रमेश विकल
भोली जुन २६ तारिख विश्वभर अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइँदैछ ।
विश्व समुदायलाई लागुऔषधिको भयावह असर र यसको अवैध कारोबारबाट मुक्त गराउने उद्देश्यले यो दिवस विश्वभर मनाउने गरिन्छ ।
विज्ञहरूका अनुसार, विश्वभर नै लागुऔषधिको प्रयोग र कारोबारमा संलग्न हुनेहरूमा अधिकांश युवा पुस्ता रहेका छन् । मनोविज्ञहरू भन्छन् “युवावस्था अत्यन्त तरल र जोखिमपूर्ण हुने भएकाले यो समूह सजिलै कुलतमा फस्ने गर्दछ ।“ थोरै समयमा धेरै पैसा कमाउने लोभ, तस्करहरूको प्रलोभन र नशाको लतले युवाहरूलाई झन् ठुलो जोखिम तर्फ धकेलिरहेको छ ।
२० औं शताब्दीदेखि नै लागुऔषधको कारोबार विश्वभर दिन दुगुना रात चौगुनाको दरले बढेको तथ्याङ्कहरूले देखाउँछन् । लागुऔषधिको असन्तुलित प्रयोगका कारण मात्रै विश्वमा हरेक वर्ष झण्डै दुइलाखले ज्यान गुमाउने गरका छन् । यसको प्रयोगकर्ताहरु कतिको संख्यामा छन् भनेर एकिन रुपमा भन्न सकिने अवस्था छैन । तर सहर छेउका एकान्त ठाउँहरुमा छरपष्ट देखिने लागू औषधका खोल तथा सिरिञ्ज देख्दा यसको प्रयागकर्ता धेरै भएको र यसको संख्या बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

दक्षिण छिमेकी भारतमा साढे दुइ दशक अघि गरिएको एक अध्ययनले त्यहाँ झण्डै आठ करोड लागू पदार्थ प्रयागकर्ता रहेको देखाएको थियो । नेपालमा करोडको संख्यामा नभएपनि प्रसस्त प्रयोगकर्ता भएको र नेपाल तथा भारतबिचको खुला सिमाना अनि यसको प्रत्यक्ष प्रभावका कारण यो महाव्याधिबाट अछुतो रहन सकेको छैन ।
नेपालमा सन् १९६० को दशक पश्चात् भित्रिएको हिप्पी संस्कारसँगै लागुऔषधको कारोबार र प्रयोग बढेको हो । गाँजा, भाङ, धतुरो आदिको अनधिकृत खेती, खुला सिमानाका कारण भारतबाट सहजै हुने आयात र फितलो राज्यव्यवस्थाका कारण नेपाल लागुऔषधको अखडा बन्दै जाने जोखिम बढेकोे छ ।
पछिल्लो समय डाक्टरको प्रेसक्रिप्सनको दुरुपयोग गरी विभिन्न औषधिहरू किनेर खाने र सुई प्रयोग गर्नेहरूको जमात नेपालमा डरलाग्दो गरी बढिरहेको छ । यसका साथै, सडक बालबालिकाहरूले डेन्ड्राइट नामक रसायन सुँघेर खुलेआम नशा गरिरहँदा पनि प्रशासन लगभग मौन देखिन्छ । नेपालका विभिन्न सहरहरूमा च्याउसरी खुलेका र व्यावसायिक रूपमा सफल भइरहेका दुव्र्यसन सुधार केन्द्रहरूले नै हाम्रो देशको वास्तविक र कुरुप अवस्थालाई बयान गरिरहेका
छन् ।
हाम्रो कमजोर राज्यव्यवस्थाको फाइदा उठाउँदै लागुऔषध तस्करहरूको ठुलै सञ्जाल नेपालमा सक्रिय रहेको बताइन्छ । उनीहरूको पहुँच विमानस्थल, भन्सार, सीमा र आयात–निर्यात केन्द्रसम्म प्रभावशाली रूपमा रहेको
देखिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका सामान्य कामदारले ल्याएको टिभी समेत खोलेर खानतलासी गर्ने र दुःख दिने सरकार र कर्मचारीको नाकैमुनिबाट हजारौँ किलो लागुऔषध सजिलै भित्रिन्छ तर त्यो कसैले देख्दैन । कसरी ? भन्ने प्रश्नको उत्तर आम नागरिकले पाएका छैनन् ।
लागुऔषधको कारोबारले समाजमा अपराध र अराजकता मात्र निम्त्याएको छैन, बरु एउटै सुईको प्रयोगका कारण एचआइभी÷एड्स र हेपाटाइटिस जस्ता घातक रोगहरू समेत तीव्र रूपमा सारिरहेको छ । चुरोटका ठुटाबाट खोक्दै सुरु हुने नशाको यात्रा कहाँ पुगेर कति भयानक मोडमा सकिन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले आउँदो पुस्ताले लागुऔषधको सेवनले जीवनलाई हिरो हैन जिरो बनाउँछ भन्ने बुझ्नु र यो कुलत तुरुन्त त्याग्नु आवश्यक छ ।
हामीले यदि आजका युवाहरुको भविष्य उज्जवल बनाउने हो भने सरकारले लागुऔषधको कारोबार र तस्करका विरुद्ध कडा कानुन निर्माण गर्न र त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कदम चाल्न ढिला गर्नु हुँदैन ।
