दमौली/नेपाल सरकारको साल्ट ट्रेडिङ करपोरेशनले बजारमा आपूर्ति गरेको आयो नून स्वास्थ्यको लागि हानिकारक रहेको उपभोक्ताहरुले बताउन थालेका छन् ।
साल्टट्रेडिङले बजारमा पठाएको नून साग, तरकारी, अचार, पास्ता, दालमा राखेर खाँदा दाँतमा किरिकिरी नै लाग्ने गरी बालुवाको मात्र भेटिएको व्यास–३ शान्ति नगर वेदव्यास मार्ग निवासी पुष्पा पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार एक चमज नुनलाई पानीमा घोलेर थिग्रोलाई प्लेटमा राख्दा शिशा जस्तो बालुवा र फोहरको मात्रा भटिएपछि भान्सामा ढिक्का नुन प्रयोग हुन थालेको छ । त्यसैगरी नेपाल अडिटर्स एशोसिएशन अडान जिल्ला कार्य समिति तनहुँका अध्यक्ष मिनराज गौतमकोे उपभोगमा पनि आयो नूनमा बालुवाको मात्रा भेटिएको अनुभव छ । नूनमा मिसावट भएको वालुवाले उपभोक्ताको मृगौलामा पथ्थरी र गलामा थाइराइडको समस्या देखा परेको गौतमको बुझाई रहेको छ । दैनिक उपभोगमा आउने आयो नूनको सट्टा ढिक्का नून प्रयोग गर्न थालेको एक बर्ष भएको अध्यक्ष गौतम बताउनु भयो ।
उपभोक्ता नुनमा किरिकिरी आएपछि आयो नूनको विकल्प खोज्न थालेका छन् । स्थानीय व्यापारी हर्कमान श्रेष्ठले तरकारीमा खानका लागि ढिक्का नुन खरिद गर्ने उपभोक्ताको संख्या बढ्न थालेको बताउनु भयो । यस सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्च नेपालसंग सम्पर्क गर्दा अनभिज्ञता प्रकट भयो । प्रत्येक जिल्लामा खाद्य गुण नियन्त्रण कार्यालय छ तर गुणस्तर जाँच गर्ने तर्फ सक्रियता देखाउन नसकेको उपभोक्ताको गुनासो रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ अन्तर्गतको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारीसंग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । डिभिजन कार्यालय तनहुँकी प्रमुख मेनका थापाले दैनिक अनुगमन हुने तर नुनको अनुगमन नगरिएको जानकारी दिनुभयो । स्थानीय तह अन्तर्गत पनि उपभोक्ता हित संरक्षण इकाइ रहने व्यवस्था भएकोमा व्यास नगरपालिका सो इकाई भएको नभएको बारेमा अनुगमन समितिको संयोजक व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले अनभिज्ञता प्रकट गर्नुभयो । नगरका अधिकृत सातौं रामचन्द्र हड्खलेले इकाइ खडा गरिएको तर कार्यान्वयन नभएको जानकारी दिनुभयो ।