दमौली/बुधबार अगस्ट १२ मा विश्वभर र नेपालमा पनि भिन्न परिवेश, साझा आकांक्षा भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो ।
विभिन्न विद्यार्थी संगठनहरु तथा राजनैतिक दलहरुले भिन्ना भिन्नै यो दिवस मनाए । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विसं २०५६ देखि मनाउन थालिएको यो दिवस नेपालमा भने विसं २०६१ साल देखि मनाईँदै आएको छ । राज्य स्तरबाट तथा पार्टी, विद्यार्थी संगठन लगाएत विभिन्न संघ संस्थाबाट फरक फरक कार्यक्रम गरेर यो दिवस मनाउने गरिएको भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको भिड छटाउन यस्ता कार्यक्रम असफल जस्तै भएका छन् । युवालाई देशको मेरुदण्ड, राष्ट्र निर्माणको कर्णधार र परिवर्तनको संवाहक मान्दै हरेक वर्ष सरोकारवाला निकायहरूले औपचारिक कार्यक्रमहरू आयोजना गर्छन् । तर, विमानस्थलमा विदेशिन तयार युवाको भिडले भन्छ, कार्यक्रमहरूले नेपालका युवाहरूको वास्तविक अवस्था र समस्यालाई साँच्चिकै सम्बोधन गर्न सकेका छैनन् ।

पछिल्लो जनगणना अुनसार यतिबेलाको जनसंख्याको आकारमा युवाको बाहुल्इ छ । तयाङ्कका दृष्टिले नेपाल अहिले् युवा जनसङ्ख्याको लाभांश उठाउन सक्ने निकै अनुकूल स्थितिमा छ । तर युवा आकांक्षा र सरकारी कार्यक्रमबीच तालमेल नहुँदा विदेशिने र विदेशिन चाहने युवाको संंख्या घट्नुको सट्टा बढेको छ । इतिहासलाई हेर्दा पनि नेपालका ठूला–ठूला राजनीतिक परिवर्तन, आन्दोलन तथा विभिन्न समयमा परेका प्राकृतिक विपद्मा नेपाली युवाहरूले कुनै राजनीतिक स्वार्थविना स्वतःस्फूर्त रूपमा उद्धार, राहत र पुनःनिर्माणमा अग्रसर भई आफ्नो सामथ्र्य सिद्ध गरिसकेका छन् । तर उनीहरुले देश निर्माणमा उचित अवसर नपाउँदा निराश र हताश छन् अनि विदेशिन विवश छन् ।
संविधान कानुनमा युवा आकांक्षाको सम्बोधन गर्ने भनिए पनि व्यवहारमा त्यो नहुँदा युवाहरु समस्यामा परेका छन् । व्यावहारिक र सीपमूलक शिक्षाको अभावका कारण शिक्षित युवाहरू पनि बेरोजगार बन्न पुगेका छन् । राज्यले युवाहरूलाई स्वदेशमै रोक्ने ठोस रणनीति बनाउनुको सट्टा वैदेशिक अध्ययनमा शैक्षिक कर असुल्ने र विप्रेषण (रेमिट्यान्स) बाट अर्थतन्त्र धान्ने उल्टो बाटो समातेको छ । नयाँ तथा युवा नेतृत्व आए पनि युवाको समस्या समाधनमा ठोस कदम चाल्ने लक्षण देखिएको छैन ।
विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रम वा युवा जागरणका नाममा अर्बौं बजेट विनियोजन भए पनि अनुगमन र पारदर्शिताको अभावमा ती बजेट दलीय कार्यकर्ता पोस्ने माध्यम मात्र बनेका छन् । यस्ता कार्यक्रमले युवाहरुलाई आकर्षित गर्न सकेको देखिएको छैन ।
राज्य सञ्चालनको बागडोर युवाको हातमा भएपनि नीति निर्माण र निर्णय प्रक्रियामा युवाहरूको सार्थक सहभागिता सुनिश्चित हुन सकेको छैन । गुणस्तरीय र व्यवहारिक शिक्षाको अभाव, बजारको माग अनुसारको सिप नहुनु र देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा लाखौँ दक्ष तथा अर्धदक्ष युवाहरू दिनप्रतिदिन विदेशिन बाध्य छन् । युवाको ऊर्जा र प्रतिभालाई राष्ट्र निर्माणमा सदुपयोग गर्नुको सट्टा उनीहरूलाई बाध्यात्मक वैदेशिक रोजगारीमा धकेल्ने कामले राष्ट्रका लागि ठूलो क्षति छ । तर दलहरुले अझै चेतेका छैनन र उनीहरु युवालाई केवल आन्दोलनका लाठी र ढुङ्गा मुढा बोकेर अग्रभागमा पठाउने र चुनावका भोटको भकारीका रूपमा मात्र उपयोग गर्न मग्न छन् ।
केवल भाषण, औपचारिक जुलुस र ¥यालीमा दिवस सीमित भएसम्म युवा समस्याको हल हुने छैन। जबसम्म शिक्षामा सबैको सहज पहुँच पुग्दैन, देशभित्रै मर्यादित रोजगारीको सिर्जना हुँदैन र राज्य युवामैत्री बन्दैन, तबसम्म अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको कुनै ठोस औचित्य र सार्थकता रहँदैन । राज्यले युवाहरूलाई केवल आश्वासन होइन, अवसर गर्नु पर्ने भएको छ । युवाहरूलाई स्वदेशमै गुणस्तरीय र सीपमूलक शिक्षा, सम्मानजनक रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्ने हो भने युवा बहुल अहिलेको जनसंख्याको आकारबाट नेपालले अवश्य लाभ लिन सक्छ र देशलाई उन्नतिको मार्गमा लैजान सक्छ ।
