22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

भेदन

परशुराम पोख्रेल घिरिङ–१, अत्रौली

मलाई लुट्ने सरकारमा छ
सरकारलाई लुट्ने कुर्सीमा छ
कुर्सीलाई लुट्ने पार्टीमा छ
पार्टीलाई लुट्ने विदेशमा छ
किनकि जमाना लुट्नेहरूको हो
लुटिनेहरूको होइन
तिमी इमानदारीको कुरा गर्छाैं ?
तिमी न्यायका कुरा गर्छाैं ?

एकचोटि आजमाएर त हेर
कि जमानालाई लुटेर देखाईदेऊ
जमाना तिम्रो पछि लाग्नेछ
जमानाले तिमीलाई विद्वान भन्नेछ
तिमी पढेलेखेका ज्ञानी हुनेछौ
तिमी आदर्श मान्छे बन्नेछौ
जमानाले तिमीलाई नेता मान्नेछ
किनकि तिमीसँग लुट्ने शक्ति छ
किनकि जमानाले शक्तिको पूजा गर्दछ

विश्वास लागेन ?
त्यसोभए एकचोटि लुटिएर हेर
तिम्रो भन्ने कोही हुँदैनन्
आफ्ना पनि पराइ हुनेछन्
अब तिमीले थाहा पाउनेछौ
आफ्नैले लुट्नेको सेवा गर्दछ
किनकि तिम्रो आफ्नैले तिमीलाई लुट्न चाहन्छ

वैरी तिम्रो पछि लाग्नेछ
तिमीले वैरी चिन्नेछौ
तिम्रो आफ्नै वैरी हुनेछन्
वैरीले तिम्रो भेद जान्दछ
तिमीलाई तब अन्याय पर्दछ
कि तिमी सच्चा इमानदार छौ
तिमी एक्लो विवश हुनेछौ
किनकि असतले राज गर्दछ
के यही नै जमाना होइन र ??

तरपनि हार नखानु
न्यायको साथ नछोड्नु
सरकारले कानुन बनाउँछ
त्यै कानुनले सरकार ढलाउँछ
किनकि न्यायले कानुन जान्दछ
कानुन न्यायले मान्दछ
जसको कोहि आफ्नो हुँदैन
उसैको आफ्नो कोहि हुन्छ
किनकि सत्य सधैं एक्लै हुन्छ
जीत सधैं सत्यको हुन्छ ।

Related posts

नेकपाको अस्थायी युद्धविराम

admin

महासंघको ध्यानाकर्षण

admin

भनाइ र गराइ

admin