
दमौली/विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) तनहुँमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा प्रभातफेरी र तनहुँ स्थित पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
व्यास नगरपालिका–३ अनसनचौतारीबाट सुरु भएको प्रभातफेरी सफासडक, न्युरोड, नेपाल पत्रकार महासंघ कार्यालय, मालपोत लाइन हुँदै पुनः अनसनचौतारीमा आएर कोणसभामा परिणत भएको थियो ।
शाखा अध्यक्ष धनपति अधिकारी (डिपी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल बार एशोसिएसन तनहुँका अध्यक्ष डम्बरदेव हड्खले, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको विषयमा चर्चा गरेका थिए । शाखाका उपाध्यक्ष प्रताप रानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण न्यौपानेले गरेका थिए ।
साथै सोहि अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना, प्रदेश अस्पताल दमौली र प्रदेश जनस्वास्थ्य कार्यालयको सहयोगमा जिल्लास्थित पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा २५ जना पत्रकारको नसर्ने रोगको परीक्षण गरिएको हो । त्यसक्रममा पाँच जना महिला पत्रकारको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गरेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।