
यसै साता पत्रकार नेत्र पन्थीद्वारा लिखित “लेफ्ट–राइट ः सत्ता र शक्तिको ’अ’राजनीति” पढेर सकें । पुस्तक खासगरी प्रचण्ड साथसाथै ओली र देउवाको असंगत राजनीतिको अद्योपान्त वर्णनमा केन्द्रीत छ ।
पढ्दै गर्दा मलाई केही अगाडि बुबाले सुनाउनु भएको कुमालकोटी र माकुरोको कथाको याद आयो । बुबाका अनुसार कुमालकोटीले माकुरोलाई भोजन बनाउन आफ्नो वासस्थान तर्फ घिसार्न खोज्छ तर कुमालकोटीको आवाजले यसरी मोहित पार्छ कि माकुरो स्वयम कुमालकोटीले जता इसारा गर्छ त्यतै हिंड्छ, आज्ञाकारी बालक जस्तै । कहिलेकाहीँ असंगत कुराले पनि हामीलाई आकर्षित गरिरहेको हुन्छ भन्ने सन्देश दिन यो कथा बनाइएको होला । मलाई लेफ्ट राइट पढ्दै गर्दा त्यस्तै
भयो । प्रचण्ड, ओली र देउवाका असंगत व्यवहारको नालीबेली थाहा पाउने कुराले मलाई तानीरह्यो र झण्डै सात सय पृष्ठको पुस्तक हप्ता नवित्दै पढेर सकें ।
खासगरी पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको तलको कुराले मलाई यो पुस्तक पढ्न प्रेरित गरेको थियो । त्यहाँ लेखिएको छ, पुस्तकले नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको राजनीति खोतल्ने प्रयास गरेको छ । जहाँ नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान, प्रावधान, पद्धति, प्रक्रिया, प्रचलन, आदर्श, मर्यादा, परम्परा, इमानदारिता, पारदर्शिता, औचित्य, विवेक, शिष्टाचार र लाज सरम सबैको नजरअन्दाज छ । शक्ति, सत्ता र पद प्राप्तिका लागि जायज – नाजायज सबै कसरत भएका
छन् । पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास छ ।
पुस्तकमै उल्लेख गरिएको राजनैतिक विश्लेषक डम्बर खतिवडाको भनाईले अझ पुस्तक भित्रको विषयवस्तु बुझ्न सजिालो हुन्छ । उनी भन्छन्, नेपालका दल र नेताहरुमा कुनै विश्वसनीयता, नैतिक उत्तरदायित्व र जिम्मेवारीबोधको भावना छैन । यी चरम अवसरवादग्रस्त स्वार्थ र आसक्तिका लम्पटहरु मात्रै हुन् । पुस्तक पढ्दै जाँदा डम्बर खतिवडासँग विमती राख्नु पर्ने र राख्न सकिने ठाउँ भेटिँदैन ।
२०७९ को निर्वाचन पछि तेस्रो ठूलो दलको नेता बनेका प्रचण्ड, कांग्रेसले आफुलाई प्रधानमन्त्री नदिने भएसँगै १० पुषमा एमालेसँग गठबन्धन गर्न पुग्छन् । तर गठबन्धन गरेको र सरकारको नेतृत्व गरेको डेढ महिना नहुँदै १७ माघमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कांगे्रसलाई राष्ट्रपति दिने सहमति गर्छन् । नियतिको खेल, देउवा र प्रचण्ड दुबैले नचाहेका व्यक्ति रामचन्द्र पौडेल फागुन २९ मा राष्ट्रपति बन्न पुग्छन् । राष्ट्रपति निर्वाचन पछि प्रचण्ड भन्छन्, नयाँ यात्रा सुरु गरेका छौं, यसमा मलाई गर्व लाग्छ । १२ बुँदेका सहयात्री, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता मिलेर अगाडि बढे मात्रै देशलाई स्थायीत्व, विकास र समृद्धि दिन सकिन्छ भन्नेमा पुगेका छौं । यस अघि नै गठबन्धन भत्किएको निकर्षमा पुगेका ओलीले सधैं झैं उखान हालेर प्रचण्डलाई व्यङ्ग्य गर्छन्,“ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन् ।” उखान टुक्का धेरै नजाने पनि जवाफ फर्काउन माहिर प्रचण्ड भन्छन्,“म खोज्दै बालकोट गएको होइन । तपाईहरुले केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो, आइदिनुप¥यो भनेर ।”
भनिन्छ, राजनीतिमा आस्थाका पर्खाल कतिखेर उभिन्छन् र विश्वासका खम्बा कतिखेर ढल्छन्, कसैले भन्न सक्दैन । अमेरिकी सहायता परियोजना एमसिसीको पहिले विरोध र पछि समर्थन तथा संसदबाट पारित हुँदा गर्व लागेको अभिव्यक्ति दिने प्रचण्ड, यसका जिउँदाजाग्दा उदाहरण नै थिए । कांग्रेससँग माओवादी सत्ता साझेदारीमा थियो । एमसिसी पारित गर्नपर्ने दवावमा देउवा नेतृत्वको सरकार थियो । ४ फागुन २०७८ को संसदीय दलको बैठकमा प्रचण्डले भने, “कांग्रेसले पेलेर नै जाने र कुनै हालतमा एमसिसी टेबुल गर्ने स्थिति बनायो भने माओवादी संसद् भित्रै बस्ने र प्रतिवाद गर्ने हुन्छ । त्यस्तो अवस्थामा सरकार छाड्ने नीति हुन्छ र यसविरुद्ध संसद्मा संघर्ष हुन्छ । जबरजस्ती हुन्छ भने स्वतः गठबन्धन टुट्छ र हामी सरकारबाट बाहिरिएर सडकमा आउन तयार हुनुपर्छ ।” तर उनै प्रचण्ड २०७९ असोज दोस्रो साता एमसिसी पास गर्छौैं भनेर मुख्यालयलाई पत्र लेख्नु पुगे अनि सोही १६ फागुनसम्म आइपुग्दा एमसिसी पारित भएकोमा निकै खुसी भएको र देश दुर्घटनाबाट बचेको भन्ने अवस्थामा पुगे ।
प्रचण्ड मुभका अरुपनि रमाइला किस्सा पुस्तकमा समावेश छन् । एमालेसँगको गठबन्धन निर्माण तथा पार्टी एकताको सन्दर्भमा पनि प्रचण्डले त्यस्तै व्यवहार प्रदर्शन गरेका सन्दर्भ पुस्तकमा छन् । जेठ ३, २०७५ एमाले–माओवादी एकाताको घोषणा गर्ने दिन । दुबै नेताले बालुवाटारमा जापानमाथि अमेरिकाले एटमबम प्रहार गर्दा पनि नमरेको अर्थात अजम्बरी रहेको भनिने जिन्को वाइलोवाको विरुवा रोपे । उत्साहित प्रचण्डले एकतापछिको नेकपा पानीभएको बताए । उनले भने, हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । पानीभित्र हाइड्रोजन र अक्सिजन छुट्याउन खोजेर पाईँदैन, त्यो पानी हुन्छ । त्यसरी नै अब एमाले र माओवादी खोजेर पाईँदैन केवल नेकपा हुन्छ । एकतामा हौसिएका ओलीले पनि हिन्द महासागरमा कोशी र कर्णालीको पानी खोजेर नभेटिने उल्लेख गर्दै नेकपा अब हिन्द महासागर भएको बताए ।
तर भाषणमा प्रयोग भएका शब्दको सुन्दरताले नियतको कुरुपतालाई धेरैबेर छोप्न सकेन र हामीले देख्यौं, केही महिनामा नै एकले अर्कालाई पार्टीबाटै निश्काशन गर्ने तहमा
पुगे । एउटै जहाजका अर्काै पाइलट भनिएका ओलीतर्फ संकेत गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन प्रयत्नमा लागेको, समावेशी–समानुपातिक मान्यतालाई निस्तेज पार्न खोजेको आरोप लगाए । अन्ततः उनीहरु फुटे । सुनसरीको वराह क्षेत्र पुगेर शनिको दोस मेटन्भन्दै पुच्छर समाएर भैँसीको पुजा गरी प्रचण्डलले द्वन्दात्मक भौतिकवादको विसर्जन तथा धर्म अन्धविश्वास हो र विज्ञान सत्य हो भन्ने आफ्ना अघिल्ला भनाइको खण्डन गरेको आरोप पनि पुस्तकमा लगाइएको छ ।
प्रचण्डका कमजोरी केलाउन केन्द्रीत जस्तो देखिने लेफ्ट राइट नेपाली राजनीतिको कुरुप पक्षा उजागर गर्ने प्रयत्नमा धेरै हदसम्म सफल छ ।
