भारतीय सञ्चार माध्यम आफुसंग असहमतलाई बोल्न दिँदैनन अनि उसलाई तल्लो स्तरमा ओर्लेर गाली गर्छन भन्ने त संसारका दर्शकले जाने बुुझेकै कुरा हो । तर आफ्नो छिमेकी देशको कार्यकारी प्रमुखको चरित्र हत्या हुनेगरी समाचार संप्रेषण गर्छन भन्ने चाहीँ थारैले मात्रै अनुमान गरेको हुनुपर्छ ।
संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु यति निकृष्ट सोचबाट ग्रसित छन् भनेर अनुमान लगाउन पनि सकिँदैन । बुधबार भारतको टेलीभिजन च्यानल जी विहार झारखण्डले नेपाल सम्बन्धी झण्डै १६ मिनेट लामो रिपोर्ट प्रशारण ग¥यो । विश्व संञ्चार माध्यमको लागि लज्जाको उदाहरणको रुपमा रहेको उक्त रिपार्टमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई चिनिया राजदुतको हनी ट्रयापिङमा परको उल्लेख गरिएको छ । हनीट्रयापिङ समान्यतया सुरक्षा निकायमा प्रयोग हुने भाषा हो । यसको अर्थ हुन्छ, पुरुषहरुलाई सुन्दरी युवतीको मायाँ जालमा फसाएर लुटपाट, अपहरण, हत्या, फिरौती असुली आदि गैर कानुनी काम गर्नु । र तथ्यहिन समाचार विश्लेषणमा चिनीया राजदुतको सल्लाहमा ओलीले आफ्नो सत्ता टिकाइराख्न भारतका लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गरेको उल्लेख गरिएको छ ।
भारतीय समाचार च्यानलहरुले फरक मत राख्नेहरुको खेदो खन्ने गरकै कारण जनविश्वास गुमाउँदै गएका छन् । भारतीय सञ्चार माध्यम खासगरी टेलीभिजनहरुले आफ्नो टिआरपी बढाउनकै लागि कस्ता भ्रामक, उत्तेजना फैलाउने, विग्रह ल्याउने र आफुसंग असहमतको मानमर्दन गर्ने खालका समाचार प्रशारण गर्छन भन्ने विषयमा सिनेमा समेत बनेका छन् त्यसबाट नसिकेका उनीहरु दर्शक तान्नकै लागि आफुसंग असहमतहरुका विरुद्ध अत्यन्त आपत्तिजनक सामग्री बनाउँछन्, निर्लज्ज टिप्पणी गर्छन् । र यसको पछिल्लो उदाहरण हो प्रधानमन्त्री ओली र नेपालका लागि चिनिया राजदुत हाउ यान्छीको नाम जोडेर प्रस्तुत गरिएको आपत्तिजनक, कपोलकल्पित, भ्रामक र तल्लो स्तरको समाचार विश्लेषण ।
त्यसो त २०७२ सालको महा भूकम्पका बेला पनि भारतले नेपालका विरुद्ध यस्तै तल्लो स्तरको व्यवहार गरेको थियो । यो भारतीय संस्थापनको पुरानो रोग नै हो । तर यस पटक त्यसले सिमा नाघेको छ । त्यतिबेला भारतीय खासगरी टेलीभिजन पत्रकारको नेपाल प्रतिको व्यवहार देखेर सामाजिक सञ्जालमा गो व्याक होम क्याम्पियन नै चलेको थियो । रमाइलो त के छ भने भारतीय बुद्धिजिबीले त्यसबेला भनेका थिए भारत नपठाउ बरु तिनीहरुलाई मंगलग्रहमा पठाउ हामी उनीहरुलाई झेल्न तयार छैनौं । यसबाट स्पष्ट हुन्छ, भारतीय नागरिक स्वयम् त्यहाँका मिडिया कर्मिको बच्चाको कसैलाई सम्मान नगर्ने बरु जोकोही चाहे देश होस् चाहे आफुसंग असहमति राख्ने व्यक्तिको नियोजित ढंगले मानमर्दन गर्ने, भ्रामक समाचार बनाउने, तल्लो स्तरको टिप्पणी गर्ने व्यवहारबाट कति आजित छन् ।
भारतमा अर्णब गोस्वामी जस्ता सत्ताको गुणगाना गाउने र सत्तासंग असहमतहरुको हरतरहले बद्ख्वाईँ गर्ने पात्र र प्रवृत्तिहरु छन् जो असहमतहरुको मानमर्दन गर्न सत्ताको निर्देशनमा नियोजित तवरले सामाचार टिप्पणीहरु बनाउने गर्छन् र तल्लो तहमा ओर्लेर प्रस्तुत हुने गर्दछन् । त्यसैको उदाहरण हो बुधबारको जी टीभीको प्रस्तुती । विवादित सिमाको विषयमा चीनका विरुद्ध होस् या कस्मिर विवादमा पाकिस्तान अनि अन्य छिमेकी नै किन नहुन भारतीय टेलीभिजनहरु निर्मम प्रहार गर्छन तर तथ्यका आधारमा होइन । मनगढन्त तर्कका आधारमा । यहाँ भारतीय संस्थापनले बुझ्नु पर्ने के हो भने संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका रुपमा भारतले कुनैपनि राष्ट्रका विरुद्ध घृणा फैलाउने खालका समाग्रि निमार्ण र प्रसार गर्नु हुँदैन ।
प्रधानमन्त्री ओलीका कार्यशैलीसंग मेरो मात्र होइन थुप्रै नेपालीको असहमती छ । हामी त्यसका विषयमा आफैभित्र छलफल र बहस गर्न सक्छौं । भनाभन गर्न सक्छौं । असहमतलाई तुच्छ गाली गर्ने कुरामा हाम्रा प्रधानमन्त्री अर्णव गोस्वामी जस्तै छन् । तर प्रधानमन्त्री ओली हुन् या अन्य कोहीलाई अपमानित गरेको, लान्छित गरेको, चरित्र हत्या गरेको हामी सहन तयार छैनौं । दुर्भाग्य के छ भने हामी भित्रै यस्ता मान्छेहरु पनि छन्, जसले भारतको त्यो कुरा पत्याएर प्रधानमन्त्री ओली हनीट्रापिङमा परेको विषयमा छानविन आवश्यक भएको विचार राख्छन् ,उतै चोचोमोचो मिलाउँदै । परराष्ट्रमन्त्री समेत रहेका उपेन्द्र यादवले यस्तै विचार एक भारतीय टीभीसंग व्यक्त गरे । उपेन्द्र प्रवृत्ति हामीसंग रहँदासम्म हामीलाई अर्णवहरुले अफवाहको शिकार बनाउने नै हो । यसमा हामी सचेत हुनुपर्छ ।
यसबीच भारतीय न्युज च्यानलहरु नेपालमा प्रशारण बन्द गर्ने निर्णय टेलीभिजन प्रसारकहरुले गरे, विहिबार । हामी ति टेलीभिजनका उपभोक्त हौं र त्यसको उपभोग हामी गर्दैनौं भन्ने अधिकार हामीलाई छ । त्यसैले यो काम स्वाभाविक
हो । गोस्वामी प्रवृत्तिका कतिले यसलाई नेपाल भारतीय मिडियासंग डराएको भन्ने अर्थ लगाए पहिले । गोस्वामीहरुले बुझ्नु पर्ने के हो भने हामी डराएका होइनौं । बरु हाम्रो उद्देश्य उनीहरुका गलत कामका कारण हामीबीचको सद्भाव नखल्बलियोस् भन्ने हो ।
तर अतिको पनि एउटा सिमा हुने रहेछ । आफुलाई बहादुर सम्झदै बनाएका ओलीका इश्कीयाँ शीर्षक झुठो समाचार टिप्पणी र नेपालले भारतीय न्युज च्यानलको प्रशारण बन्द गरेको छ । यो देश त भारतका न्युज एंकरसंगै डरायो । सेना अघि सर्नै परेन भनेर गरिएको टिप्पणीका प्रति उनीहरु आफैले खेद जनाए र त्यसका प्रति माफि मागे । यसले असत्य टिक्दैन, सत्य डग्दैन भन्ने भनाईलाई सही प्रमाणित गरेको छ ।
हामी भूगोल र जनसंख्यामा सानो भएपनि हामीमा भएको तगतलाई भारतीय मिडियमो माफी प्रकरणले देखाइ दिएको छ । आउनुहोस् हामी सबै हाम्रा विरुद्ध हुने अनर्गल प्रचार विरुद्ध अझ एकाताबद्ध भएर लागि
परौं ।
निकृष्टताको हद पार गर्दै भारतीय मिडिया
previous post