झुल्के भानु उज्यालिए हिमचुली पाखा पखेरा बन
चम्के भानु उचालिए सुरसिला भाषा सुसेली कन।
नेपाली पन झल्कियो पृथिबीले जोडे सबैका मन
जन्मे भानु र एक सुत्र कसियो सम्बादको साधन।
ए हाम्रा गुरु भानु छौ तिमी कहाँ कस्तो छ बस्ने घर।
श्रद्धाभक्ति सदा छँदैछ बलियो स्विकार गर्ने गर
होला आर्जनको सुरम्य गतिलो ठाउँ खुबै सुन्दर।
तिम्रै पूर्ब थलो मिल्यो यदि भने फर्केर हेर्ने गर
उस्तै छन मुखिया र हाकिमहरू उस्तैछ गाँठी चुरो
लाम्खुट्टे उपियाँ बढे अझ बढे हट्ने कहाँको कुरो।
उस्तै छन चपला बढेर नखरा अर्कै छ रे चक्कर
देखेको यहि हो पत्यार नपरे फर्केर हेर्ने गर।
बा आमा अब भन्न हुन्न जसले बोले कि पाखे परे
निष्टा भक्ति कठै धराप तिर गो ऐसू पुकारौँ अरे।
घासीमा पनि त्याग छैन अहिले सोचिन्न केही पर
देखेको यहि हो पत्यार नपरे फर्केर हेर्ने गर।