बलियो सरकार हुँदा विवाद समाधान हुने अपेक्षा
रमेश विकल
दुइ छिमेकी भारत र चीनको ठूल्दाइ प्रवृत्तिका कारण कालपानी लिपुलेकको मुद्दा फेरी बल्झिएको छ ।
भारत र चीनले हाम्रो भूमिमा रहेको यो नाकालाई आउँदो जुन महिनाबाट द्विपक्षिय सल्लाहमा सञ्चालनमा ल्याउने घोषणा गरेसँगै यो मुद्दा बल्झिएको हो । यो विषयलाई लिएर नेपालले भारत र चीन दुवैतर्फ कुटनीतिक नोट पठाएको छ । भारतको विदेश मन्त्रालयले गत विहिबार अर्थात अप्रिल ३० तारिखमा विज्ञप्ती जारी गर्दै आगामी जुन र अगष्ट महिनामा कालापानी लिपुलेक नाका हुँदै भारतिय तिर्थयात्रीलाई चीनमा पर्ने कैलाश मानसरोवरको यात्रामा पठाउने घोषणा गरेको थियो । यो खबरसँगै नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूमि भएको उल्लेख गर्दै गत आइतबार विज्ञप्ती जारी गरेको थियो ।

दुई शक्तिशाली छिमेकी भारत र चीनको पछिल्लो कदमका कारण नेपालको रणनीतिक महत्वको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा पुनः बल्झिएको छ । नेपालले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरे पनि दुवै छिमेकीले यसलाई बेवास्ता गर्दै आएपछि नेपालको सार्वभौमिकतामाथि चुनौती थपिएको छ ।
भारतले नेपाली भूमि दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर तिब्बतको मानसरोवर जाने सडक निर्माण सम्पन्न गरी उद्घाटन गरेपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार आएको थियो ।
भारतसँगको सीमा विवाद चर्किएकै बेला भद्र छिमेकी भनिएको चीनले समेत नेपालको संवेदनशीलतामाथि चोट पु¥याएको थियो । चीनले सन् २०२४ मा सार्वजनिक गरेको आफ्नो अद्यावधिक नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सालाई स्वीकार नगरी पुरानै नक्सा प्रयोग गरेको थियो ।
सन् २०१५ मा नेपाललाई जानकारी नै नदिई लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने सहमती गरेका भारत र चीनका प्रति नेपाली जनस्तरमा आक्रोश उत्पन्न भएको थियो । हाम्रो भूमिमा एकतर्फी सडक खोल्ने भारतको व्यवहार तथा सार्वभौम देशले प्रकाशन गरेको नक्सा अस्वीकार गर्दै पुरानै नक्सा सार्वजनिक गर्ने चीनको व्यवहार तथा यस पटकको व्यवहारले आम नेपालीमा ति देशका प्रति आक्रोेश विस्तार भएको छ ।
झण्डै दुइतिहाई जनमत सहितको वर्तमान सरकारले राजनैतिक दल तथा नेपालीको सामूहिक साथ र सहयोग र समर्थनमा यो मुद्दालाई किनारा लगाउने र नक्सामा मात्र होइन भोगाधिकारमा पनि लिपुलेक, कालपानी र लिम्पियाधुरा हाम्रै हुने वातावरण निर्माण गर्ने आशा गर्न सकिन्छ ।
