दुर्घटना कहिले, कहाँ, कसरी हुन्छ भन्ने कुराको कुनै अनुमान हुँदैन । यस्तो अवस्थामा प्राथमिक उपचारको ज्ञान हुनु ज्यादै महत्त्वपूर्ण छ । यसले घाइते वा बिरामीको ज्यान बचाउन, उसको अवस्थामा सुधार ल्याउन र अवस्था झन् बिग्रन नदिन मद्दत गर्छ । नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा जहाँ स्वास्थ्य सुविधा सबै ठाउँमा सहज छैन, त्यस्ता ठाउँका लागि प्राथमिक उपचार झनै महत्त्वपूर्ण हुन्छ ।
प्राथमिक उपचारको ज्ञान र सीप हासिल गर्नका लागि तालिम आवश्यक पर्छ । विश्वव्यापी रूपमा रेडक्रसले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ, र नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीले सरकारद्वारा अनुमोदित पाठ्यक्रमअनुसार विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ ।
तालिमको मुख्य उद्देश्य मानिसहरूलाई सम्भावित दुर्घटना र प्रकोपको बेलामा सहयोग गर्न सक्षम बनाउनु हो । विद्यार्थी, शिक्षक, यातायातका कर्मचारी, कलकारखानाका कामदार र विपत्को जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई यो तालिम विशेष रूपमा दिइन्छ ।
सामान्यतया यो २४ घण्टाको आधारभूत तालिम हो । यसमा प्राथमिक उपचारका सिद्धान्त, आपतकालीन अवस्था (जस्तैः रक्तस्राव, बेहोसी, विष सेवन), विभिन्न प्रकारका चोटपटक, रोग (जस्तैः झाडापखाला, ज्वरो) र वातावरणीय समस्या (जस्तैः लेक लाग्नु) जस्ता विषयवस्तु समेटिन्छन् ।
तालिम सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट सञ्चालन गरिन्छ । तालिमको सुरु र अन्त्यमा मूल्यांकन गरिन्छ। सफल सहभागीलाई मात्र प्रमाणपत्र दिइन्छ र यो प्रमाणपत्र हरेक दुई वर्षमा नवीकरण गर्नुपर्छ ।
सडकको विस्तारसँगै दिनदिनै बढ्दै गएको दुर्घटना र यसबाट हुने मानविय क्षति कम गर्न हरेक समुदाय र संस्थाहरूमा पर्याप्त मात्रामा तालिमप्राप्त प्राथमिक उपचारक हुनु आवश्यक भएको छ । आगामी शनिबार मनाउन लागिएको प्राथमिक उपचार दिवसले गाउँ गाउँमा प्राथमिक उपचारक थप्ने प्रेरणा प्रदान गरोस्, जसाको सहयोगले विरामीको ज्यान बचाउने मात्रै छैन, उसको अवस्थामा सुधार ल्याउने छ र अवस्था थप जटिल हुन दिने छैन ।
प्राथमिक उपचार, सबैको सरोकार- सम्पादकीय
previous post