जुमा पछि कार्यान्वयनमा जाँदा यसमा आउन सक्ने वाधा अड्चनको पूर्व प्रभावकारी अनुगमन र मूल्यांकन गर्न सकिन्छ । योजना तर्जुमाको कार्यान्वयन पक्ष राम्रो भएन भने यस्ता कार्यको कुनै सार्थकता हुँदैन । तसर्थ योजना निर्माणको चरणमा उद्देश्य के, किन, कसको लागि, कसरी, कहिले, कसले, कति गर्ने, कसरी सम्पन्न गर्ने जस्ता कुराहरुमा स्थानिय पालिकाका वडा अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष, योजना अधिकारी वा कार्यकारीको बीचमा धनिभूत छलफल गरेपछि मात्र त्यसको निस्कर्ष, निचोड, निकाली जनता बचि अन्तरक्रिया गरी सोबाट काँटछाँट गरी कार्यान्वयन तहमा लैजानु पर्दछ । यस्तो छलफल अन्तरक्रियाबाट छनौट भएको योजनामा जनसहभागिता जुट्न गै त्यसको प्रभावकारी परिणाम निस्कन्छ । योजनाको कार्यान्वयन पछि जनताको आमस्तर, जिवनस्तर, सोचको शैली, सामाजिक भाइचारा मेलमिलापमा एकता आई हौसला मिलेको हुन्छ । त्यस ठाउँमा बसोबास गर्ने मानिसहरु स्वाबलमबी, परिश्रमि, सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका हुन्छन् । समाज रुपान्तरणको दिसातर्फ मोडिन्छ । यसरी संम्बृद्ध गाउँपालिका वा वार्ड बन्न थाल्दछ ।
तर वर्तमान समयमा हाम्रा गाउँपालिका र नगरपालिकाले आफ्नो क्षमताले नभ्याउने ठूला ठूला कार्यक्रम बनाइएका छन् । जति ठूलो कार्यक्रमको परिकल्पना गरिन्छ त्यतिनै तयारी कम हुन्छ र सार्वजनिक सेवामा रहेका राष्ट्रसेवक वा नियुक्त गरिएका कर्मचारी प्रतिस्पर्धाको आधारमा नभइ भनसुन, आफन्त, नातेदार, आसेपासेहरु नियुक्त गरिन्छ । यस्तो गर्नाले कार्यक्रम कार्यान्वयनमा त्रुटि हुन्छ बढि खर्चिलो हुन्छ र खराब कार्यान्वयन हुन्छ जसबाट समाजले प्रतिफल पाउँदैन । असन्तुष्टी बढ्दछ । झै झगडा, बेमेल, असहिषुण, मन मुटाब बढ्न गै समाज विषक्त हुन्छ । समाज विशेषमा द्वेषको भावना सृजना हुन्छ ।
प्रत्येक पालिकाले प्रकाशित गर्ने ‘नीति तथा कार्यक्रम’ प्रकाशित योजना एक गम्भीर दस्ताबेज हो, किनभने यसमा उल्लेख भएका कुरा पालिकाले गर्नुपर्दछ र नभएका कुरा गर्नु पर्दैन । तर बनाइएका योजना ‘झ्याल सजाउने ऐना’ (Window dressing) को रुपमा जनतालाई भोट बटुल्ने कामलाई प्रभावित गर्न बनाइएका योजनाले आफ्नो प्रतिज्ञा पुरा गर्न सक्दैन । यसबाट योजना असफल हुन्छ । जनतामा असन्तुष्टि बढ्दछ । तसर्थ योजना कार्यान्वयन भन्दा योजना तर्जुमामा बढी जोड दिनुपर्दछ । वर्तमान समयमा प्रत्येक नागरिकले पुराना असफल, असक्षम, अविवेकी, नालायक, बेकम्बा, बेइमान, जनप्रतिनिधिलाई बिदाइ गर्दै नयाँ जनप्रतिनिधिको खोजी गरिरहेका छन् । पुराना प्रतिनिधिलाई पटक पटक सुध्रिने मौका अवसर दिंदा दिंदै नसच्चिएका कारण नयाँ खोजी कार्य भै सकेको छ । कुशल, सक्षम, विवेकशिल, ज्ञान, सीप, क्षमता, उर्जावान क्षमता भएका भएका व्यक्ति प्रत्येक पालिकामा निर्वाचित हुनेमा कुनै द्विविधा छैन ।
विकासलाई सहि दिसाहिन राजनैतिक स्थिरता, राजनैतिक नेतृत्व दक्ष हुनाको साथै पारदर्शी प्रशासनिक कार्यकारी प्रशासन हुनु अनिवार्य छ । त्यसैले भनिन्छ देशको प्रशासन यन्त्र ऐना जस्तो सफा र छर्लङ्ग हुन अनिवार्य छ । सक्षम राजनैतिक नेतृत्वले आफ्नो नियन्त्रण बाहिर प्रशासन यन्त्रलाई ज्ञान दिन हुँदैन । जसबाट भ्रष्टाचार र चुहावट नियन्त्रण हुन्छ । स्वच्छ प्रशासन यन्त्र स्वचालित भएको अवस्थामा विकासले आफ्नो बाटो लिइ Theory of maximum social Advantage को गति पकडदछ । जसबाट जनता सुखि र खुसि हुन थाल्दछन् ।
