
कमलबारी/आठौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर सिद्धेश्वरी मावि व्यास १२ कमलबारीले शुक्रबार प्रतिभा प्रदर्शन कार्यक्रमको आयोजना गर्याे ।
कार्यक्रममा किशोरावस्थाको जोखिम र व्यवस्थापन शीर्षकमा कक्षा ६ देखि ११ सम्मका विद्यार्थीले विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए । रुम टु रिडको आर्थिक सहयोग एवं पढरनका लागि कोठा कार्यक्रमको व्यवस्थापनमा आयोजित कार्यक्रममा विद्यालयका २६ बालिका सहभागी भएका थिए । हरेक वर्ष अक्टोबर ११ मा मनाइने यो दिवस यस वर्ष दशै विदा परेका कारण विद्यालयले शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको सभापतित्व एवं पढरनका लागी कोठा कार्यक्रमकी सामाजिक परिचालक नमिता तिमल्सिनाको आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नाटक, कविता, गीत, नृत्य तथा प्रवचन मार्फत किशोरावस्थाका सम्भावित जोखिम र व्यास्थापनका उपायबारे बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक अधिकारीले कार्यक्रममा धेरै बालिकाको सहभागिता रहनु सुखद भएको बताउँदै किशोरावस्थाका जोखिमबारे जानकारी राख्नु साथै व्यवस्थापनका विषयमा समेत सचेत रहनु आवश्यक भएको बताए । परिचालक तिमल्सिनाले बालिकाहरु किशोरावस्थाको जोखिमका बारेमा सचेत भएको र त्यसको व्यवस्थापनका उपायहरु बारेमा समेत सचेत भएको पाउँदा खुसी लागेको उल्लेख गर्दै यस्ता कार्यक्रमले बालिकाहरुलाई अझ सचेत बनाउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा प्रतिभा प्रस्तुत गर्ने सबै बालिकालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रभा मिश्र कटरटेलले गरेकी थिईन। Girjforce: Unscripted and unstoppable भन्ने नाराका साथ यो वर्ष संसारभर बालिका दिवस मनाइएको हो ।