विभिन्न दल, स्वतन्त्र र मनोनित गरी २० सांसद बिदा हुँदै
रमेश विकल
फागुन २० बाट रिक्त हुने राष्ट्रिय सभाका २० सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुने भएको छ । सदस्यहरूको पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार माघ ११ मा निर्वाचन हुने लागेको हो ।
आगामी फागुन २० गते एमालेका ८, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना तथा मनोनित १ गरी २० सांसदको पदावधि सकिँदै छ । मनोनित विमला राई पौड्याल बाहेके १९ सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
फागुन २० मा ६ वर्ष पदावधि सकिएर बिदा हुन लागेका एमालेबाट निर्वाचित सांसदहरुमा राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राई रहेका छन् ।
यसैगरी कांग्रेसका पदावधि सकिने चार सांसदमा तनहुँका प्रकाश पन्थ, कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा र जितेन्द्रनारायण देव रहेका छन् । माओवादीका महेशकुमार महरा, विना पोखरेल र हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चपाईँ र सिंहबहादुर विश्वकर्माको पदावधि पनि फागुन २० मा सकिँदैछ ।
यसैगरी फागुन २०मा जसपाबाट निर्वाचित सांसद प्रमिलाकुमारी यादव, तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि सकिँदैछ ।
निर्वाचन आयोगका अनुसार माघ ११ मा हुने निर्वाचनले कोशी प्रदेशबाट महिला र अन्य गरी २, मधेशबाट महिला र अन्य गरी २, वागमतीबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट गरी कूल ४, गण्डकीबाट महिला, अल्पसंख्य र अन्य गरी ३, लुम्बिनीबाट महिला, अन्य गरी २, कर्णालीबाट महिला, दलित, अन्य गरी ३ र सुदूरपश्चिम प्रदेशबाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूदाय र अन्य गरी कूल ३ सदस्य चयन गर्नेछ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तहका गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिका÷उपमहानगर÷ महानगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाताको रुपमा रहने छन् तर मतभार भने फरक फरक हुनेछ ।
निर्वाचन आयोगका अनुसार, प्रदेशसभाका सदस्यहरूको मतभार ५३ र स्थानीय तहका मतदाताको मतभार १९ गणना हुनेछ ।
६० सदस्य रहने राष्ट्रिय सभामा १७ सदस्य भएको एमाले सबैभन्दा ठूलो दल हो । तर वर्तमान गठबन्धन कायम रहेमा एमालेबाट निर्वाचित ८ सदस्य त घट्ने छन् नै राष्ट्रपतिबाट मनोनित हुने सदस्य समेत गठबन्धनले आफ्नो दलबाट सिफारिस गर्ने भएपछि एमालेको लागि अर्काे एक सदस्य घाटा लाग्नेछ ।
यो संगै एमाले राष्ट्रिय सभामा समेत दोस्रो ठूलो दलमा सीमित हुनेछ ।