दमौली/नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँ शाखाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । प्रतिष्ठानले उक्त अवसरमा आजिवन सदस्यहरुका लागि मुटु परिक्षण तथा चिकित्सकका लागि अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरको छ ।
शनिबार सम्पन्न अधिवेशनले प्रतिष्ठानको सभापतिमा कृष्णचन्द्र पाण्डेलाई सर्वसम्मत निर्वाचित गरको छ । अधिवेशनले उपसभापतिमा चूडामणी दाहाल, सचिवमा पितम्बर सिग्देल , कोषाध्यक्षमा अञ्जु दाहाल तथा सहसचिवमा मानबहादुर आलेलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा रमेश विकल, अमरराज नहर्की, सिताराम नेपाली, रामनाथ रिमाल, अशोक पन्थ र रघुनाथ खनाललाई चयन गरेको छ ।
सभापति पाण्डेका अनुसार प्रतिष्ठानको अयोजनामा सोही दिन जिल्ला समन्वय समितिको सभाकक्षमा आजिवन सदस्य परिचय सम्पन्न भएको थियो । जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्य एवं प्रा.डा प्रकाशराज रेग्मी, डा प्रेमराज श्रेष्ठ लगाएत वरिष्ठ मुटुरोग विशेषज्ञहरुको उपस्थितीमा सधारण सभा तथा परिचय कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले ९५ प्रतिशत मुटुरोगको उपचार हाल नेपालमा हुने गरेको र यसमा हृदयरोग प्रतिष्ठान केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । विशिष्ट अतिथी रेग्मीले कार्यक्रममा मुटुरोग र यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।
दमौली स्थित नेशनल एपोलो अस्पतालमा संस्थाका आजिवन सदस्यहरुका लागि राखिएको मुटु परिक्षण कार्यक्रममा आजिवन सदस्य तथा बालबालिका गरी सयभन्दा बढीको मुटु परिक्षण गरिएको थियो । मुटु परिक्षण कार्यक्रम प्रा डा रेग्मीको नेतृत्वमा रहेको डा प्रेमराज बैद्य, डा अजय अधिकारी तथा डा विनायक गौतम सम्मिलित विशेषज्ञ टोलीको सहभागितामा सम्पन्न भएको हो । यसैगरी नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रको सहयोगमा व्यास नगरपालिका भित्रका सरकारी तथा नीजि अस्पतालमा चिकित्सकका लागि मुटुरोगको उपचारका सन्दर्भमा भएका नयाँ प्रगति र उपचार पद्धतिको बारेमा अभिमुखिकरण समेत सम्पन्न भएको छ ।
हृदयरोग प्रतिष्ठानको साधारण सभा- मुटु परिक्षणदेखि चिकित्सक अभिमुखिकरणसम्म
previous post