कांग्रेसमा कमजोर मध्यमार्ग

दमौली/नेपाली कांग्रेस आज आफ्नै इतिहासको संवेदनशील मोडमा उभिएको छ । १५ औं महाधिवेशनको तयारीले पार्टीलाई संगठन सुदृढ गर्ने अवसर दिनुपर्ने हो । तर व्यवहारमा यो प्रक्रिया विभाजनको बहसमा परिणत हुँदै गएको देखिन्छ । एकातिर संस्थापन पक्षले महाधिवेशनका अधिकांश प्रक्रिया पूरा गरी केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । अर्कातिर इतर पक्ष संस्थापनसँग असन्तुष्ट सबैलाई समेटेर अघि बढ्ने रणनीतिमा छ । दुवै पक्ष आफ्नो बाटो सही ठान्छन्, तर बीचमा पार्टी कमजोर हुने जोखिम बढ्दो छ ।
चिन्ताको विषय के हो भने विवाद नीति, कार्यक्रम र नेतृत्व शैलीबारे मर्यादित बहसमा सीमित छैन । संस्थापन पक्षका कार्यकर्ता र शुभेच्छुक इतर पक्षका नेतालाई गाली गर्न व्यस्त छन् । तर इतर पक्षका महत्वपूर्ण नेता नै संस्थापन पक्षका नेताको सत्तोसराप गर्न व्यस्त छन् । यस्तो भाषा र व्यवहारले विवादलाई वैचारिक होइन, व्यक्तिगत र सत्ताकेन्द्रित बनाउँछ । यसले कार्यकर्तामा निराशा र आम मतदातामा अविश्वास दुवै बढाउँछ ।
यही सन्दर्भमा प्रश्न उठ्छः दुवै पक्षलाई सम्हालेर पार्टीलाई फुटबाट जोगाउने नेता कहाँ छन् ? कांग्रेसको इतिहासमा गम्भीर मतभेद हुँदा मध्यस्थता गर्ने, सबैले सुन्ने र मान्ने व्यक्तित्व सधैं देखा परेका थिए । त्यस्ता भूमिका पार्टीको लोकतान्त्रिक संस्कृतिको बल मानिन्थे । आज त्यो भूमिका खाली देखिन्छ । कि त्यस्ता नेता छैनन्, कि छन् भने पनि पक्ष–विपक्षको ध्रुवीकरणमा उनीहरूको आवाज दबिएको छ ।
के यसको अर्थ कांग्रेसमा मध्यमार्ग नै कमजोर भएको हो ? पूर्ण रूपमा त्यसो भन्न सकिँदैन, तर मध्यमार्गी शक्ति निष्क्रिय र असंगठित भएको भने स्पष्ट छ । जब प्रतिस्पर्धा जितहारको रूपमा मात्र हेरिन्छ, तब मिलाउने प्रयास कमजोरी ठानिन्छ र मध्यस्थकर्ताहरू कुनै न कुनै पक्षका ठानिएर विश्वसनीयता गुमाउँछन् । यही वातावरणले मध्यमार्गलाई ओझेलमा पारेको हो ।
तर समय अझै बितिसकेको छैन । केन्द्रीय महाधिवेशनअघि नै संवादको औपचारिक संयन्त्र बनाउन सकिन्छ । पदीय बाँडफाँट, निर्वाचन प्रक्रियाको निष्पक्षता र असन्तुष्टिका मुद्दामा खुला छलफल आवश्यक छ । यसका लागि दुवै पक्षले केही लचकता देखाउनुपर्छ र वरिष्ठ नेताहरूले पक्षधरताभन्दा माथि उठेर पहल गर्नुपर्छ ।
कांग्रेस केवल एउटा पार्टी होइन, देशको लोकतान्त्रिक यात्राको प्रमुख आधार हो । यसको आन्तरिक विभाजनले देशको राजनीतिक सन्तुलनमै असर पार्छ । त्यसैले आजको आवश्यकता गाली, निन्दा र सरापको प्रतिस्पर्धा होइन, मध्यमार्गको पुनस्र्थापना हो । इतिहासले क्षमता देखाएको पार्टीले फेरि त्यही परिपक्वता देखाउनै
पर्छ । नेपाली काँग्रेसका नेता कार्यकर्ताले विगतबाट पनि पाठ सिक्नै पर्दछ । विभाजनको समाधान एकता नै थियो र हो ।
