दशैं सकिनै लाग्दा देशका विभिन्न भागमा झण्डै हप्ताभरी भएको बेमौसमी वर्षाका कारण धानका धनी नेपाली किसानको विचल्ली भएको छ । भकारीमा हाल्नेबेला भएको धान वर्षाका कारण पूरै नष्ट भएपछि नेपाली किसान यतिबेला भोकमरीको अवस्थामा पुगेका हुन् । देशको कुनै कुना बाँकी छैन जहाँ यो बेमौसमी वर्षाले क्षति नगरेको होस् । तराईका भागमा धान खेती गरिने जमिनको भाग बढी भएकाले स्वाभाविक रुपमा बढी क्षति भएको छ भने तराईमा धानबाली पाकिसकेको अवस्था भएकाले पनि क्षति बढी भएको हो । त्यसो त पहाडमा पनि अवस्था उस्तै छ ।
क्षतिको पूर्ण विवरण आईसकेको त छैन तर प्रारम्भिक विवरणहरुले चामलमा हाम्रो भारत निर्भरतालाई यस वर्ष अझै बढाउने देखिएको छ । प्रारम्भिक विवरण अनुसार झण्डै आठ अर्व २६ करोड ८० लाख रुपैयाको क्षति भएको छ, धान बालीमा मात्र । कृषि तथा पशुुपंक्षी विकास मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा धेरै क्षति लुम्बिनी प्रदेशमा भएको छ । यो प्रदेशमा मात्र कूल क्षतिको आधाभन्दा धेरै अर्थात चार अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिका हिसाबले दोस्रो सुदूरपश्चिम प्रदेश भएको छ, जहाँ एक अर्ब ९१ करोडको क्षति भएको अनुमान छ । यसैगरी प्रदेश १ मा ८० करोड, प्रदेश २ मा ५६ करोड, कर्णाली प्रदेशमा ३० करोड, गण्डकी प्रदेशमा १३ करोड तथा सबैभन्दा कम क्षति बागमती प्रदेशमा पाँच करोड ८० लाख रुपैया बराबरको क्षति भएको छ ।
बर्षा प्रभावित क्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भ्रमण गरेर पीडितलाई राहत प्रदान गर्ने आश्वासन त दिएका छन् तर राहत पाइनेमा पीडितमा विश्वास भने जाग्न सकेको छैन । दुःखका बेला राज्य आफ्नो अभिभावक बनेर आउँछ भन्ने विश्वास नागरिकमा जगाउने हो भने समयमै पीडितहरुलाई राहतको व्यवस्था गर्नु पर्ने हुन्छ । खाना, नाना र छाना गुमेका नागरिकलाई एक छाक खाना, एक सरो नाना र जस्ताकै भएपनि छानाको व्यवस्था तत्काल गर्न सक्ने हो भने सरकारका प्रतिको विश्वास जागृत हुने छ । त्यसैले पीडितलाई तत्काल राहत उपलब्ध गराउने तर्फ सरकारको समयमै ध्यान जाओस् ।
वर्षा पिडितलाई राहत देऊ-सम्पादकीय
previous post