विशेषसम्वाददाता
स्थानीय तहले काम गर्न थालेपछि सदर मुकामको पहिचानगत अस्तित्व नरहने धेरैको अनुमान थियो । मालपोत कार्यालय र अदालतले केही हदसम्म सदरमुकामको अस्तित्वलाई बचाई राखेको आमबुझाई रहेको छ । होटल व्यवसायी, घरबहालमा लगाउने गरी घर निर्माण गरेका घरधनीहरु, व्यापार व्यवसाय गरेका साहू महाजनहरुको बुझाई पनि सदरमुकामको पहिलाको पहिचानमा गिरावट आएको भन्ने छ ।
सदरमुकाममा जिल्ला स्तरिय कार्यालय रहँदा एउटा कामलाई आउँदा धेरै काम गर्न पाउने र भ्याउने आमनागरिकका लागि सुविधाको कुरा हो । तर यातायात कार्यालय बन्दिपुरको विमलनगर पुग्दा सदरमुकामवासी बेखबर बनेको टिकाटिप्पणी चलिरहेकै बेला फेरी अर्को जिल्ला कार्यालय सदरमुकामबाट बाहिरिदै गरेको विभिन्न सञ्चार माध्यम, स्रोत र सामाजिक सञ्जालबाट पुष्टि हुँदै आएको छ । स्रोतका अनुसार तनहुँ जिल्ला प्रहरी प्रमुख अवदेश विष्ट ट्राफिक कार्यालयका लागि सदरमुकाममा जग्गा व्यवस्थापन तर्फ सरोकार निकायले कुनै चासो नदेखाएपछि बन्दिपुरको डुम्रे वा आँबुखैरेनी तर्फ उपयुक्त जग्गाको खोजीमा बुधबार त्यस तर्फ गएको बताईन्छ । भाडामा चलिरहेको कार्यालय सडक विस्तारका क्रममा सर्न परेपछि स्थायी व्यवस्थापन गर्न प्रहरी प्रमुखले सक्रियता देखाएको बुझिएको छ ।
सदरमुकाम दमौली बजारबाट कार्यालय बाहिरिने क्रम एक पछि अर्को दोहोरिदै ट्राफिक कार्यालय पनि सर्न लागेको तर्फ जिज्ञासा राख्दा पूर्व मन्त्री एवं माननीय साँसद शंकर भण्डारीले यो समस्याको बारेमा आफूलाई कतैबाट कुनै पारामर्श छलफल नभएको जानकारी गराउनु भयो । अर्का सांसद स्वर्णिम वाग्लेसंग सम्पर्क गर्दा आफ्नो धारणा राख्न नचाहेको बुझियो । प्रदेश सांसद अशोक कुमार श्रेष्ठले यातायात कार्यालय जस्तै ट्राफिक कार्यालय पनि सदरमुकामबाट बाहिरिँदा सदरमुकामको अस्त्वि रहँदैन । व्यास नगरपालिका र जिल्ला समन्वय समिति गम्भिर बनेर ट्राफिक कार्यालय दमौली मै राख्न यथासिघ्र पहल गर्नुपर्दछ । त्यसमा मेरो सहयोग रहन्छ भन्नुभयो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले ट्राफिक कार्यालय सदरमुकाममै राख्न राम्रो हो तर सो कार्यालयका लागि २÷३ रोपनी जग्गा माग आएको छ । सदरमुकाममा त्यो क्षेत्रफलको जग्गा पाउन सकिएको छैन । हामी विकल्पको खोजीमा छौं । विकल्प नभेटिए ट्राफिक कार्यालय सदरमुकामबाट बाहिरिँदा पनि चित्त बुझाउन पर्ने अवस्था आउँछ भन्ने धारणा राख्नु भयो । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले यस सम्बन्धमा आफ्नो धारणा राख्न नचाहेको बुझियो । त्यसै गरी नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठले पनि आफ्नो धारणा राख्न नचाहेको बुझिन्छ । नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले आफूले ट्राफिक कार्यालय सदरमुकामबाट बाहिर जान लागेको सूचना नपाएको बताउनु भयो । व्यक्तिगत रुपमा सदरमुकामबाट जिल्ला कार्यालय नबाहिरिँदा राम्रो भन्ने धारणा राख्दै एमालेको भूमिकाका बारेमा पार्टीको निर्णय बमोजिम निर्धारण हुने कँडेलको धारणा थियो । नागरिक समाजका गोविन्द पन्थको विचारमा ट्राफिक कार्यालय सदरमुकाममै रहन पर्दछ । तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले ट्राफिक कार्यालय सबै हिसाबले सदरमुकाममै रहनु पर्दछ, सरोकारवाला निकायले छलफल र समन्वय नगरी कार्यालय सार्ने निर्णयमा जानु हुँदैन । विशेष गरी जिल्ला समन्वय समिति र व्यास नगरपालिकाको संयुक्त पहलमा उपयुक्त जग्गा उपलब्ध गराई ट्राफिक कार्यालय कुनै पनि हालतमा सदरमुकामै राख्न पर्दछ भन्ने उद्योग वाणिज्यको धारणा रहेको छ भन्नुभयो । तनहुँ बारका अध्यक्ष डम्बरदेव हड्खले स्थानीय सरकार तथा जिल्ला समन्वयको पहलमा सदरमुकामको पहिचान बचाउनु पर्ने धारणा राख्नु हुन्छ । नेपाल पत्रकार महासंघका सभापति उज्ज्वल पौडेल सामाजिक सञ्जालमा स्टास लेख्दै सदरमुकाम भित्रै विकल्प हुँदाहुँदै जिल्ला ट्राफिक कार्यालय दमौली बजार बाहिर लैजान नहुने धारणा राख्नु हुन्छ । निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ट्राफिक कार्यालय सदरमुकाम बाहिर सर्ने निर्णय भैसकेको आफूलाई थाहा नभएको बताउनु भयो । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई सन्तोष पौडेल कार्यालय सार्ने निर्णय भएनभएको भरखरै आएकोले एसपी सावलाई सोध्न पर्ला तर जिल्ला कार्यालयका लागि करिव डेढ रोपनी जग्गा भए व्यवस्थापन गर्न सकिने धारणा राख्नु हुन्छ ।
सदरमुकामबाट यातायात पछि ट्राफिक कार्यालय बाहिरिदै संकटमा सदरमुकामको पहिचानगत अस्तित्व
previous post