राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले लमजुङ सोतीपसलस्थित मंगला उच्च माविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै गाँउ गाँउको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेशामा रुपान्तरण गर्नु जरुरी भएको बताए । उनले कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउने पर्ने समेत बताए ।
राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्याान केन्द्रित हुनुपर्ने भन्दै राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको उल्लेख गरे । आजको अवस्था म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो भएको बताए । उनले जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदै गएको तर गाउँबाट शहर र शहरबाट विदेशिने श्रृङ्खला अटुट रहेको बताए ।
राष्ट्रपति पौडेलले गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सृजना गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
उनले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्ने र नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे ।
यस अघि राष्ट्रपति पौडेल व्यास नपा–८ पुलिमराङमा रहेको शहीद स्मारक पुगेर शहीदको प्रतिमामा माल्यार्पण गरेका थिए । व्यास–८ पौडेलको गृह गाउँ पनि हो ।