22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

कोरोना भाइरसले थपेको युवा भूमिका

रामचन्द्र पोख्रेल वडासदस्य ऋषिङ्ग–५

कोरोना भाइरस चीनको बुहान प्रान्तमा पहिलो पटक देखा परेको भन्ने विषयमा हामी सबैलाई थाहा भएकै कुरा हो । हाच्छ्युँ गर्दा नाकबाट निस्कने स–साना सिँगानका छिटाहरुबाट संक्रमण हुने भनिएको कोरोना भाइरस वास्तवमै एतिबेला संसारको लागि चुनौति बनेर रहेको छ । मानव सभ्यताकै निम्ती चुनौतिको रुपमा देखापरेका यो भाइरसको संक्रमण हुना साथ मरिहालिन्छ भन्ने त होइन तर यसका कारण संसारका झण्डै साढे दुइ लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
विश्वको सर्व शक्तिमान भनिएको हाम्रो सपनाको देश अमेरिकालाई यसले आच्छु आच्छु पारेको मात्र छैन सर्ब शक्तिमान राष्ट्रको ताज नै खोसिएला जस्तो भैसकेको छ । यस्तो बेला हाम्रो जस्तो अल्पविकसित राष्ट्रले भोग्नु पर्ने समस्या झन ठूलो हुनेछ । कोरोनाका कारण संसारका लाखौं युवाले रोजगारी गुमाउँदै छन् । रोजगारी गुम्दा उक्त युवाको परिवारमा पर्ने नकारात्मक असर बारे हामीलाई थाहैछ । उसका परिवारलाई सांझ विहान हात मुख जोर्न समस्या हुने मात्र होइन विरामी पर्दा राम्रो उपचार पाउने छैनन् भने उसका भाइ बहिनी वा छोरा छोरीले राम्रो शिक्षा दीक्षा पाउने छैनन् ।
तथ्याङ्ग भन्छ, नेपालका झण्डै ७० लाख युवा विदेशमा शिक्षा वा रोजगारीको क्रममा छन् । यो भनेको नेपालको कुल जनसंख्यको एक तिहाइ भन्दापनि बढी हो । शिक्षा आर्जनका लागि भनिएपनि अधिकांश युवाहरु रोजगारीका लागि नै विदेशमा रहेका यथार्थ हामीले बुझेकै छौं । र ति युवाहरु त्यहाँ रोजगारी खोसिएर नेपाल फर्कनु पर्ने अवस्था छ । यदि यसो भएमा वेरोजगारी समस्याले पिरोलिइरहेका हामीलाई थप पिरोलिनु पर्ने अवस्था आउँछ । खासगरी युवा पुस्ता यो कुराले बढी पिरोलिने छ । किनभने कमाउने उमेर समूहको उहि हो र उसको काँधका परिवारको लालनपालन, शिक्षा, स्वास्थ्य आदि सबैका जिम्मा छ ।
हामीलाई थाहा भएको अर्काे कुरा के पनि हो भने बेरोजगारीले अनेकौं समस्याहरु सृजना गर्दछ । यसका कारण गरिबी बढ्छ । गरिबी बढ्नुको परिणाम जनस्वास्थ्यमा नकारात्मक असर हुने त छँदैछ, उचित शिक्षा प्राप्त गर्ने अवसरबाट हामीले भविष्यका कर्णधार भन्ने गरेका बालबालिका वञ्चित हुनेछन् । समाजमा चोरी, लुटपाट जस्ता घटना बढ्न जाँदा शान्ति सुव्यवस्थामा खलल आउने छ । यी सबै कुराले देश र हाम्रो भविष्यलाई सदियौं पछाडि धकेल्ने छ भन्ने कुराले अहिले युवालाई सार्वाधिक सताएको हुनु पर्छ ।
कोरोना संक्रमण बढ्न नदिन देश यतिबेला बन्दाबन्दीमा छ । यतिबेला युवाको भूमिका महत्वपूर्ण हुन आउँछ । बन्दाबन्दीको पूर्ण पालनामा आफु प्रतिवद्ध रहेन र अरुलाई पनि प्रतिवद्ध रहने कुरामा सचेत गराउने काममा युवा नै सक्रिय हुन सक्छन् । यसले हाम्रो भविष्य सुरक्षित गर्न सघाउने छ । आम नेपाली युवालाई मेरो आग्रह छ, तपाईहरुको सक्रियताले देशलाई अहिलेको संकटबाट पार पाउन र हाम्रो भाविष्य सुरक्षित राख्न सहयोग पुग्नेछ । घरमै रहनु होला , सुरक्षित रहनु होला तर प्रविधिको पहुँचमा रहेका सबैले त्यसैको सहयोगमा चेतना बढाउने र संकटबाट पार पाउने कुरामा सहयोगी भूमिका निवार्ह गर्नुहोला । यसैमा हामी सबैको भलाई छ ।

Related posts

ओजोन तह संरक्षण सबैको जिम्मेबारी

admin

निर्मलाको निम्ती न्याय

admin

संसद पुनस्र्थापनाको तनहूँमा स्वागत

admin