Tanahun Awaj
विचार/दृष्टिकोण

आयाम बदल्दै महिला आन्दोलन

रमेश पोखरेल

हरेक वर्ष जस्तै यो वर्ष पनि अर्काे साता मार्च ८ का दिन अन्तर्राष्ट्रिय रुपमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै छ । सन् १९१० मा डेनमार्कमा सम्पन्न समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले विश्वभरका श्रमिक महिलाको नेतृत्वमा समान अधिकारको माग सहित हुंदै आएका आन्दोलनको सम्झना र सम्मानका लागि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने घोषणा गरे अनुसार १९११ बाट विभिन्न मुलुकमा यो दिवस मनाउन थालियो । समान कामका लागि समान ज्याला माग गर्दै सन् १८६६ बाट प्रारम्भ भएको श्रमिक महिलाको आन्दोलनको विस्तार विश्वभर भैसकेको छ । दिवस मनाउन थालेको शताब्दीबाट केहिवर्ष बढी हुँदै गर्दा दिवसको आयाम पनि फराकिलो हुँदै गएको छ ।
श्रमिक महिलालाई ज्यालामा गरिने विभेदबाट उठेको आन्दोलनले अहिले महिलाको समग्र विकासको कुरा गर्छ न कि ज्याला मात्र । सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक लगाएत सम्पूर्ण क्षेत्रमा महिलाहरुलाई समान अवसर र अधिकारको वकालत अब यो दिवसको ध्येय हो । नेपालमा र विश्वका अन्य देशहरुका पनि महिलामाथि हुने असमान व्यवहारका अनेकौं रुप छन् । महिलाहरु समान अवसर, मातृत्व संरक्षण, मताधिकार तथा समान अधिकारबाट समेत अझै वञ्चित छन् । लोग्नेले मदिरा सेवन गरेर गर्ने गाली गलोज, कुटपिट, सरकारी वा गैरसरकारी निकायमा काम गर्ने महिला माथि कार्यालय वा कार्यस्थलमा हुने र्दुव्यवहार, जवरजस्ती करणी, वेचविखन, वेस्यावृत्तिमा लगाउने, बाल विबाह, अनमेल विबाह जस्ता थुप्रै प्रकारका हिंसा सिकार छन, वर्तमान विश्वका महिला ।
असमान ज्याला त छंदैछ, छोरी पाएको भन्दै हुने र्दुव्यबहार, सौता ब्यहोर्नु पर्ने, गर्भपतन, देउकी वा झुमाको रुपमा मन्दिरमा चढाउने, दाईजो नल्याएका कारण परिवारबाट हुने दुव्यवहार, अर्काको घरजाने जात भनेर शिक्षा आर्जन गर्ने अवसरबाट वञ्चित गर्ने, रजस्वला हुँदा अँध्यारो कोठामा वा छाउ गोठमा राख्ने, बुबा–आमाको क्रिया गर्न तथा श्राद्घ गर्न नदिने, घर बाहिर निस्कन नदिने लगाएत अनेकौ विभेद र गलत व्यवहारका शिकार बन्न बाध्य छन्– अझै पनि महिलाहरु । वंशको अधिकारबाट वञ्चित हुने, ढीलो होस् छोरा होस् तथा आईमाईको रुद्रघण्टी हुँदैन, पोथी वासेको तथा यी बन्सोका जात भन्ने जस्ता अनेकौं शाव्दिक हिंसाको समेत शिकार छन् आम महिला । नेपालको सन्दर्भमा महिला माथि हुने गलत व्यवहार विरुद्घ आवाज उठ्न थालेको एक शताब्दी भयो । वीरांगना योगमाया न्यौपानेले सुरु गरेको आन्दोलन अहिले विस्तारित र बहुआयमिक बनेको छ ।
धेरै पछि वि सं २०३२ सालबाट सरकारी स्तरमा मनाउन थालिएको हो, महिला दिवस । संयूक्त राष्ट्रसंघले सन् १९७५ मा मार्च ८ लाई महिला दिवसको रुपमा घोषणा गरेपछि सदस्य राष्ट्रको रुपमा नेपालले यो दिवस मनाउन थाल्यो । प्रजातन्त्र पुनः स्थापना पछि राज्य र नागरिक दुवै पक्षबाट र व्यापक रुपमा मनाउन थालिएको महिला दिवसले नेपाली महिलाको सन्दर्भमा थुप्रै सकारात्मक परिवर्तन ल्याएको
छ । यद्यपी सामाजिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक सम्पूर्ण रुपमा महिलाको अवस्थामा आमूल परिवर्तन भयो÷भएको छ भन्ने चाहीं होइन ।
महिला आन्दोलनको मूल ध्येय समान कामका लागि समान ज्याला अझै कतिपय ठाउँमा लागू हुन सकेको छैन । माथि उल्लेख गरिए जस्ता अनगिन्ती हिंसा र र्दुव्यवहारका शिकार बनिरहेका छन्, नेपाली महिला । तर केही त्यस्ता सकारात्मक परिवर्तन पनि भएका छन्, जसले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक पहूँचमा सुधार र विस्तार भएको छ । नेपालको संविधान २०७२ धारा ३८ ले महिलाको हकको सूनिश्चित गरिदिएको छ । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको छ भने निजामति सेवा तथा शिक्षक सेवामा आरक्षण, मातृत्व संरक्षणका कार्यक्रमहरु, लैंगिक हिंसाका पिडितलाई सहायता, घर जग्गा रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत छुट, औद्योगिक आय करमा ३३ प्रतिशत छुट, पत्रपत्रिका दर्ता र सञ्चालनमा विशेष सुविधा र सहुलियत आदिले नेपाली महिलाहरुलाई पहूच विस्तारमा र सशक्तिकरणमा सघाएको छ । योग्यता र सीप भए पनि घरायसी काम काजमा भुल्नु पर्ने अवस्थाबाट विस्तारै नेपाली महिलाले मुक्ति पाउँदै छन् । आमा समूह, महिला समूह वा महिला सहकारीका माध्यमबाट नेतृत्व क्षमताको विकास गर्दै राजनैतिक, सामाजिक,सांस्कृतिक तथा आर्थिक रुपमा नेपाली महिलाले आफुलाई सक्षम बनाउँदै लगेका छन् । गणतन्त्र स्थापनाको छोटो अबधिमै महिला राष्ट्रपति, सभामुख तथा प्रधान न्यायाधीश बनिसकेका छन् भने स्थानीय सरकार भनिने नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका रुपमा काम गर्दैछन् ।
आधा आकाश ओगटेका तर सदियौदेखि पछि पारिएका नेपाली महिलाका लागि संविधानमा भएको व्यवस्था र अहिलेको सहभागिता पर्याप्त छैन । राजनीतिक दलहरु भाषणमा जति चिल्ला कुरा गरे पनि राज्य संञ्चालनको तहमा महिलालाई सहजै पुग्न दिने वा निर्णायक तहमा पुग्न दिने सोचमा छैनन् । महिला मन्त्रीको संख्या ३३ प्रतिशत पुगेको इतिहास छैन भने स्थानीय सरकारका सातसय ५३ प्रमुख मध्ये सयजना पनि महिला छैनन् । यसले कार्यकारी पदमा महिलालाई विश्वास नगरिएको भन्ने नै अर्थ लाग्छ । तर सोचनिय विषय के हो भने महिला माथिको यो अविश्वासले हामीले भने जस्तो समृद्घि हासिल होला र !
नेपाली महिलाले कुनैपनि खाले असमानता र दुव्र्यवहारको शिकार हुन नपरोस् । देश र समाजमा महत्वपूर्ण भूमिका महिला तथा कठोर संघर्ष गर्दै जीवन यापन गरिरहेका महिलाको सम्मान गरेर महिला दिवस मनाउने परम्पराको थालनी यस पटकबाट होस् । महिला दिवसका कार्यक्रममा महिला नै प्रमुख अतिथी बनाउने आँट प्राप्त होस् । सम्पूर्ण आमा दिदी बहिनीमा अन्तर्राष्ट्रिय महिला दिवसको अग्रिम शुभकामना !

Related posts

विद्यालय गाभ्ने सजिलो बाटो र ग्रामीण शिक्षाको भविष्य-सम्पादकीय

Deepak Joshi

बलिदानको अवमूल्यन नगर, कार्यशैली बदल-सम्पादकीय

Tanahun Awajweekly

दुर्गा प्रसाइको कसूरमा अनुसन्धान जारी

admin