रमेश विकल
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनमा भानु नगरपालिका ६६.६१ अंकसहित जिल्लामा उत्कृष्ट भएको छ ।
विभिन्न १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा गाउँपालिका तर्फ म्याग्दे गाउँपालिका ६६.५४ अंकसहित पहिलो स्थानमा छ । माघ २९ गते विहिबार प्रकाशित नतिजा अनुसार गाउँपालिका तर्फ ५२.८७ अंकसहित घिरिङ पुछारमा छ भने नगरपालिका तर्फ जिल्ला सदरमुकाममा रहेको व्यास नगरपालिका ४८.३८ अंकसहित पुछारमा रहेको छ ।

आयोगका अनुसार गाउँपालिकाहरुमा ६२.१० अंकसहित आँबुखैरेनी दोस्रो, ५६.९५ अंकसहित ऋषिङ तेस्रो, ५६.१२ अंकसहित बन्दिपुर चौथो र ५३. ७८ अंकसहित देवघाट पाँचौ स्थानमा रहेका छन् । नगरपालिका तर्फ ५८.२४ अंकसहित भिमाद दोस्रो र ५४.८० अंकसहित शुक्लागण्डकी नगरपालिका तेस्रो भएका छन् ।
असार १० गतेभित्र बजेट पेश गरे/नगरेको, सोही असार मसान्तभित्र बजेट पारित गरे÷नगरेको, घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०८१ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको तथा बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र विवरण सार्वजनिक गरे/नगरेको विषयलाई आयोगले मूल्याङ्कनको आधार बनाउने गरेको छ ।
अन्य मूल्याङ्कनका आधारहरुमा अधिकार क्षेत्र भित्रको राजस्व परिचालन गरेको अवस्था, लेखापरीक्षणबाट औल्याएको बेरुजुको अवस्था, सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे÷नगरेको, आवधिक योजना तर्जुमा गरे÷नगरेको रहेका छन् ।
यसैगरी कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागि कूल विद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक (GPA 1.6) वा सो भन्दा उच्च GPA प्राप्त गरेका विद्यार्थीको प्रतिशत, चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पुर्ण खोप पाएका बालबालिकाको अनुपात र आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टल मा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे/नगरेको लाई पनि मूल्याङ्कनको सूचकको रुपमा लिने गरिएको छ ।
आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो ।
देशका ६ वटा महानगरपालिकामध्ये काठमाडौं (४४.९७) सबैभन्दा कमजोर र विराटनगर (७८.११) सबैभन्दा अब्बल देखिएको छ । मुलुकभरका ११ उपमहानगरपालिकामध्ये बुटवल ६४.४४ अंकसहित सबैभन्दा राम्रो र इटहरीको ३८.९६ अंकसहित सबैभन्दा कमजोर नतिजा छ ।
प्रदेश तर्फ सुदुरपश्चिम पहिलो र मधेश पुछारमा
विभिन्न ११ सूचकका आाधारमा गरिएको प्रदेशको मूल्याङ्कनमा ४५.७० अंकसहित सुदुरपश्चिम प्रदेश पहिलो नम्बरमा छ । अंक तालिकाको सबैभन्दा पुछारमा मधेश प्रदेश छ । यो प्रदेशको प्राप्ताङ्क २७.२८ रहेको छ । दोस्रो स्थानमा रहेको कोशी प्रदेशको ४४.२९ अंक, ४२.४६ अंकसहित बागमती प्रदेश तेस्रो, गण्डकी प्रदेश ३७.९१ अंकसहित चौथो, ३४.७१ अंकसहित लुम्बिनी प्रदेश पाँचौं र ३२.२६ अंक सहित कर्णाली प्रदेश छैटौं स्थानमा रहेका छन् ।
प्राप्त अंक चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित स्थानीय तहले ७ दिनभित्र पुनरावलोकनका लागि तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । यसका लागि आयोगले बिहीबार नै सूचना जारी गरेको छ ।
मुलुक संघीय प्रणालीमा गएपछि प्राकृतिक एवं वित्तीय स्रोतको न्यायोचित वितरण गर्न आयोग गठन गरिएको हो ।
