
–२०७५ साल साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षिय बालिका निर्मला पन्त बलात्कार पछि हत्या भयो । उनको हत्यारा अझै फेला परेको छैन ।
–२०७७ असोजमा बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षिय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो ।
–२०७७ माघ २१ मा बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षिय भागरथी भट्टले पनि निर्मला र सम्झनाको नियति भोगिन् ।
–२०८२ फागुन २३ गते शनिबार वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको पनि बलात्कार पछि हत्या भएको अवस्थामा शव भेटियो ।
नेपाली चेलीहरु कति असुरक्षित छन् भन्ने कुरामा केही प्रतिनधि घटना मात्र हुन्, यी । म यो आलेखमा नातिनी, छोरी, दिदी, बहिनी वा भाञ्जीको बलात्कार तथा बालात्कार पछि हुने हत्याका घटनाले परिवारमाथि हुने बज्रपात र नेपाली राजनीतिको विद्रुप तस्विरबारे संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
कुरा निर्मला पन्तबाटै सुरु गरौं । साथीकोमा होमवर्क गर्न गएकी छोरी अवेरसम्म नफर्के पछि दुर्गादेवी पन्त सहयोगका लागि प्रहरी सामु पुगेकी आमा दुर्गादेवीलाई प्रहरीले तिम्री छोरी भोली खोजौंला भनेर फर्काए । बलात्कार पछि हत्या गरिएकी निर्मलाको शव नजिकै उखुबारीमा भेटियो । प्रहरीले घटना स्थाल सुरक्षित राख्नु साटो निर्मलाको कपडा पखाल्ने सम्मका हर्कत ग¥यो । निर्मलाको न्यायका लागि देशभर प्रदर्शन हुन थाले । प्रदर्शनका क्रममा अर्का एक बालक सनी खुन्नाले ज्यान गुमाउनु प¥यो ।
असोज ७ गते साँझ गोठमा जाने क्रममा वेपत्ता भएकी सम्झनाको शव स्थानीय शिव मन्दिरमा बीभत्स अवस्थामा भेटियो । बलात्कार तथा हत्या अभियोगमा सोही ठाउँका २० वर्षिय राजेन्द्र बोहोरा पक्राउ परे । २०७८ मंसिर ८ मा बझाङ जिल्ला अदालतले बोहोरालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनायो र उनी अहिले जेलमा सजाय काटिरहेका
छन् । यो घटनाले नेपाली समाजमा दलित समुदाय र बालिकाहरूमाथि हुने हिंसाको डरलाग्दो रूप उजागर गरेको थियो । पीडित परिवारले न्याय पाए पनि सम्झनालाई गुमाउनुको पीडा अझै पनि उत्तिकै गहिरो छ ।
स्थानीय सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्ययनरत भागिरथीको बलात्कार पछि भएको हत्याको घटनाले दोगडाकेदारमात्र होइन देशनै शोकमा डुब्यो । घरमा आमा एक्लै भएकोले आफु हतारमा रहेको भन्दै विद्यालयमा साथीहरुसंग बाट छुट्टिएर हिँडेकी भागरथीको शव बलात्कार पछि हत्या गरिएको अवस्थामा स्थानीय लवलेक जङ्गलमा भेटियो । नाताले भाइ पर्ने दिनेश भट्ट भागिरथीको बलात्कार पछि हत्या गरेको अभियोगमा समातिए । उनलाई २०७८ फागुनमा बैतडी जिल्ला अदालतले दोषी ठहर गर्दै नाबालक भएका कारण १२ वर्ष ६ महिनाको कैद सजाय सुनायो । भागिरथीको बालात्कारी हत्यारा जेल परेका कारण न्याय पाएको भन्न सकियो तर उनको रिक्तता सधै परिवारमा रहिरहने छ ।
अघिल्लो साता शनिबार विहान ६ बजे ट्युसन पढ्न भनेर निस्केकी इनिशा विक रक्ताम्मे शरिर, लुछिएको कपाल सहित वेहोस अवस्थामा शहीद पार्कको जंगलमा भटिइन् । प्रहरीले हतार हतार अस्पताल त पु¥यायो तर उनको मृत्यु भैसकेको थियो । ८ बजे ट्युसनबाट फर्केर आमासँग पैतृक थलो गुर्भाकोट जाने उनको योजना अब कहिल्यै पूरा नहुने भएको छ । घटनामा संलग्न चार किशोर पक्राउ परेका छन् तर उनीहरुलाई राजनीतिको आडमा बचाउन खोजिएको भन्दै देशभर इनिशाको न्यायका लागि आन्दोनल चलिरहेको छ ।
अब एकछिन् नेपाली राजनीतिको विद्रुप तस्वीरबारे चर्चा गरौं । निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा सत्ताधारी दल थियो, नेपाल कम्युनिस्ट पार्टी । यसका नेताहरुले निर्मलाको न्यायको लागि भएको प्रदर्शनलाई कम्युनिस्ट सरकार विरुद्धको आन्दोलन भएको व्याख्या गरे । सोही दलकी महिला सांसदले निर्मलाको न्यायका लागि भएको आन्दोलनलाई कम्युनिस्ट सरकार असफल गराउन रचिएका षड्यन्त्र भनिन् । भारतको एउटा मामुली फिल्मी कलाकारले प्रधानमन्त्री ओलीलाई काठमाण्डौं आर्लेको केही घण्टामा भेट्न पाए तर आफ्नी छोरीको बलात्कारी हत्याराको खोजि गरी आवश्यक कारवाहीको माग गर्न काठमाण्डौ पुगेका निर्मलाका आमा बुबाले उनैलाई भेट्न एक हप्ता कुर्नु प¥यो । त्यस यता नेपाली कांग्रेसका बालकृष्ण खाँण र रमेश लेखक, नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा ओमप्रकाश अर्याल गृहमन्त्री भैसकेका छन् । हरकेले मन्त्रालय प्रवेश गर्दैगर्दा निर्मला पन्तको बलात्कारी हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउने उद्घोष गर्छन् तर आजका मितिसम्म कुनै गृहमन्त्रीले गम्भीरतापूर्वक कदम चालेको देखिएको छैन ।
सञ्चार कर्ममा रहँदा निर्मलाको निम्ति न्यायभन्दै घाँटीका नशा फुट्ने गरी चिच्याउने अनि राजनीतिमा आएपछि आफु गृहमन्त्री भए २४ घण्टामा निर्मलाका हत्यारा समात्ने भाषण गर्ने रवि लामिछाने दुइ पटक गृहमन्त्री भए तर उपलब्धि हात लाग्यो सून्य । नयाँ वा पुरानो जो भएपनि निर्मलाहरुको न्यायको पक्षमा कोही छैन भन्ने तथ्य गृहमन्त्रीहरु खाँण, लामिछाने, श्रेष्ठ,लेखक तथा अर्यालको व्यवहारले पुष्टि गरेको छ ।
