20.7 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

संस्कृतिको जगेर्ना

विष्णुप्रसाद सिग्देल

परम्परादेखि चलि आएका आफ्ना अग्रजहरु वा आफ्नो वर्गले परम्परादेखि जे जस्तो स्थिति बसाले र सोही नियमलाई आफ्नो जात वा वर्ग विशेषका सन्ततीलाई पालन गर्न सिकाए । त्यही चालचलनलाई संस्कृति भन्न थालियो । संस्कृति एउटै जात विशेषका पनि भूगोल अनुसार फरक फरक पाईन्छ । पूर्वेली बाहुन र पश्चिेमेली बाहुनको संस्कार र सस्कृति नितान्त फरक छ । संस्कृतिलाई मात्र आधार मान्ने हो भने यी दुई भिन्न भूगोलका ब्राम्मणहरु एकले अर्काको संस्कृति मान्दैन । यानि पालना गर्दैन । यही फरक संस्कार संस्कृतिका कारण एक अर्कोलाई होच्याउने वा ठूलो देखाई आफ्नै खास संस्कृति हो भनि वादविवाद समेत गरेको पाईन्छ । त्यस्तै मगरहरु पनि यस्तै अवस्थामा छन् । स्थान विशेष अनुसार भाषा फरक, लवाई खवाई फरक, विवाह मृत्यू जस्ता संस्कार पनि फरक फरक पाईन्छ । यी जाती विशेषले मान्ने वा मनाउने चाडपर्व र मनाउने तौर तरिका पनि फरक फरक शैलीका छन् । गुरुङ्ग थकाली नेवारहरुमा पनि स्थान विशेषका आआफ्नै संस्कृति प्रचलनमा आएको स्पष्ट देख्न पाईन्छ । नेपालमा जति जातजातीहरु बसोबास गर्दछन् उनिहरुका केही न केही मौलिक संस्कृति पाईन्छ । हुन त विगतमा जस्तो एउटा समुदाय एकै ठाउँमा रहन सक्ने अवस्था छैन ।
शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत कुराहरुको सुलभताको खोजी तथा बाटो विजुली, कृषि उत्पादन बजार पेशा व्यवसायको सुविधाको खोजीमा मानिसहरुले आ–आफ्नो पुख्र्यौली थालो परिवर्तन गर्दै नयाँ नयाँ ठाउँमा स्थानतरण हुँदै घरजम जमाउँदै आएका छन् । यो संगै उनिहरुको संस्कार संस्कृति रीतिरिवाज आचरण व्यवहार, भेषभुषा, खानपान लगायत पुख्र्यौलीपन पनि संगसंगै गएको र आफ्नो हैसियतवालाले आफूले पालन गरेको चालचलन अपनाउँदै जाँदा नजिकका अन्य छिमेकीहरु पनि उनकै प्रभावमा परी उनिहरुले गरेजस्तो गर्न लाग्दा आफ्नोपन हरायो र नयाँ संस्कार फैलन पुग्यो । शासक र रैती अवस्थाका समाजमा शासक बर्गाको संस्कार प्रयोग गर्दा आफूहरु विशेष भएको देखिनाले उनिहरुको संस्कार अपनाउन लागे । र एउटा संस्कारको विकास भयो, अर्को संस्कार लोप हुन पुग्यो । यसरी केही फैलदै सर्वस्वीकार्य संस्कार बन्यो भने राज्यले नै संरक्षण गरी सबैलाई मान्न अनिवार्य बनायो । जस्तै दशैं । राष्ट्रिय जाडका रुपमा सरकारले संरक्षण गरी मनाउन प्रोत्साहन गर्ने र सरकारी कर्मचारीहरुलाई समेत भत्ताको व्यवस्था गरी विदा समेत दिने चलन अद्यवधी छँदै छ । कतिपय ठाउँमा अधिकाँशले अपनाएको संस्कार अल्पसंख्यकले देखासिखी गरेर पनि मनाईने गरिन्छ । जस्तै तराईमा मनाईने छट, हाल पहाड, तराई हिमाल जहाँतही मनाईन्छ । नेवार जाती मनाउने गाईजात्रा नेपालका हर ठाउँमा मनाएको पाईन्छ । जस्तै पहाडी संस्कार रक्षावन्धन, गुरुपुरोहीतबाट मन्त्रणा गरी हातमा धागो बाँधिने चलन र जनै फेर्ने चलन छ । तर यसैदिन तराईवासी दिदीबहिनीहरुले दाजुभाईलाई हातमा राखी बाँधी मनाउने चलन देखिन्छ । यी दुवै संस्कार विभिन्न ठाउँमा फैलदै छन् । कस्ले प्रभाव राख्न सक्दछ भन्न सकिदैन । यसैगरी महिला वर्गको पर्व मानिने तीज अब महिलाको मात्र रहेन । त्यहाँ पुरुषहरु पनि नाँचगानमा सहभागि हुँने प्रचलन छ । गाउँका दिदी बहिनीहरु भञ्ज्याङ्ग चौतारीमा वा विभिन्न मन्दिरका प्राङ्गणमा जम्मा भई हात थपडी मार्दै आफ्नो मौलिक भाकामा गाएको गीत अब सुन्नका लागि म्युजिममा जान पर्ने अवस्था आउन थाल्यो ।
तीजको नाममा व्यवसायीक गीतहरुले स्थान लिँदा संस्कृति जोगाउनु पर्दछ भन्नेहरु पनि केही रत्यौलीय रमझममा भुलीरहेको देखिन्छ । महिनौ अगाडि देखि रेष्टुरेण्टमा गै दरखाने नाउँमा वियर भोड्काको नशा लिएर हिड्नु कुन संस्कृतिको संरक्षणको गर्न खोजिएको हो बुझ्न गाह्रो भैरहेको छ । संस्कृति जोगाउने भन्दै विभिन्न पोशाकमा सजिएर साउण्ड सिस्टम चर्को चर्को बजाएर केही गीतमा नाँच्ने अभियान्तालाई पुरानो झ्याउरे घाँटु, मारुनी, नचरी, सोरठी, चुड्का, तीन ठुन्के रोइला, भजन, ख्याली, बालन र त्यही अनुसार भेषभुसा परम्पराको कत्तिको जानकारी होला ? आफ्नै परम्पराको बारेमा जानकारी छैन भने संस्कृतिको जगेर्ना कसरी हुन्छ ? चलि आएका संस्कृतिलाई तोडमोड गरी अपभ्रम्स गराएर संस्कार र संस्कृति माथि प्रहार गरी मृत्यूशैयामा पुगि सकेको र संस्कृति कोमामा जीवनमृत्यूको संघारमा छ । पुरुषहरुले पर्व विशेषमा मादक पदार्थ सेवन गरे भनेर सोही कार्यको अनुशरण गरी मादक पदार्थको झुल्नु र भए भरका गरगहना बोकी प्रदर्शन गर्न सक्नेको मात्र संस्कृति हो भने नसक्नेको संस्कृति कस्तो होला ? दशैमा टीका जमरा नलगाएर तिहारमा दिदीबहिनीले दाजूभाईको निधारमा टीका नलगाई दिएर, ऋषि तर्पणीमा तागाधारीहरुले गुरुजनबाट शुद्ध जनै नलगाएर, तीजमा महिलाहरुले आफैले रचना गरी मौलिक भाषा र भेषभुषामा सजिएर नाँचगान नगरेर स्थानीय बजार विशेषमा झ्याउरे र कौरा ननाँचे आ–आफ्ना समाजमा चलि आएका परम्पाराहरु नयाँ पुस्तालाई हस्तान्तरण नगरे, कसरी संस्कार र संस्कृतिको संरक्षण हुने होला ? अहिलेको पाराले संरक्षण गर्ने भन्दा विकृत बनाउँदै लगिरहेको पाईन्छ ।
जगेर्ना गर्ने भन्दा नष्ट गरिदै छ । मौलिकतालाई वर्णशंकर बनाउँदै सुद्धतामा विशाक्त बनाईदै छ ।
सरलतामा आडम्बरी बनाईदै छ । आफ्नोपन विलिन हुँदैछ । मान्छे संस्कार विहिन हुँदैछ । संस्कृति शब्दकोषबाट सिक्नु पर्ने अवस्थाका अभियन्ताले जगेर्ना तर्फ लाग्नु र उनैलाई बार्षिक बजेट छुट्टयाई लाखौं रुपिया बोतल र बोइलरमा सक्ने कार्यले बहुलजाती भाषा धर्म संस्कृति छन् विशाल भन्ने वाक्यांश सदावहार रही रहला भन्न नसकिने अवस्था आएकोले समयमै सचेत हुन पर्ने अवस्था आईसकेको छ । आफ्नो संस्कार र संस्कृति बचाऔं । विकृति भित्र्याउनेहरुलाई चिनौं । र उनिहरुका कुरा छोडौं ।

Related posts

आमा समूहको साधारण सभा सम्पन्न

admin

न्याय हराएको दुई वर्ष-सम्पादकीय

admin

चौराशी बसन्त पछि प्रकाशित मोतीको माला

admin