23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

बेच्ने नै हो यदि भने………..

छविदीप आले
[email protected]

प्रकृति आफैमा रहस्यमय छ । निर्जिव ढुङ्गा, माटो, हावा पानीदेखि लिएर किरा फट्याङ्ग्रा जीवजन्तु, चराचुरुङ्गी मानिस सबै प्रकृतिकै हिस्सा हुन् । प्रकृतिको आफ्नै नियम हुन्छ, प्रकृति आफ्नै गतिले आफ्नै नियममा चलिरहन्छ, बाहिरी हस्तक्षेप नभएसम्म । सम्पूर्ण जीवित जीवजन्तु बाँच्नका लागि प्रकृतिमै निर्भर रहन्छन् । तर प्राकृतिक नियममा पारिस्थितिक प्रणालीमा ती जिवजन्तुहरुको उतिसाह्रो हस्तक्षेप हुँदैन । मानिस मात्र एउटा यस्तो प्राणी हो, जो बाँच्नका लागि प्रकृतिमा निर्भर हुनुपर्दछ भनेर जान्दा जान्दै पनि प्राकृतिक पद्धतिमा अनावश्यक हस्तक्षेप गर्दछ । आफ्नो आवश्यक भन्दा पनि धेरै प्राकृतिक स्रोतको उपभोग गर्न चाहन्छ । हुँदा सक्दासम्म गर्दछ पनि । मानिसले जतिनै ज्ञान हासिल गरेपनि जतिनै उन्नति गरेपनि प्रकृति भन्दा माथि जान सकेको छैन । कमसेकम आजको मितिसम्म प्रकृतिलार्य हाम्रो अनुकूल बनाउन सकिदैन बरु हामी चाहि प्रकृति अनुकूलको बन्न सक्दछौं र बन्ने कोशिस पन गर्नु पर्दछ ताकि पारिस्थितिक पद्धति सन्तुलनमा होस् । यो यथार्थ हरकोहीलाई थाहा छ र पनि मानिसहरु यसलाई नबुझे जस्तो गर्न रुचाउँछन् ।
संसारको सबै ठाउँको प्रकृति एकै किसिमको छैन । भिन्न ठाउँको हावा पानी जिवजन्तु वनस्पति, भूगोल सबै अलग अलग छ । कहिँ पानी नै पानी छ, कहिँ जंगल नै जंगल नै जंगल । कहिँ बालुवा नै बालुवा । कहि प्रचण्ड गर्मि छ, कहिँ मुटु ठिहि¥याउने जाडो कहिँ बाह्रै मौसम झरी बर्षा त कहि बर्ष बर्षमा एक थोपा पानी पनि पर्दैन । भिन्न भिन्न देशको हावा पानी र प्रकृति फरक फरक किसिमको छ । यो मानेमा हेर्दा विश्व भुगोलमा सानो देश, भैकन पनि नेपाल भाग्यमानि देश हो । सानो भैकन पनि यहाँको हवा पानीमा प्रकृतिक विविधता छ । उत्पात गर्मि हुने तर मलिलो तराईको समथर भू–भाग, यही छ भने विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यही छ । तराई र हिमालको बीचमा हरियो जंगलहरुले भरिएको पहाड पनि यही छ ।
पारिस्थितिक पद्धति र नेपालको हावा पानीको प्रसंग जोडेर भूमिका बाँध्न खोज्नुको तात्पर्य चाही चुरे पर्वत श्रृङ्खलाको विषयवस्तुलाई उठान गर्नु हो । चुरे पर्वत श्रृङ्खला तराई उत्तरी र पहाडको दक्षिणी सीमाना हो । अझ सरल भाषामा भन्नु पर्दा तराईको समथर भूभाग सकिएपछि क्रमशः उत्तरतर्फ लाग्दै गर्दा चुरे भावर पर्वत श्रृङ्खला हुँदौ पहाडी भू–भाग शुरु हुन्छ । चुरे भावर आफैमा प्राकृतिक गुणले भरिपूर्ण छ, विशेषतः यहाँका गिट्टी बालुवा प्राकृतिक रुपले असाध्यै राम्रो गुणस्तरको मानिन्छ । त्यसैले बर्षौदेखि यसको दोहोन हुँदै आएको छ । अवैध रुपमा चुरेका गिट्टी वालुवा चोरी निकासी पनि भएका छन् । विगतका बर्षहरुमा यसको अत्याधिक दोहोनले प्रकृतिमा गंभिर असर पर्ने हुँदा अत्याधिक दोहोनलाई नियन्त्रण गर्नुपर्ने चोरी निकाशी गर्नेलाई कारवाही गर्नुपर्ने जस्ता कुराहरु पनि उठ्ने गर्दथ्यो । तर यो बर्ष भने गजवै भयो । किनभने सरकारले नीतिगत रुपमै चुरे भावरको दोहोन गर्नको लागि बाटो खोली दिएको छ । चुरेको गिट्टी र बालुवा बेचेर व्यापार घाटा कम गर्ने नीति सरकारले लिएको छ, यहाँनेर एउटा प्रश्न गर्न मन लागेको छ, तिमीहरुले अर्बौ अरब भ्रष्टाचार घोटाला गरेर लागेको ऋण तिर्न बेच्नु पर्ने ? अझ सरकारमा सरकारमा बसेकाहरु लाजै पचाएर भन्छन्, जुन देशमा जे छ, त्यही बेच्ने त हो नि । हरेशिव कुन दिनमा यिनले अब यही एउटा देश छ, यसलाई पनि बेचिदिऊँ भन्न बेर लगाउँदैनन् ।
देशमा भएको प्राकृतिक स्रोत साधनको प्रयोग गर्नु पर्दछ, त्यसबाट फाईदा लिन सक्नु पर्दछ । त्यसमा दुईमत छैन । तर त्यो स्रोत साधनको महत्व के कति छ, त्यसको लेखाजोखा गर्न पर्दछ कि नाई ? हो, निशंकोच चुरेभावर क्षेत्रमा गुणस्तरीय गिट्टी वालुवा पाईन्छ । त्यसलाई राम्रो मूल्यमा अन्तराष्ट्रिय बजारमा बेच्न सके नेपाललाई राम्रै लाभ होला तर त्यसले पर्न जाने प्राकृतिक असन्तुलनलाई कसरी व्यवस्थापन गर्ने ? तराईको समथर भूभाग असाध्यै मलिलो हुनु त्यहाँ प्रसस्त उब्जनी हुनुमा चुरे पर्वत श्रृङ्खलाको ठूलो योगदान छ । एक अर्थमा तराईको पानीको मुहान नै हो चुरे । नीतिगत व्यवस्था नहुँदा त लुकीछिपी चोरीचारी दोहनको शिकारमा परेको चुरे नीतिगत रुपमै दोहोन गर्न सकिने बाटो खोलिदिएपछि कति समय पो टिक्न सकल र ? कल्पना गरौं त चुरेका हरिया डाँडाहरु मरुभूमिमा परीवर्तन भएको । अनि त्यसले पारिस्थितिक पद्धतिमा पर्न सक्ने असरहरु । सरकारले चुरे बेचेर सजिलै पैसा कमाउने बाटो त रोज्यो । तर न त त्यसले वातावरणमा पर्ने असरहरुको आँकलन गर्न सक्यो, न त त्यो असरलाई कसरी नियन्त्रण गर्न सकिन्छ त भन्ने उपायहरु नै । अनि खाली देशमा जे त्यही बेच्ने त हो नी भनेर लहडी गफ लगाएर मात्र हुन्छ ?
देशको केही पनि बेच्नु हुँदैन भन्ने मनसाय मेरो पटक्कै होइन, खाली के चाहिं हो भने ती कुराहरु बेचौं जसले हामीलाई आम्दानी पनि होस् र वातावरणमा असर पनि नपुगोस् । एउटा सानो खोला नदीमा चाहिने भन्दा बढी ढुङ्गा, गिटी, वालुवा झिक्दा खोलाको धार परिवर्तन भएर कस्तो, कस्तो विपत्तिहरु आई परेको हामीले प्रष्टै देखेका छौं भने खाली सोचौं मात्र नेपालको भूगोलबाट चुरे पर्वत श्रृङ्खला हट्यो भने त्यसले वातावरणीय रुपबाट कति असर पुग्ला ?
देशमा जे छ बेच्ने त त्यही नै हो आफूसंग हुँदै नभएको कुरा बेच्न त मिल्दै मिल्दैन । यदि त्यसो हो भने हामी ती कुराहरु बेचौं, जो हामीसंग मात्र त र जति बेचे पनि सकिदैन । न त ती कुराहरु बेचेर वातावरणमा कुनै असर नै पर्छ । हिन्दुहरुको अराध्येदेव पशुपतिनाथ छ, हामीसंग, त्यसलाई बेचौं न त । हिन्दु धर्माबलम्वीहरुको आत्याधिक जनसंख्या भएको मुलुक भारत नेपालको दक्षिणी छिमेकी हो । खोई त्यो बजारमा हामीले पशुपतिनाथ पु¥याउन सकेको ? विश्वको प्रमुख तर्फ मध्ये एक बौद्ध धर्म बौद्धका प्रवर्तक सिद्धार्थ गौतम लुम्बिनीमा जन्मनु भएको, लुम्बिनी हामीसंग छ । चीन जापान, भुटान, थाईल्याण्ड, मेनमार यी देशहरुमा प्रसस्तै बौद्ध मागीहरु छन् । खोई हामीले त्यहाँसम्म प्रयाप्त रुपमा लुम्बिनीको बजारीकरण गर्न सकेको ? एक पटक सोंचौ त जसरी प्रत्येक मुस्लिम धर्मावलम्वीहरु जीवनमा एक पटक मक्का मदिना पुग्नै पर्ने सपना देख्दछन्, आस्था राख्दछन्, त्यही स्तरमा हामीले पशुपतिनाथ र लुम्बिनीलाई पु¥याउन सक्ने हो भने कति फाईदा लिन सक्थ्यौं होला । विश्वको सर्वोच्च शिखर त हामीसंगै छ, अब अरु कसैले सगरमाथा भन्दा अग्लो हिमाल बनाउछु भनेर सम्भव हुने कुरा हो र ? त्यसलाई कसरी राम्रो मूल्यमा बेच्ने हामीले सोंच्ने त त्यतातिर होइन र ? विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको प्राकृतिक तिलोचो ताल हामीसंग छ, खोई त्यसलाई हामीले अन्तराष्ट्रिय बजारमा चिनाउन सकेको ? अन्त कतै नफल्ने मार्सि धान हाम्रो नेपालमा फल्छ, बेच्ने नै हो भने मनग्गे मार्फि धान फलाएर बेचौं न । चाईनाले पाण्डा देखाएर, अष्ट्रेलियाले कंगारु देखाएर बर्षेनी डलरौं डलर कमाएको छ, हामीसंग पनि नेपालमा मात्र पाईने काँडे भ्याकुर छ त । खोई त्यसलाई देखाएर हामीले कमाउन जानेको । काठमाण्डौको सभ्यता र कलाकारिता मनाङ, मुस्ताङका प्राकृतिक सौन्दर्य पोखराको सुन्दरता, इलामको चिया, तराई मधेशको थारु संस्कृति बेच्नका लागि हामीसंग एकसे एक कुराहरु छन् । जो केवल हामीसंग मात्रै छ । अनि जति बेचे पनि सकिदैन त । त्यसलाई बेच्दा न त वातावरणमा नै असर पर्दछ ? समस्या कति मात्र हो भने त्यसलाई बेच्ने व्यवस्थित तरिका र अभ्यास हामीसंग छैन । शुरुवातमा केही समस्या होला तर प्रयास गरि हेर्ने हो भने असम्भव त पक्कै छैन । नेपालको एउटा जिल्ला भन्दा पनि सानो भ्याटिकन सीटिले पर्यटनबाटै मात्र बर्षेनी अरबौं डलर कमाउँछ भने हामी सक्दैनौं ? अवश्य सक्छौं । त्यसकारण देशमा भएको कुरा बेच्ने नै हो भने पनि ति कुराहरु बेचौं, जो कहिल्यै सकिदैन । चुरे त भटाभट खनिदिने हो भने सकिन कति बर्ष पो लाग्ला र ? त्यसपछि के बेच्ने, न त फेरी बेच्नको लागि हामी नयाँ चुरे नै बनाउन सक्छौं ? त्यसैले सरकार बेच्न त आफूसंग भएको चिज बेच्ने नै हो तर नाफा घाटाको हिसाब किताब अलि राम्रोसंग गर्नु पर्दछ । बजारमा खरानीको भाउ राम्रो छ भनेर घरमा आगो लगाउन त भएन नि महोदय, हैन र ?

Related posts

दोस्रो व्यास नगर अल्ट्रा म्याराथन माघ १६ मा

admin

देउवाको संसदमाथी विश्वास- सरकारलाई बाटो देखाउन सफल हुनेछ

admin

च्यातिएको मोजा

admin