कक्षा संचालनप्रति व्यासको चासो
दमौली/ व्यास नगरपालिकाले तिहारपछि मात्र प्रत्यक्ष कक्षा संचालन गर्न भनेको छ । वैकल्पिक विधिबाट कक्षा संचालन गर्न भने रोकेको छैन ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिवार बसेको बैठकले सो निर्णय गरेको शिक्षा तथा सामाजिक विकाश शाखाका कार्यक्रम अधिकृत सन्तोस गोदार हस्तक्षरित शनिवार जारी विज्ञप्तिमा जनाईएको छ ।बैठकमा शिक्षा समिति, पेशागत संगठनका प्रतिनिधि र सरोकार पक्षको सहभागिता रहेको थियो ।
बैठकले थप तीन निर्णय समेत गरेको छ । समुदायमा फैलिएको रूघा खोकी र कोभिड-१९ को संक्रमणको अवस्थाप्रति अभिभावकहरूलाई आफ्ना बालबच्चाको स्वास्थ्य संवेदनशिलताप्रति सजग गराएको छ । मंसिर तीनगतेबाट प्रत्यक्ष कक्षा संचालन गर्दा पूर्ववत विगतमा जारी निर्देशिकाको पूर्ण पालना गर्न भनेको छ । कक्षा संचालन पछि संक्रमण थप बढेमा विद्यालय व्यवस्थापन समितिको परामर्शमा निर्णय लिन आव्हान गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिका अनुसार परीक्षा संचालन गर्न पनि व्यास नगरपालिकाले निर्देश गरेको छ ।