दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा प्रशासन कार्यालयमा धर्ना दिएको हो ।
धर्ना कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी, सदस्य एवं विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
शाखाले यहि जेठ २५ गते सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई हस्ताक्षर बुझाएको थियो । सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय विरुद्ध शाखाले हस्ताक्षर संकलन गरेको थियो । शाखाको आयोजनामा जेठ २९ गते समेत सोही समयमा प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।
