छोटा–छोटा भिडियो साझेदारी गर्न मिल्ने चिनियाँ सामाजिक सञ्जाल सेवा टिकटक नेपालमा कार्तिक २७ गते सोमबारको मन्त्री परिषद् बैठकको निर्णयसंगै प्रतिवन्धमा परेको छ । जुजि थाओदोङ नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको तथा चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको यो सामाजिक सञ्जालका सेवा सुरु गरेको एक दशकमा एक अर्वभन्दा बढी प्रयोग कर्ता रहेका छन् । नेपाल सरकारले सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटकमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा टिकटकको दुरुपयोग हुन थालेको तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेका कारण टिकटकमाथि प्रतिबन्धसम्मको निर्णयमा पुग्नु परेको सरकारको तर्क छ ।
नेपालमा टिकटक लोकप्रिय हुन थालेको धेरै भएको छैन । छोटो समयमा टिकटक नेपालमा लोकप्रियमात्र भएको छैन धार्मिक, सामुदायिक र जातीय सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, एकअर्काको मानमर्दन गर्ने र अश्लील सामग्री प्रचार गर्ने माध्यमका रूपमा प्रयोग हुँदा राज्य र समाजको टाउको दुखाई समेत भएको छ । तर यसका वेफाइदा मात्र थिए वा छन् भन्यो भने त्यो गलत हुन जान्छ । देशको कुनाकाप्चामा लुकेर रहेको विभिन्न खाले प्रतिभाले टिकटककै सहायताले प्रस्फुटित हुने मौका पाएका थिए । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष थिए । यद्यपि यो प्रयोगकर्ताले कसरी प्रयोग गर्छ भन्नेमा भर पर्ने कुरा भयो ।
सरकारको टिकटक प्रतिबन्ध निर्णय संगै यसको पक्ष र विपक्षमा तर्कहरु हुन थालेका छन् । कतै स्वागतमा दीप प्रज्वलन गरिएको छ भने विरोधका स्वरहरु पनि प्रसस्तै सुनिएका छन् । तर महत्वपूर्ण कुरा के हो भने प्रयोगमा प्रतिबन्ध लगाउनु समस्याको समाधान होइन । टिकटकको माध्यमबाट समाजका विभिन्न पक्षमा अराजकता फैलिएको अवश्य हो । यसको अर्थ प्रतिबन्ध लगाउनु पर्छ भन्ने होइन । प्रयोगकर्ताहरुलाई सचेत तुल्याउँदै यसको दुरुपयोग रोक्ने प्रयासहरु राज्यका तर्फबाट हुनुपर्छ । कानून मार्फत सबैलाई नियममा बाँधेर सहि प्रयोग गर्न प्रेरित गर्न सकिन्छ । जनु कम्पनीको स्वामित्वमा यो रहेको छ, त्यसलाई जिम्मेबार बनाउँदै अश्लिल, धार्मीक तथा समाजिक सद्भाव भड्काउने खालका समाग्री राखिएमा तत्काल हटाउने व्यवस्था गर्न सकिन्छ । त्यसैले हाम्रो आग्रह, टिकटक प्रतिबन्ध होइन् नियमन गरौं ।
टिकटक नियमन कि प्रतिबन्ध ?-सम्पादकीय
previous post