दमौली/नेपाल प्रेस युनियन तनहुँले रेडियो प्रसार विकास समितीबाट सुदूरपश्चिमका पत्रकारहरु प्रकाश बम, सुनिता रावल तथा चत्रबहादुर कुँवरलाई राजनैतिक पूर्वाग्रह साधेर कामबाट हटाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई युनियनले ज्ञापन पत्र पठाउँदै कामबाट हटाइएका पत्रकारहरुलाई तत्काल पूर्नवहाली गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा सरकारी सञ्चार माध्यमहरुमा लामो समय देखि काम गर्दै आएका पत्रकारहरुलाई हटाएर कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरिएको छ । साथै सरोकारवालाहरुको माग सम्बोधन हुने गरि मिडिया काउन्सिल विधेयक ल्याउन गरिएको आग्रहको वेवास्ता गर्दै राष्ट्रिय सभा मार्फत अगाडि बढाइएकोमा सबै दलहरुको सहमतिमा विधेयक ल्याउन आग्रह समेत ज्ञापन पत्रमा गरिएको छ । असोज ६ बाट लागू गर्न भनिएको आचार संहिता पनि सहमति बेगर आएको भन्दै युनियनले आपत्ती जनाएको छ । ज्ञापनपत्रको अन्त्यमा प्रेस युनियन सदैव पत्रकारको हक हित र प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने प्रण गर्दै प्रेस स्वतन्त्रता विरोधी कुनै पनि क्रियाकलाप युनियनलाई सह्य नहुने सरोकारवाला सबैलाई स्मरण गराइएको छ ।