६ विद्यालय समायोजन तथा मालपोत र नापीको सेवा नपाबाट प्रवाह गरिने
दमौली/व्यास नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले विद्यालय समायोजन, आगामी वर्षको बजेट तयारी र प्रशासनिक सुधारका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको २३६ औँ बैठकले विद्यालयको कक्षा समायोजन र व्यवस्थापन सम्बन्धि निर्णय गरको छ । नपाद्वारा प्राप्त जानकारी अनुसार विद्यार्थी संख्या शून्य वा निकै न्यून भएका ६ वटा प्राथमिक विद्यालयहरूलाई समायोजन गर्ने निर्णय गरेको छ । बाल विकास कक्षामा विद्यार्थी रहुन्जेल ती विद्यालयमा कक्षा कायम रहने र अन्य कक्षाहरूलाई पायक पर्ने विद्यालयमा गाभ्ने निर्णय भएको छ ।

समायोजन हुने विद्यालयहरूमा जनसेविका प्रावि व्यास– १ मुसेखोला, मानुङ प्रावि व्यास– ५, वसन्तकाली प्रावि व्यास–७, कृष्णालय प्रावि व्यास–८, सोमाजन प्रावि व्यास–८ तथा जनमिलन प्रावि व्यास १२ रहेका छन् । विद्यालय समायोजन गर्दा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी मिलान र व्यवस्थापनका लागि नगर प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति समेत कार्यपालिका वैठकले गठन गरेको छ ।
आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाका लागि नगरपालिकाले व्यापक परामर्श गर्ने भएको छ । आगामी २०८३ जेठ ८ गते बिहान ११ बजे नगरसभा सदस्य, राजनीतिक दल, नागरिक समाज, उद्योगी, कृषक र सरोकारवालाहरूसँग सुझाव संकलनका लागि परामर्श बैठक आह्वान गरिएको छ । बैठकमा राजस्व परामर्श समितिको प्रतिवेदन र संघीय एवं प्रदेश सरकारबाट प्राप्त हुने बजेट सिलिङका बारेमा छलफल गरिनेछ ।
संघीय सरकारको निर्णयलाई पछ्याउँदै व्यास नगरपालिकाले पनि विद्यालयहरूमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वर्षे बिदा र स्थानीय बिदाबाट कट्टी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सामुदायिक र संस्थागत दुवै विद्यालयमा यो नियम लागू हुने नगरपालिकाले जनाएको छ । साथै, विद्यालयहरूलाई दिवा समयमा सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न शिक्षा शाखालाई निर्देशन दिइएको छ ।
बैठकले हाल मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरी व्यास नगरपालिका आफैँले सञ्चालन गर्ने गरी संघीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी, हालै जारी भएको नयाँ खरिद अध्यादेश अनुसार नै अबका सबै खरिद प्रक्रियाहरू अगाडि बढाउने निर्णय समेत भएको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
