रमेश विकल
स्थानीय निकायको निर्वाचन आउन ३५ दिन मात्र बाँकी रहँदा देशभर जस्तै तनहुँमा पनि दलहरुले सभा, गोष्ठी तथा भेटघाटलाई तिब्र बनाएका छन् ।
कतिपय दलले उम्मेदवारी चयनका प्रारम्भिक प्रक्रियाहरु पूरा गर्दैछन् भने कतिपय दलले उम्मेदवार चयन समेत गरिसकेका छन् । चुनावी रस्साकस्सी सुरु भएसंगै गएको चुनावमा जिल्लाका चार नगर पालिका मध्ये तीन तथा छ गाउँ पालिका मध्ये तीन वटाको प्रमुख पदमा जित हासिल गरेर आफ्नो वर्चस्व कायम गरेको दल नेपाली कांग्रेस त्यसलाई कायम राख्दै अझ राम्रो नतिजा ल्याउन लागि परेको छ । तीन पालिकाका प्रमुख जितेर दोस्रो स्थानमा रहेको नेकपा एमाले तथा एक पालिकाको प्रमुख जितेर तेस्रो रहेको माओवादी केन्द्र आफ्नो पार्टीको पक्षमा जनमत बढाउन लागि परेका छन् । उता एमाले बाट छुट्टिएर बनेको माधबकुमार नेतृत्वको दल नेकपा(एस) पनि कांग्रेस तथा माओवादीसंग चुनावी तालमेल गरेर भएपनि दह्रो उपस्थिती देखाउने ध्याउन्नमा छ ।
गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले तनहुँका १० स्थानीय तह मध्ये छ वटाको प्रमुख तथा उपप्रमुख र ८५ वडा मध्ये ५० वडाको वडाध्यक्ष जितेर आफुलाई पहिलो पार्टी बनाउन सफल भएको थियो । कांग्रेसले जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख सहित सबै नौवटै पदमा जित हासिल गरेको थियो । यसैगरी एमालेले तीन प्रमुख तथा उपप्रमुख सहित ३० वडा र माआवादी केन्द्रले एक प्रमुख तथा एक उपप्रमुख सहित पाँच वडाध्यक्ष जितेको थियो ।
स्थानीय तहको झण्डै ६० प्रतिशत स्थान जितेको कांग्रेस पराजित भएका चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा पनि निकटतम प्रतिद्वन्द्वी रहेको थियो भने पराजित ३५ वडा मध्ये ३० वडामा निकटतम प्रतिद्वन्द्वी रहेको थियो । बन्दीपुरको वडा नं ५ तथा शुक्लागण्डकीका ३, ५, ११ र १२ नं वडामा मात्र कांग्रेस तेस्रो स्थानमा रहेको थियो ।
वितेको पाँच वर्षमा चुलिएका नागरिक अपेक्षा र निर्वाचित जनप्रतिनिधिको काम गराई बीच तालमेल नहुँदा कांग्रेसलाई आफ्नो पहिलेको स्थान सुरक्षित राख्न कठिन हुने देखिएको छ । नेपाली कांग्रेसका लागि आफ्नो वर्चस्व कायम राख्न किन पनि काठिन छ भने विगतमा भएको चौधौं महाधिवेशनका क्रममा आन्तरिक प्रतिस्पर्धा हो भन्ने भुलेर नेता तथा कायकर्ता जसरी विभाजित भए त्यसको नकारात्मक असर स्थानीय तहको चुनावका क्रममा देखिने आंकलन गरिएको छ ।
कांग्रेसलाई अर्काे चुनौति बनेर आएको छ, केही केन्द्रीय नेताको सत्ता स्वार्थका लागि स्थानीय तहमा समेत थोपरिएको गठबन्धनको पासो । यसले रुखमा मतदान गरिरहेका तल्लो तहका कांग्रेस मतदाताको मन जितिरहेका वडा तथा स्थानीय तह अर्कालाई दिनुपर्ने कुराले कुँडिएको छ ।
गठबन्धन भए बरु मतदान प्रक्रियामा नै सहभागी नहुने बताउन थालेका कतिपय रुख चिन्हमा मत हाल्नेहरुले कांग्रेसलाई अप्ठ्यारोमा पार्ने देखिएको छ । पूर्व गृहमन्त्री गोविन्दराज जोशीको आफ्नो टिकट आफै लिउँ अभियानले पनि कांग्रेसलाई आफ्नो वर्चस्व कायम राख्न कठिन बनाउने देखिएको छ ।
यसका अतिरिक्त अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट पारित गर्न कांग्रेसले गरेको अगुवाई र एमसीसीका सम्बन्धमा आम मतदातामा व्याप्त विचारका कारण पनि कांग्रेसको मत प्रभावित हुनेछ ।
कांग्रेसले आफ्नो पाँच वर्ष अगाडिको स्थान कायम राख्ने हो भने यो ३५ दिनका बीचमा गर्नुपर्ने धेरै काम छन् । एमसीसीका सम्बन्धमा मतदातामा बनेको विचार परिमार्जन गर्नुछ । विगतमा भएका कमिकमजोरी सच्याउँदै आगामी दिनमा नागरिकका पक्षमा अझ दृढता पूर्वक काम गर्ने विश्वास जगाउनु छ । गोविन्दराज जोशीको असन्तुष्टी सम्बोधनका अतिरिक्त हाम्रालाई होइन राम्रालाई टिकट दिने हिम्मत नेतृत्वले गर्न सक्दा साथै यो निर्वाचनमा मतदान गर्नेगरी थपिएका युवा मतदातालाई आफ्ना विचार र मुद्दामा सहमत गराउन सक्दा कांग्रेसको वर्चस्व कायम रहन सक्छ ।
समाचार
-
दमौली/व्यास नगरपालिकाको उम्मेदवारी दिने अठोटका साथ दीपकराज जोशीले बुधवार दमौलीमा सम्पर्क कार्यालयको उद्घाटन गराएका…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाले समावेशी समुदाय निर्माणमा अपांगता भएका व्यक्तिहरूको शसक्तिकरण कार्यक्रमका लक्षित…
-
सिद्धेश्वरी बाल क्लब तथा नेपाल जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी मावि व्यास–१२ को संयुक्त आयोजनामा…
-
दमौली/निर्वाचन अयोगले आगामी स्थानीय निकायको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशन गरेको छ ।आयोगका अनुसार…
-
दमौली/तनहुँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको आठौं तनहुँ महोत्सव आज आठौं दिनसम्म भव्य र…
-
दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १७ गते दमौलीमा गर्ने भनिएको विशाल आमसभालाई राजावादीहरुको शक्ति प्रदर्शनको…
-
दमौलीमा चलिरहेको आठौं तनहुँ महोत्सवको आज आठौं दिन नै हो । “तनहुँ महोत्सव हाम्रो…
-
तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौली मोहनचौरमा सवारीचालक पेसा सँगसँगै बङ्गुर पालनलाई अगाडी बढाई कृषि व्यवसायमा…
-
तनहुँको घिरिङ गाउँपालिका–१ बैडिमा संचालित झण्डै चार करोडको लगानिमा बन्न लागेको भस्मे लिफ्टिङ खानेपानी…
