प्रिय तनहुँ–१ का बुबा आमा, दिदीबहिनी तथा दाजुभाइहरू,
तीन पुस्तासम्म नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा होइन, आफ्नो घर, आफ्नो सपना र आफ्नो अस्तित्वका रूपमा मानेर जोशी परिवारले जीवनका सबैभन्दा मूल्यवान् वर्षहरू अर्पण गर्यो। सत्ता आउँदा–जाँदा, अवसर र सुविधा बाँडिँदा–खोसिँदा पनि यो परिवारले कहिल्यै आफ्नो स्वाभिमान साटेन।सिद्धान्त बेचेन। तर आज पछाडि फर्केर हेर्दा, आफ्नै पार्टी कांग्रेसबाट जोशी परिवारले सबैभन्दा धेरै चोट, सबैभन्दा गहिरो अपमान र असह्य पीडा भोग्नुपरेको यथार्थ लुकाएर लुकाउन सकिँने अबस्था छैन । ती पीडाहरू यति गहिरा छन् कि शब्दमा ब्यक्त गर्न गाह्रो पर्छ। ति पीडाहरूलाई व्याख्या गर्न समय पनि लाचार देखिन्छ। यो कुनै भावनात्मक अतिरञ्जना होइन। यो समयले आफैँ बोलेको कठोर सत्य हो।
यत्रो अन्याय, अपमान र उपेक्षा सहँदा पनि मेरा बुवा गोविन्द राज जोशी कहिल्यै भाँचिनुभएन। शतीसाल झै अडिक रहनु भयो। उहाँको राजनीति कहिल्यै पदको खोजीमा हिँडेन।उहाँको राजनीति कहिल्यै सत्ताको वरिपरि घुमेन। उहाँले सत्ता रोज्नुभएन।सिद्धान्त रोज्नुभयो। उहाँले पद रोज्नुभएन। बी.पी. को विचार रोज्नुभयो। जब सजिलो बाटो छाडेर कठिन बाटो रोज्नुपर्ने अवस्था आउदा पनि उहाँ कहिल्यै हच्किनुभएन बिच्किनु भएन । आफ्नै विचारमा अडिग रहँदा आफू क्रमशः एक्लिँदै गएको, भीड हराउँदै गएको र आफ्नै घरजस्तो पार्टीभित्र अपरिचितजस्तै बनाइँदै लगिएको थाहा हुँदाहुँदै पनि उहाँ अन्तिम क्षणसम्म उभिरहनुभयो। किनकि उहाँको राजनीति स्वार्थ प्रेरित होइन र थिएन पनि। आत्माबाट सुरु भएको थियो।

स्वाभिमान र सैद्धान्तिक निष्ठामा अडिग रहनुको मूल्य हाम्रो परिवारले तिर्नुपर्यो । स्वाभिमान र सिद्धान्तको निष्ठामा उभिएर स्थानीय निर्वाचनमा मत माग्दै गर्दा त्यहि कांग्रेसबाट मलाई “पुरस्कार” स्वरुप गम्भीर आक्रमण गरियो। गहिरो चोट लाग्यो। त्यो चोट कुनै क्षणिक आबेगबाट भएकोथिएन। योजनाबद्ध घटना थियो । आज पनि टाउकोमा हात लगाउँदा ती चोटहरूको अनुभूति स्पष्टसँग महसुस हुन्छ। त्यो पीडा केवल शरीरमा मात्र सीमित थिएन।त्यो चोट विचारमा थियो। विश्वासमा थियो र त्यो एउटा परिवारको इतिहासमाथि गरिएको गहिरो प्रहार थियो। त्यो हाम्रो बुवाले जीवनभर जोगाएर राखेको इमानदारीतामाथि गरिएको निर्दयी आक्रमण थियो र आघात थियो । जुन घाउ अझै भरिएको छैन।
कहिलेकाहीँ रातको एकान्तमा, सबै आवाजहरू थामिएपछि, म आफैंसँग प्रश्न गर्छु मेरो गल्ति के थियो? के साँचो बाटो हिँड्नु नै मेरो अपराध हो? के सिद्धान्तसँग सम्झौता नगर्नुको परिणाम नै त्यो सजाय थियो ? यदि इमानदार रहनु नै गल्ति हो भने, यो समाजले हामीबाट के चाहन्छ? यी प्रश्नहरूको जवाफ कहिल्यै सजिलैसंग भेटिने छैन र भेटिँदैन पनि। यिनै प्रश्नहरूले मलाई अझै सचेत र जिम्मेवार बनाइ रहेको छ।
आज म तनहुँ–१ बाट संघीय संसदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा उभिएको छु। कुनै व्यक्तिगत महत्वाकांक्षाको लागि होइन।यो कुनै पदको लोभबाट जन्मिएको निर्णय पनि होइन। यो थाकेको छोराको अन्तिम आशा हो। यो आँसु लुकाएर मुस्कुराइरहेको एउटा परिवारको मौन पुकार हो। यो अझै पनि सत्य, न्याय र इमानदारितामा विश्वास गर्ने एउटा सन्तानको अन्तिम प्रयास हो। र यो देशमा साँचो बाटो हिँड्नेहरूको आशा अझै पूर्ण रूपमा मरेको छैन भन्ने सन्देश पनि हो ।
गोविन्द राज जोशीले तनहुँका नागरिकका लागि जीवनभर गरेको सेवाको बदलामा केही माग्न म आएको होइन। मलाई सहानुभूति चाहिएको छैन। मलाई भीख चाहिएको छैन। मलाई केवल भरोसा चाहिएको हो।त्यही भरोसा, जुन कुनै समय मेरा बुवाले तपाईंहरूप्रति निस्वार्थ रूपमा राख्नुभएको थियो।बिना कुनै स्वार्थ,बिना कुनै सर्त।
अब म तपाईंलाई एउटा सानो अनुरोध गर्छु। एकपटक,केवल दुई मिनेटका लागि, आँखा चिम्म गर्नुस्। आफ्नो आमा र बुवाको अनुहार सम्झनुस्, उहाँहरूले तपाईंका लागि चुपचाप बोक्नुभएको त्याग र पीडा सम्झनुस्। आफ्नो छोराछोरी सम्झनुस्,उनीहरूका लागि तपाईंले चाहनुभएको सुरक्षित, न्यायपूर्ण र सम्मानित भविष्यको परिकल्पना गर्नुस्। अनि एकपटक जोशी परिवारलाई सम्झनुस्। त्यसपछि जुन निर्णय तपाईंको मनले गर्छ त्यो निर्णयलाई हामी आँखा आंशु थामेर पनि शीर ठाडो पारेर स्वीकार गर्नेछौँ। किनकि हामी हार्न डराउँदैनौँ। हामी केवल अन्यायसँग सम्झौता गर्न डराउछौँ। सत्य ढिलो हिँड्छ तर कहिल्यै हार्दैन।
अब चुनावमा भोट हाल्ने कुरा आउँछ । यो कुनै आवेगको क्षण होइन, कुनै भावनात्मक लहडमा बगेर गरिने निर्णय पनि होइन । यो लोकतन्त्रको नाममा हामीले आफैँसँग सोध्नुपर्ने सबैभन्दा गम्भिर र इमानदार प्रश्न हो । यदि गोविन्द राज जोशीको नामकै मात्र कारणले मैले भोट पाउने हुँ भने, त्यो भोटले न त मेरो बुवाले जीवनभर जोगाएर राखेको निष्ठालाई न्याय दिन सक्छ, न तपाईंले देख्न चाहनुभएको राजनैतिक आश्थालाई सम्मान गर्न सक्छ।न त मेरो आफ्नै आत्मालाई सन्तोष दिन सक्छ । यो देशले नामका आधारमा, बिरासतद्धारा उदाएका धेरै नेताहरूको अनुहार नियालिसकेको छ। तर म त्यो परम्पराको निरन्तरता बन्न आएको होइन ।
म गोविन्द राज जोशीको नामको मात्र छायाँ होइन। न त त्यो नामलाई ढाल बनाएर सुरक्षित बाटो खोज्ने व्यक्ति नै हुँ। म आफ्नै विवेक, आफ्नै संघर्ष र आफ्नै नैतिक जिम्मेवारीको आधारमा राजनीतिमा उभिएको मान्छे हुँ । म वंशवादमा विश्वास गर्दिन। किनकि लोकतन्त्र उत्तराधिकारको व्यवस्था होइन, उत्तरदायित्वको अभ्यास हो । म निष्ठामा विश्वास गर्छु।यद्यपि आजको राजनीतिमा निष्ठा प्रायः अप्रासंगिक शब्द झैँ प्रयोग हुन्छ । म अनुशासनमा विश्वास गर्छु।यद्यपि यहाँ नियम पालना गर्ने भन्दा नियम तोड्न जान्नेहरूलाई कुशल राजनीतिज्ञ मानिन्छ । म संघर्षमा विश्वास गर्छु।त्यो संघर्ष जसले पद होइन, धैर्य र चेतनालाई बलियो बनाउँछ । म साधारण तर स्वाभिमानी जीवनशैलीमा विश्वास गर्छु, जहाँ नेता हुनु भनेको सुविधाभित्र बन्द हुनु होइन। जनतासँग उभिन सक्नु हो । म निरन्तर अध्ययन र चेतनामा विश्वास गर्छु जिम्मेवार राजनीतिमा विश्वास गर्छु। किनकि देश नारा र भीडले होइन, समझदारी र दुरदृष्टिले अघि बढ्छ ।
यदि यी मूल्यहरूले तपाइँको मन छोयो भने,मेरो यात्रामा तपाइँहरूले सस्तो लोकप्रियताको खोल होइन् कठिन र इमानदारिताको बाटो देख्नुभयो भने,मेरो मौनतामा कमजोरी होइन, जिम्मेवारी र आत्मसंयमताको संकेत भेट्नुभयो भने , मात्रै म तपाईंको मत र साथको अपेक्षा गर्छु । कृपया मलाई नामका कारणले, रगतका कारणले , क्षणिक सहानुभूतिका कारणले नभई,मेरो नियत, मेरो प्रतिबद्धता र मेरो व्यवहारले देखाएको राजनीतिका कारणले रोज्नु होला । किनकि भोट एउटा कागजी चिन्ह मात्र होइन।त्यो तपाइँले भविष्यप्रति राख्नुभएको विश्वासको अभिव्यक्ति हो । म त्यो विश्वासलाई न त सजिलो जितको माध्यम बनाउन चाहन्छु, न कुनै पनि मूल्य चुकाएर हासिल गर्न नै चाहन्छु।
आदरणीय आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरू अत्यन्तै संवेदनशील र तरल अवस्थामा रहेको नेपालको राजनीतिलाई सङ्लो पार्न म तनहु जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा पदमा आफ्नो कैँचीचिन्ह लिएर उम्मेदवार बनेको छु। तपाईंको अमूल्य अमूल्य मत कैँची चिन्हमा दिएर अत्यधिक मतले विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु
तनहुँको माटोबाट, तनहुँकै सेवामा, तपाईँको आफ्नै
दीपक राज जोशी
प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार
क्षेत्र नं – १ तनहूं
