20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

हाम्रो चाहना विस्तारवाद युगको समाप्ती

रमेश विकल

गत शुक्रबार आफ्ना सुरक्षाकर्मीको हौसला बढाउन भारत–चीन विवादित भूमि लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको नाम नलिइकन तर उसतर्फ लक्षित गर्दै विस्तारवादको युग समाप्त भएको बताए । जुन १५ मा चीनिया पक्षसंग विवादास्पद लद्दाखमा भएको भिडन्तमा आफ्ना २० साथी गुमाएका कारण निराश बनेका इण्डिया–तिब्बत बोर्डर पुलिस तथा भारतीय स्थल र वायु सेवाका जवानलाई सान्वना दिन चिफ अफ डिफेन्स स्टाफ विपित रावत र भारतीयसेना प्रमुख मनोज मुकुन्द नरवणेका साथमा लद्दाख पुगेका मोदीको भनाई थियोः– विस्तारवादको युग सकियो,यो विकासको युग हो । वाक कलामा निपूर्ण मोदीले वर्तमान विश्वको सुखद भविष्यको आधार भनेको विकासवाद भएको बताए । उनले मानवताको सबैभन्दा ठूलो विनाश विस्तारवादले गरेको उल्लेख गर्दै विश्व शान्तिमा विस्तारवादले खातरा निम्त्याएको समेत बताए । उनको कथन थियो, तर विस्तारवाद संसारबाट समाप्त भएर गएको छ । वर्तमान विश्व विस्तारवादको विपक्षमा र विकासवादको पक्षमा रहेको उनको जिकिर थियो । उनले चीन तर्फ लक्ष्य गर्दै भने भारतीय जनताको शान्ति र मित्रताको पक्षधरतालाई कमजोरी नठानियोस् ।
भारत र चीनबीच कयौं ठाउँमा सिमा विवाद छ र यसका कारण बेलाबेला यी दुइ देश विच झण्डै झडपको स्थिती नै आउँछ । यस्तै झडपको स्थिती जुन १५ राती आयो र भारतले आफ्ना २० सुरक्षाकर्मी गुमाउनु प¥यो । चीन तर्फ कति क्षति भयो भनेर अहिलेसम्म कुनै जानकारी आएको छैन । मैले मोदीको लद्दाख भाषण देखि यो सबै सन्दर्भ किन उठाएको भने भारतसंगको सिमा विवाद नेपालको पनि छ । अहिले सर्वाधिक चर्चामा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको तीनसय ७२ किमी भूमाग जुन नेपालको हो , भारतले विगत ५८ वर्ष देखि मिचेको छ । अरु त्यस्ता थुप्रै ठाउँहरु छन्, जहाँ भारतले हाम्रो भूमि मिचेको छ । सिमाविद्हरुका अनुसार नेपाल र भारतबीच ७१ स्थानमा सीमा विवाद छ र भारतले हाम्रो कूल ६ सय वर्ग किमी भूभाग मिचेको छ ।
एकछिन अहिले चर्केको विवाद सम्बन्धी निकट विगतको पृष्ठभूमिको चर्चा गरौ अनि थप चर्चा गर्ने छु । ऐतिहासिक सन्धी, दस्तावेज, तथ्य र नक्साको आधार तथा सन् १८१६ को सुगौली सन्धीको आधारमा काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो, जहाँ कुटी, गुञ्जी र नावी नाम भएका वस्तीहरु रहेका छन् । छैटौं जनगणना अर्थात विसं २०१८ मा त्यहाँ पुगेर जनगणना गर्ने मानिसहरु हामीसंग जीवित साक्षी छन् । त्यहाँका नागरिकले नेपाल सरकारलाई मालपोत तिर्दै आएको प्रमाण पनि नेपालसंग छ ।
तर २०७२ साल जेठ १ मा हाम्रा निकट छिमेकी र हितैसी भनिएका भारत र चीनले महा–भूकम्पका कारण भावविह्वल भएका बेला हामीलाई सामान्य खबरसमेत नगरी हाम्रो भूमि लिपुलेकलाई व्यापारीक मार्गको रुपमा प्रयोग गर्ने सहमती गरे । तत्काल सुशिल कोइरालाको नेतृत्वमा रहेको सरकारले भारत तथा चीनलाई असहमतीको नोट पठायो । त्यस अघि सन् २००५ मा भारतले नेपाली भूमि हुँदै आफ्नो भूभागको धार्चुलाबाट तिब्बतको मानसरोवर जाने मोटर मार्ग बनाउने निर्णय गरिसकेको थियो भने त्यसको तीन वर्षपछि अर्थात सन् २००८ बाट त सडक निर्माण कार्य नै थालिएको थियो । हाम्रो भूमि मिचेर सडक निर्माण गर्ने निर्णय गरको १४ वर्ष र निर्माण थालेको ११ वर्षपछि उसले हाम्रो उक्त भूमि समेटेर आफ्नो राजनैतिक नक्सा प्रकाशिन ग¥यो सन् २०१९ अर्थात विसं २०७६ साल कार्तिक १६ मा । यस पटक पनि सरकारले आफ्नो असहमति जनायो । तर भारतले त्यसलाई कुनै महत्व नै दिएन । झन सुदुर पश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ गुन्जीदेखि लिपुलेकसम्मको हाम्रो भूमिमा करिब २२ किलोमिटर लामो सडक निर्माण सम्पन्न गरेर बैशाख २६ गते उद्घाटन समेत गरपछि सीमा विवाद थप पेचिलो बन्दै गएको हो ।
यसबीचमा सबै तीन करोड नेपालीको बलमा र वर्तमान सरकारको अगुवाईमा जेठ ५ मा मन्त्री परिषद्बाट नेपालको अतिक्रमणमा परेका कालापानी , लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा प्रकाशित गर्ने निर्णय भयो भने सोही जेठ ७ मा उक्त नक्सा प्रकाशित समेत भयो । जेठ अन्तिम साता संविधान संसोधन गरेर नेपालको निशाना छापमा नयाँ नक्सा समावेश गर्ने संसदको सर्वसम्मत निर्णय पनि भएको छ । उता भारतीयहरु भने उक्त भूमि आफ्नै भएको र नेपालले अतिक्रमण गर्न खोजेका आरोप लगाइ रहेका छन् । नेपाल विरुद्ध यतिखेर भारतीय सञ्चार माध्यम खुलेर लागेका छन् । नेपालका तर्फबाट भएका वार्ता र सम्वादका प्रयत्नलाई कोरोना पछि भनेर पछाडि धकेल्दै आएको भारतको रबैया अवश्य आम नेपालीको मन दुखाउने खालको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि हो र कुटी, नावी अनि गुञ्जी गाउँहरु हाम्रा हुन् तथा त्यहाँ वसोवास गर्ने दाजुभाइ, आमाबुवा, दिदीबहिनी हाम्रा हुन भन्ने कुरामा हामी दृढ विश्वस्त छौं । तर भारतको विस्तारवादी र मिचाहा प्रवृत्तिले हामीलाई आफ्नो जमिन उपभोग गर्न दिएको छैन भने हामीले आफ्ना दाजुभाइ, आमाबुवा, दिदीबहिनीलाई आफ्ना भन्न पाएका छैनौं ।
विवादित् सीमामा गएर चीनलाई विस्तारवादीको आरोप लगाउँदै विस्तारवादको नभइ अबको युग विकासवादको भएको भाषण मोदीले गर्दैछन् । उनले चीन तर्फ संकेत गर्दै चोर औंला ठड्याएर विस्तारवादीको आरोप लगाउँदा हातका वाँकी चार औंलाले आफुतर्फ इंगित गरको चाल पाएकि पाएनन् होला । अनि नेपाली जनताको शान्ति र मित्रता पक्षधरतालाई कमजोरी ठानेर आफुले अनाहकमा दुःख दिइरहेको कुरा मनको कुनै कुनामा महसुस भयो कि भएन होला ? आफु विस्तारवादको संवाहक भएर अरुलाई विस्तारवादले विनाश निम्त्याउँछ भन्दै गर्दा आफ्नै कार्यका प्रति आत्मग्लानी भयो कि भएन होला ? मोदीले विस्तारवादको अन्त्य भएको आफ्नो कथनीलाई करणीमा बदल्दैै नेपाललाई तत्काल आफुले हडपेको भूमि फिर्ता गरुन् र साँच्चै विस्तारवाद विरोधी र विकासवादका पक्षपोषक बनुन् ।

Related posts

भेदभाव अन्त्यका लागि सबै एकमत बनौं-सम्पादकीय

admin

नीति कथाको गधा नियतीमा नेपाल र नेपाली

admin

बिकासको सूनिश्चित मार्ग के हो ?

admin