
दमौली/सबै किसिमका विभेद र जातीय छुवाछुत उन्मुलन दिवस दिन बुधबार दमौलीमा आयोजित कार्यक्रमका वक्ताहरुले समाजमा रहेको जातीय विभेद र छुवाछुतको पूर्ण अन्त्यको लागि दलित सहित सबै समुदायको पहल आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले दलित, गैर दलित, सबै समुदायले एकैसाथ एउटै स्वरमा जातीय समानताको नारा लगाउन सके समाजबाट जातीय विभेद र छुवाछुत अन्त्य सम्भव भएको चर्चा गर्दै तीनवटै तहका सरकारले चाहे जातीय विभेद अन्त्य हुन सक्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्लेले दलितमाथिको विभेद अबको समाजमा स्विकार्य नहुने बताउनुभयो । दलितको समस्यालाई समाजको सबै समुदायले आफ्नो ठान्न सके जातीय विभेद र छुवाछुत अन्त्य हुने समेत उहाँले बताउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिङ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, गण्डकी प्रदेश सभा पूर्व सदस्य सरीता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख राजु विक, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, एमाले प्रदेश सल्लाहकार परिषद् सदस्य मोहनकुमार विक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व वास्तोला, नेकपा माओवादी तनहुँका अध्यक्ष सूर्य गौली, दलित मुक्तिमोर्चा केन्द्रिय सदस्य डिलबहादुर नेपाली, नेपाल दलित संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशबहादुर सुनार, माओवादी केन्द्र व्यास नगर अध्यक्ष गोपाल सुर्खाली लगायतले दलितको सिप विकासको अलावा छुवाछुत र जातीय विभेद अन्त्य गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी बजेट तर्जुमा गरिनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम संचालन हुनु पहिले हजारौं दलित समुदायका मानिसहरु भेला भई ¥याली सहित बजार परिक्रमा गरिएको थियो । अनसन चौताराबाट भेटेरेनरी अस्पताल, प्रहरी कार्यालय, व्यास नगरपालिका भवन र सफा सडक हुँदै जिल्ला सभा हल दमौलीमा पुगी ¥याली समापन भएको थियो ।
कार्यक्रममा जातीय विभेद र छुवाछुत विरुद्धको कविता, गीत वाचन गरिएको थियो । कार्यक्रममा सहभागी हुन तनहुँको १० वटै पालिकाबाट दलित समुदायका मानिसहरु सहभागी भएका थिए । आँबुखैरेनी गाउँपालिकाको कार्यालयले समेत आफ्नै पालिकामा कार्यक्रम गरी दिवस मनाएको जनाएको छ ।
जातीय विभेद र छुवाछुत अन्त्यको लागि जिल्लामा रहेका दलितहरु विगतदेखि नै संगठित रहँदै आएको संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका अध्यक्ष तथा पूर्व मन्त्री डोवाटे विकले बताउनुभयो । जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको समेत मन्त्री विकले बताउनुभयो ।
कार्यक्रमको संचालन संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका सचिव शालिकराज गहतराजले संचालन गर्नुभएको थियो ।