
नेपाली राजनीतिमा स्थापित पुराना राजनीतिक दलहरू र तिनका नेताहरूको परम्परागत कार्यशैली, भ्रष्टाचार र जनताप्रतिको उदासीनताबाट नागरिकहरू लामो समयदेखि आजित थिए । राजनीतिक वृत्तमा एउटा बलियो, इमानदार र भरपर्दो विकल्पको खोजी भइरहेको पृष्ठभूमिमा परिवर्तन र सुशासन को चर्को नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो । व्यवस्था परिवर्तन भइसके पनि जनताको अवस्था नफेरिएको भन्दै नयाँ सोच र भिजनको वकालत गरेको यस दललाई नागरिकले छोटो समयमै संसद्मा झण्डै दुइतिहाई सहितको शक्तिशाली दल बनाएर सत्ता र सदनको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिए । तर, हालैका दिनमा सार्वजनिक भएका रास्वपाका सांसद तथा मन्त्रीहरूका गैरजिम्मेवार बोली र व्यवहारले उनीहरूको राजनीतिक परिपक्वता र वैकल्पिक राजनीतिको दाबीमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।
कुनै पनि राजनीतिक दल वा नेताका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण सम्पत्ति भनेको उसको विश्वसनीयता र निष्ठा हो। तर रास्वपाका जनप्रतिनिधिहरूमा तथ्यलाई बङ्ग्याउने र झुटको सहारा लिने प्रवृत्ति देखिन थालेको छ । उदाहरणका लागि, साउन १४ को प्रतिनिधिसभा बैठकमा सांसद रिमा विश्वकर्माले वर्तमान सरकारले बर्दियाका ८२ जना भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेको भन्दै प्रस्तुत गरेको तथ्याङ्क पूर्णतः असत्य ठहरियो । ती ८२ परिवारमध्ये ५३ परिवारले वर्तमान सरकार गठन हुनुअघि ३२ असार २०८२ मा नै लालपुर्जा पाइसकेका थिए । यसरी अघिल्लो सरकारको कामलाई आफ्नो उपलब्धि भन्दै सदनमा झुटो विवरण प्रस्तुत गर्नुले दलको विश्वसनीयतामाथि ठूलो धक्का पु¥याएको छ ।
त्यस्तै, पार्टी सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार गठन भएको सय दिनमा विदेशमा रहेका नेपाली फर्काउने गरी पोस्टर टाँस्ने कुरा कतै नगरेको भनी राजिव खत्रीले गरेको दाबीले पनि तथ्य लुकाउने प्रयासलाई उजागर गर्छ । सामाजिक सञ्जालको यो आधुनिक युगमा पुराना भिडियो र दस्तावेजहरू तुरुन्तै सार्वजनिक हुने हुँदा नागरिकलाई मूर्ख, अन्जान सम्झिने यस्ता गैरजिम्मेवार अभिव्यक्ति प्रत्युत्पादक बनिरहेका छन् । अझ विरोधाभास त के छ भने, विगतमा सुशीला कार्की सरकारले सांसदको स्वकीय सचिव तथा सल्लाहकारको सुविधा हटाउँदा त्यसलाई देशको फोहोरमैला सफा भएको भन्दै स्वकीय सचिव र सल्लाहकारलाई दलाल र बिचौलियाको संज्ञा दिने उनै खत्री अहिले स्वकीय राख्न पाउने सरकारी निर्णयको मात्र बचाउ गर्दै आफ्नो द्वैध चरित्र प्रदर्शन गरिरहेका छन् ।
वैकल्पिक राजनीतिको नारा दिएर सत्तामा पुगेका नेताहरूमा शक्तिको उन्माद र शासकीय अहंकार कति चाँडो हाबी हुन्छ भन्ने कुरा पूर्व–एआईजी समेत रहेका सांसद विश्वराज पोखरेलको अभिव्यक्तिले प्रष्ट पार्छ । विद्यालयका प्रधानाध्यापकलाई, माननीय हुँ, म विशिष्ट श्रेणीको कर्मचारी हुँ, म आउँदैछु भन्दा तपाईं किन नआएको ? भन्दै दम्भ देखाउनु र थर्काउनु लोकतान्त्रिक संस्कार विपरीत हो । नेता र मन्त्रीहरूको यस्तो व्यवहार पौराणिक कथाका राजा नहुषको प्रवृत्तीसँग दुरुस्तै मिल्छ, जसले स्वर्गको राजा (इन्द्र) बनेपछि अहंकारमा मात्तिएर पालकी बोक्ने अगस्त्य ऋषिलाई लात हान्दा श्रापित भई सर्प बनेर पृथ्वीमा खस्नु परेको थियो । साथ दिँदा माथ टेक्नेहरुलाई नागरिकले लात दिन पनि जानेको हुन्छ, पद क्षणभङ्गुर हुन्छ र अहंकारले मानिसलाई पतन गराउँछ भन्ने कुरा हाम्रा जनप्रतिनिधिले भुल्नु हुँदैन ।
यति मात्र होइन, सांसद केपी खनालले अस्पताल व्यवस्थापन समितिका सदस्यलाई, अहिले लगेर जाक्दिन्छु, अनि थाहा हुन्छ, भनी दिएको धम्की, सांसद खगेन्द्र सुनारले, एसपीलाई घिसारेर लैजान्छु भन्नु र पूर्वाधार विकास मन्त्री सुनील लम्सालले कन्ट्याक्टरको खुट्टा भाँच्दिनू भनी सार्वजनिक रूपमा आदेश दिनु, मेयर र प्रदेशसभा सदस्यलाई समेत कारवाही गर्ने धम्की दिनुले विधिको शासनभन्दा पनि भीडतन्त्र र बाहुबलको कानुन हातमा लिने डन शैलीको मानसिकता झल्काउँछ । जनताले कानुन कार्यान्वयन गराउन र थिति बसाल्न सांसद छानेका हुन्, दादागिरी प्रदर्शन गर्न होइन ।
अर्कातर्फ, सांसद पारसमणि गेलालले, काम नगर्ने मेयरलाई सुधार्न सरुवा गर्नुपर्ने भनी दिएको अभिव्यक्तिले उनीहरूको कानुनी र संवैधानिक अल्पज्ञानलाई उजागर गर्दछ । स्थानीय सरकारको प्रमुख जनताबाट निर्वाचित स्वायत्त पद हो, जसलाई संघीय सरकार वा सांसदले कर्मचारी जस्तै सरुवा गर्न मिल्दैन । यस्तो सतही ज्ञानका साथ सार्वजनिक मञ्चहरूमा बोल्नु र पछि प्रश्न उठ्दा, चाउचाउको कुपनमा परेको माननीय जस्ता जनताका आक्रोशयुक्त टिप्पणी सहनुपर्ने स्थिति आउनु लज्जास्पद विषय हो । त्यस्तै, सांसद जगदीश खरेलले विमानस्थलकी महिला कर्मचारी (सीईओ) माथि गरेको हप्कीदप्की र सांसद यज्ञमणि न्यौपानेले अख्तियारको गोप्य अनुसन्धानका फाइलहरू हेर्न पाउनुपर्छ भनी गरेको जिकिरले संसदीय अनुगमनको दायरा र मर्यादाको सीमा उल्लंघन गरेको देखिन्छ ।
मन्त्री भइसकेका सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा हेल्मेट नलगाई उभिएर भिडियो बनाउने तथा सृष्टी भट्टराईले गुडिरहेको कारको झ्यालबाट आधा जिउ बाहिर निकालेर भिडियो बनाउने जस्तो कामले ट्राफिक नियमको उल्लङ्घन तथा सडक सुरक्षाको वेवास्ता गरेको त छ नै संसद सदस्य पदको गरिमालाई सस्तो बनाएको छ ।
यी घटनाक्रमहरूले रास्वपाका कतिपय जनप्रतिनिधिहरू माननीय पदको गरिमा, दायित्व र लोकतान्त्रिक आचरणबारे अझै परिपक्व भइनसकेको देखाउँछन्। दलभित्रकै सचेत कार्यकर्ता स्वस्तिका लामिछानेले भनेझैं— माथि उचाल्न सक्ने जनताले भुईंमा पछार्न पनि सक्छन् । नयाँ दलले पनि पुरानै दलहरूको खराब आचरण (अहंकार, धम्की, अपारदर्शिता र झुट) लाई नै निरन्तरता दिने हो भने उनीहरू र पुराना दलहरूबीच कुनै भिन्नता रहने छैन । सस्तो लोकप्रियता र भ्युजका लागि गरिने स्टन्टबाजीभन्दा पनि संयमित बोली, परिपक्व व्यवहार र कानुनी दायराभित्र रहेर काम गर्नु नै आजको आवश्यकता हो । रास्वपाले आफ्ना सांसद र मन्त्रीहरूलाई राजनीतिक प्रशिक्षण र आचरण सुधारको कक्षा सञ्चालन गर्न अब ढिला गर्नु हुँदैन ।
