वर्षायाम सुरु भएसंगै देशको मुख्य सडक मुग्लिन– नारायणगढ सडक खण्ड अवरुद्ध हुनु सामान्य जस्तै हो । केही वर्ष अगाडि विस्तार सम्पन्न भएको यो सडक खण्डमा हरेक वर्षामा पहिरोका कारण घण्टौं वा कहिलकाहीँ त केही दिन नै सडक अवरुद्ध हुन्छ भने थुप्रै यात्रुहरुले ज्यान गुमाउने र करोडौं रुपैयाँको क्षति हुने गरेको छ । यो वर्ष त झन एकै रात छ दर्जनभन्दा बढीको ज्यान लिने गरी सोही सडक खण्डमा दुर्घटना भयो ।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्ड विस्तारको कामसंगै सडक अवरुद्ध हुने प्रक्रिया प्रारम्भ भएको छ । यो खण्ड अन्तर्गतको डुम्रे–याम्पा सडक खण्ड वा दमौली–डुम्रे सडक खण्ड वा दमौली–खैरेनी सडक खण्ड बारम्बार अबरुद्ध हुन थालेको छ । सडक विस्तार गर्नेभन्दै भौगोलिक बनोटको वास्तविक अवस्थाको अध्ययन विना र अन्य वैकल्पिक उपायहरु हुँदा हुँदै गह्रौं उपकरणको सहायताले भित्तो खार्ने काम गर्दा सामान्य वर्षामा वा सुख्खा मौसममा पनि पहिरो खस्ने र बाटो अवरुद्ध हुने क्रम सुुरु भएको छ ।
दमौली नजिकैको मुसेखोला नजिकैको यथार्थ यही हो । गह्रौं उपकरणको प्रयोग गर्दै जथाभावि सडक विस्तारको काम गर्दा मुसेखोला छेउको वस्तीमात्र जोखिममा छैन कुनबेला सडक अवरुद्ध हुने हो भन्ने कुराको कुनै ठेगान छैन । कमजोर भौगोलिक बनोट भएको यो स्थानमा सम्भव भए मानव श्रमको प्रयोग वा नभए साना उपकरणको प्रयोग गर्ने हो भने पहिरोको जोखिम कम हुने थियो । यस्तै अवस्था म्याग्देको मौरीबजार नजिकैको सडक खण्डको पनि छ । कमजोर भूबनोट भएको उक्त स्थानमा सडक विस्तार गर्ने क्रममा भित्तो नखारेको भए पनि हुने अवस्था थियो । तर त्यसको वेवास्ता गर्दै जथाभावि भित्तो खार्ने काम गर्दा अझै कतिवटा वर्षा सडक अवरुद्ध भएको समाचार पढ्नु पर्ने, अवरुद्ध भएका कारण सास्ती भोग्नु पर्ने वा धनजनको क्षति भएको समाचार पढ्नु पर्ने हो एकिन छैन ।
वार्षिक रुपमा धनजनको क्षति भएको हिसाव राख्ने काम छोडेर अब सडक विस्तारका क्रममा भूवनोटको सही अध्ययन गरेर मात्र विस्तारको कामलाई अगाडी बढाउन आवश्यक भएको छ । जसले धनजनको क्षतिलाई कम गर्ने मात्र छैन बरु सडक अवरुद्ध हुने क्रम पनि घट्दै जानेछ ।
सडक विस्तार गर्दा ध्यान दिऊँ-सम्पादकीय
previous post